२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘रेफर सेन्टर’ बन्दै सप्तरीका अस्पताल

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २१:३२
‘रेफर सेन्टर’ बन्दै सप्तरीका अस्पताल

सप्तरी : सप्तरीका नागरिकले भरपर्दो स्वास्थ्यसेवा नपाउँदा उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको छ । यहाँका स्वास्थ्य संस्थामा चरम लापरबाही, दक्ष जनशक्तिको अभाव र संशाधनको समस्याबाट गुज्रिएका कारण अस्पतालहरु ‘रेफर सेन्टर’का रुपमा परिणत हुन थालेका छन् । जिल्लामा स्वास्थ्य सेवा नपाउँदा धरान र विराटनगरका स्वास्थ्य संस्थामाथि निर्भर हुनुपरेको यहाँका नागरिकहरु  बताउँछन्, तर यसप्रति राज्य भने गम्भीर नभइ उदासीन रहँदै आएको उनीहरूको गुनासो छ । 

यहाँका स्वास्थ्य संस्थाको चरम लापरबाहीका कारण  सामान्य बिरामीको समेत मृत्यु हुने गरेको छ । जसका कारण अस्पताल नै तनावग्रस्त हुने गरेको छ । त्यसबाट उत्पन्न असहज परिस्थितिलाई  साम्य बनाउन छानबिन, क्षतिपूर्ति र दोषीमाथि कारबाहीको आश्वासन दिइ ढाकछोप गरिरहेको आरोप समेत लाग्ने गरेको छ । 

हप्तामै दुई जनाको निधन

जिल्ला अस्पतालको लापरबाहीबाट हप्ता दिन नबित्दै  दुई जनाको मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा यहि भदौ २१ गते एक युवकको मृत्यु भएको छ भने भदौ २६ गते हनुमाननगर कंकालनी नगरपालिका–१ मा रहेको भारदह अस्पतालमा ३ वर्षीय बालकको मृत्यु भएको छ । 

यी घटनाहरुमा अस्पतालको चरम लापरबाही रहेको पीडितपक्षले आरोप लगाउँदै आएका छन् । यसले सप्तरीमा भरपर्दो स्वास्थ्यसेवा पाउने अवस्था नरहेको यथार्थलाई छर्लङ्ग पारिदिएको छ ।

विष्णुपुर गाउँपालिका–४ बस्ने २२ वर्षीय मनिर मियाँको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकको लापरबाहीले ज्यान गुमाएको परिवारले आरोप लगाउँदै आएका छन् । मुटुको समस्या लिएर भर्ना भएका मियाँलाई अस्पतालको लापरबाहीबाट ज्यान गएको परिवारको आरोप छ । अञ्चल स्तरीय अस्पतालको रुपमा विकसित भएको यो अस्पताल पछिल्लो समय ‘रेफर सेन्टर’ मा परिणत भइरहेको गुनासो बढ्दै गएको छ । करिब आधा दर्जन बढी स्त्रीरोग तथा प्रसूती विशेषज्ञ चिकित्सकहरुका बाबजुँद बिरलै सेवाग्राहीहरु यो अस्पतालबाट सेवा पाइरहेको अवस्था छ । 

गत हप्ता हनुमाननगर कंकालनी नगरपालिकास्थित टिकुलियाकी २५ वर्षीया मनिता मुखिया प्रसव गराउन यस अस्पतालमा भर्ना भएको एक घण्टा नबित्दै रेफर गरिएको थियो । ड्युटीमा रहेकी चिकित्सक जयन्ती यादवले यहाँ सुविधा नरहेको बताउँदै रेफर गरेको पारिवारिक स्रोतले बताएको छ ।

त्यस्तै, गत मंगलबार बिहान भारदह अस्पतालको लापरबाहीबाट कन्चनरुप नगरपालिका–८ महादेवपट्टी बस्ने ३ वर्षीय हमजा शेखको मृत्यु भयो । उनको अस्पतालकै लापरबाहीले मृत्यु भएको आरोप लागेको छ । बाल विशेषज्ञको अभाव रहँदासमेत निजी खर्चमा प्रयोगशाला जाँच र औषधि खरिद गराउने  प्रलोभनमा बालकलाई अस्पताल मैले राख्न चिकित्सकले हदैसम्मको लापरबाही देखाएको आरोप लागेको हो । ज्वरोको समस्या लिएर आएको बालकलाई रातभर रेफर गर्न आग्रह गर्दासमेत चिकित्सकले ढाँटछल गरी बस्न लगाएको आरोप लागेको छ । 

पाँचसय एमजीसम्मको इन्जेक्सन लगाएर बिरामी बिगारेका चिकित्सकले मृत्युपछि आरोपबाट बच्न हतार–हतारमा रेफर गरिएको पारिवारिक स्रोतले बताएको छ । पारिवारि स्रोतले भन्यो, ‘चिकित्सकले मृत बालकलाई अस्पतालको एम्बुलेन्समा राखी पठाउन लगाए, ताकि अस्पतालमाथि आरोप नआओस् ।’

बालक शेखको मृत्युपछि आक्रोशित आफन्तलाई साम्य बनाउन उक्त नगरपालिकाको नगरप्रमुख बिरेन्द्र माझीको अध्यक्षता वार्ता गरी छानविन समितिको नाममा ढाकछोप गरे ।

सप्तरीको स्वास्थ्यसंस्थाहरु प्रभावकारी सेवा दिन नसक्दा सेवाग्राहीहरु चिन्तित हुन थालेको छ । उनीहरूले बाहिर गएर महंगो स्वास्थ्यसेवा लिन बाध्य रहेतापनि सम्बन्धित निकाय गम्भीर हुन सकेको छैन । जसले सप्तरीबाट उपचार खर्चका नाममा करोडौं रुपैयाँ बाहिर गइरहेको छ । यहाँका स्वास्थ्यक्षेत्रलाई चुनावी नारा बनाउने जनप्रतिनिधिहरुसमेत निरीह जस्तै देखिएका छन् । 

अझै पाएनन् क्षतिपूर्ति 

नगर अस्पताल कञ्चनपुरको लापरबाहीबाट मृत्यु भएका युवकको परिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । त्यसबाट विकसित असहज परिस्थितिलाई साम्य पार्न क्षतिपूर्ति र दोषीमाथि कारबाही गर्ने आश्वासन दिएपनि नगरपालिका अहिले पन्छिन खोजिरहेका छन् । 

जिल्लाको सप्तकोसी नगरपालिका–९ बस्ने रामदेव खंगको १९ वर्षीय छोरा ओमप्रकाश खंगको उपचारक्रममा उक्त अस्पतालमा  २०८० साउन १४ गते मृत्यु भएका थिए । युवकको मृत्युका कारण अस्पतालको लापरबाही भएको बताउँदै स्थानीयहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका थिए । 

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले कयौं राउन्ड हवाई फायर र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको थियो ।

मृत्युपछि विकसित परिस्थितिलाई सामसुम पार्न नगरपालिका र आन्दोलनरत पक्षबीच मिति २०८० साउन १५ गते ईलाका प्रहरी कार्यालय कंचनपुरमा चार बुँदे सहमति भएको थियो ।

उक्त चार बुँदेसहमतिपत्रमा  छानवीन समिति बनाइने र दोषीमाथि कानूनी कारबाही गरिने उल्लेख गरिएको छ । त्यस्तै,मृतक परिवारलाई नगरकार्यपालिकाले राहतस्वरूप पाँच लाख रुपैयाँ खातामा हालिदिने सहमति भएको थियो । तर,जटिल परिस्थितिलाई मत्थर बनाउने रणनीतिका साथ गरिएको सहमतिबाट पीडित परिवार अहिलेसम्म क्षतिपूर्ति पाउन सकेको छैन ।

पीडित परिवारलाई न्याय दिलाउने आश्वासन दिएका राजनीतिक दलसमेतले चासो नदेखाएपछि पीडितले न्याय पाउन सकिएन । कञ्चनपुर नगरपालिकाले लिखित सहमतिमा भनिएको बमोजिम पाँच लाख रुपैयाँ अहिलेसम्म पीडित परिवारले पाउन सकेको छैन । अस्पतालबाट शव परिवारले बुझ्न नमानेपछि काजकिरिया बापत ५१ हजार रुपैयाँ तत्काल उपलब्ध गराइएको भएपनि घटना ढाकछोप र सामसुम बनाउन मात्रै उक्त सहमति गरिएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

प्रतिष्ठानप्रति राज्य उदासीन

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणप्रति राज्य उदासीनता देखिएका छन् । कछुवागतिमा प्रतिष्ठान निर्माण बढाएका सरकारबाट जिल्लावासी आशावादी छैनन् ।

राजविराज नगरपालिका–१० स्थित उक्त प्रतिष्ठान स्थापनाका लागि गुरुयोजना तयार पारेका सरकारको उदासीनताले प्रतिष्ठान निर्माण कार्यनै उपेक्षित भएको छ।बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस प्रतिष्ठानको निर्माण कार्य पटकपटक ओझेलमा पर्दै आएको छ । स्थानीयहरु र सप्तरी युथ नेपाल नामक संस्थाको दबाबमूलक संघर्षका कारण सरकारले चासो देखाएपनि कहिलेसम्ममा  सञ्चालनमा आउनेबारे जिल्लावासी अनभिज्ञ रहेका छन् ।

समयमै  प्रतिष्ठान सञ्चालनमा आए सप्तरीमा भरपर्दो स्वास्थ्यसेवा उपलब्ध हुने देखिन्छ । यस प्रतिष्ठानबाट प्रदेशका अन्य जिल्ला लगायत छिमेकी राष्ट्र भारतको सीमावर्ती जिल्लाहरुका बिरामीहरु समेत सेवा लिनसक्ने आकलन भइरहेको छ । साढे साठी बिघा जग्गामा निर्माण हुने यो प्रतिष्ठानले सप्तरीको विकासमा मेरुदण्ड सावित हुने जानकारहरु बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise