२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

Nada
२०८२ कार्तिक १८ गते ०९:४१
Shares
पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

बागलुङ : पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले  स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।

नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्य चौकीलाई १५ शय्यामा स्तरोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ ।

अस्पताल प्रमुख डा. सफल सापकोटाका अनुसार अस्पतालले यस अगाडि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो । “बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौँ, अस्पतालले अहिले गर्भवतीका लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौँ”, डा. सापकोटाले भने, “समयमै भवन निर्माण नहुँदा चुनौतीका बीच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनु भनेको राम्रो हो, स्वास्थ्य बीमाको सेवा विस्तारको योजनामा छौँ ।”

हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ-१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाट रु १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । निर्माण कम्पनीले भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गतेसम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाको भने अभाव खड्किएको छ ।

सम्बन्धित खबर