२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

फेमिसमा समस्या आउँदा यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको काम प्रभावित

ADV
२०८१ जेठ ३१ गते ०६:३५
फेमिसमा समस्या आउँदा यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको काम प्रभावित

काठमाडौं : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा समस्या रहेका कारण यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको काम प्रभावित भएको छ ।

यूएईस्थित नेपाली दूतावासले जुन १० तारिक अर्थात सोमबारबाट अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरूवात गरिएको सार्वजनिक गरेको थियोे । तर फेमिसमा समस्या आएपछि बुधबार दुई दर्जन बढी यूएईका रोजगारदाताको फाइल अपलोड हुन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समिति संयोजक रहेका संघका सचिव कर्णराज कटुवालले जानकारी दिए ।

त्यसअघि व्यवसायीहरूले सय जनाभन्दा कम संख्याको डिमाण्डमात्रै अनलाइनमा पेस गर्न सकिने र सयभन्दा बढीको डिमाण्ड भएको अवस्थामा रोजगारदाता कम्पनीको प्रतिनिधिसँग छलफल गर्नुपर्ने व्यवस्था दूतावासले गरेको भन्दै असन्तुष्टि जनाएका थिए । बुधबार प्रणालीमा समस्या आएका कारण रोजगारदाता दूतावास पुगेर फर्केपछि व्यवसायी थप निराश बनेको बताइएको छ । 

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने उद्घोष नै गरेका थिए । मन्त्री अर्यालले फेमिसले काम नगरे विकल्प खोज्ने चेतावनी दिएका थिए । उनले फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल पनि गरेका थिए ।

तर प्रणालीमा ठोस सुधार नभएको व्यवसायीहरूको भनाइ छ । कतिपयले भने प्रणाली सञ्चालन र मर्मतको ठेक्का पाएको निजी कम्पनीबीच भुक्तानी र कमिशनको कुरा नमिल्दा प्रणालीमा समस्या देखाइएको दाबी गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise