२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

खाली चेक धरौटीले स्टार्टअप उद्यमी कालोसूचीमा

ADV
छबि सापकोटा
२०८१ भदौ २७ गते २०:४२
खाली चेक धरौटीले स्टार्टअप उद्यमी कालोसूचीमा

काठमाडौं : नेपालमा स्टार्टअप उद्यम गर्नेहरु खाली चेक धरौटीको कारण समस्यामा पर्ने गरेका छन् । नेपालमा केही गर्ने सोचका साथ उद्यम शुरु गरेका नयाँ स्टार्टअप उद्यमीले पछिल्लो समय बैंकको कर्जा तिर्न नसक्दा र खाली चेक धरौटी राखेर काम गर्दा समस्यामा पर्दै गएका हुन् । ठूला व्यवसायीले चेक धरौटी स्वरुप हस्ताक्षर गराएर मिति र रकम नराखी दिने सर्तका कारण स्टार्टअप उद्यमी समस्यामा पर्ने गरेको उनीहरुको भनाइ छ । कालोसूचीमा पर्नेको संख्या बढ्नुमा उधारो कारोबारसम्बन्धी कानूनको अभाव भएको उनीहरुको भनाइ छ ।

ठूला व्यवसायीले सुरुमा खाली चेक राखेर सामान दिने तर पछि विभिन्न बाहना बनाएर त्यहि चेकको आधारमा कालोसूची र बैंकिङ कसुरमा फसाउने काम हुुँदा स्टार्टअप उद्यमी कालोसूचीमा पर्ने क्रम बढेको व्यवसायी बताउँछन् । खाली चेकलाई अस्त्रको रुपमा प्रयोग गरेर तिर्नुपर्ने भन्दा बढी रकमको दाबी गर्दा उनीहरु थप समस्यामा पर्दै गएका छन् । 

चेक बाउन्स हुँदा बित्तिकै कालोसूचीमा राख्ने प्रणालीको कारण समेत कालोसूचीमा पर्नेको संख्या धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् निर्माण व्यवसायीबाट जारी भएको चेक अनादरलाई लिएर कालोसूचीमा नराख्ने र बैकिङ कारोबार खुल्ला गर्ने निर्णयले निर्माण व्यवसायमा राहत महसुस भएपनि साना तथा मझौला व्यवसायीलाई भने सम्बोधन भएको छैन । ‘नेपालमा केही गर्छु भन्दा कालोसूचीमा पर्ने जरिवाना र जेल सजाय हुने जस्ता कानुनी झमेलामा परेका कारण कालोसूचीमा पर्नेहरुले आफ्नो व्यवहार मिलाउन सकेका छैनन्’, एक व्यवसायीले बताए ।

उनी भन्छन् ‘पछिल्लो दुई वर्ष यता आर्थिक परिस्थिति बिग्रिदा र ठूला व्यवसायी साना तथा मध्यम उद्यम र व्यापार गर्ने व्यवसायीलाई खाली चेक राखेर कारोबार गर्न दिए तर, पछि आफ्नो अनुकुल नभएपछि चेक बाउन्स गरेर कालोसूचीमा राख्ने काम ठूला व्यवसायीले नै गरेका छन् ।’

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार १ लाख भन्दा बढी व्यक्ति बैकिङ कसुर अन्तरगत कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेको कम्पनी तथा व्यक्तिको संख्या १ लाख ९ सय १० जना छ । यसरी १ लाख कालोसूचीमा परेका कारण बैंकमा ब्याजदर घट्दा समेत ऋण लिनेको संख्या निकै कम छ । कर्जाको माग नहुुँदा बंैंकमा पैसा थुप्रिएको छ । यसरी मुख्य चार्डपर्वको बेलामा समेत अर्थतन्त्र खुल्ला रुपले सञ्चालन नहुनुमा १ लाख बढी व्यक्ति कालोसूचीमा पर्नु रहेको र यसको समाधान नखोजिएको व्यवसायीको गुनासो छ ।

कोरोना महामारी पछिको समयमा कालोसूचीमा पर्नेको संख्या बढेको देखिन्छ । जसले आर्थिक गतिविधि मै समस्या सृजना गरेको छ । अबका दिनमा यो संख्या अझै तीव्र गतिमा बढ्ने देखिन्छ । गत आर्थिक वर्षमा मात्रै ४६ हजार २३ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । चालु अर्थिक वर्षमा समेत हरेक दिन चेक बाउन्स गरेर कालोसूचीको लागि कर्जा सुचना केन्द्रमा आउनेको संख्या २ सयको हाराहारीमा रहेको छ । कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सबाट पर्ने गरेको कर्जा सुचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise