२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

आहा ! रारा गोल्ड कप घाटामा

shivam cement
२०८१ भदौ २७ गते १३:०५
Shares
आहा ! रारा गोल्ड कप घाटामा

गण्डकी : सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । 

क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए  । 

“तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उनले भने, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताए । 

प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उनको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिए । 

हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए । 

टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताए । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो । 

क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताए । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।

ताजा खबर

सम्बन्धित खबर