–कुञ्ज देवी उपाध्याय
समयले कसैलाई पनि झटारो हान्न सक्छ, सन् १९९८ को कुरा । राधिका रोगले ग्रस्त छे । छिन् छिनमा भुँडी दुखेर फत्र्याक–फत्र्याक हुन्छे । फेरि उठेर काम गर्न थाल्छे । नगरेर के गरोस् । उसको पति बौलाहा जस्तो छ । भैँसीको दूध खाएर राँगाको बुद्धि भएको । दूधको भार बोकेर घर आउँदा सासूको नौटङ्की सुरु हुन्छ । तेरी स्वास्नीले यसो गरी, मलाई टेर्दिन, मुखमुखै लाग्छे इत्यादि । सही अनि गलत निर्णय गर्न ऊ जान्दैन । जङ्गली अर्ना झम्टे झैँ झम्टेर जान्छ, अनि काठको चिरुवा दाउरो लिएर पिटाई गर्छ ।
राधिका रुन्छे, कराउँछे । तर, उसलाई कसैले सुन्दैन, कसैले बुझ्दैन । सुन्छन् केवल अदृश्य शक्तिले, जो कहिल्यै कसैलाई देखा नदिई आफ्नो निर्णय लिन्छन् । त्यसरी नै कहिले खान्छे, कहिले नखाईकन दिन बितेर जान्छ । ऊ भगवानसँग सिकायत गर्छे, “मलाई किन जिउँदो लास बनाएर राख्छौ भगवान ? म अब बाँच्न खोज्दिन, कसको लागि बाँच्नु ?”
एउटी नारीको मर्म वेदनामा हताहत भएर पनि केही गर्न नसकेर म आफैँ लज्जित हुन्छु । साहस गरेर प्रतिवाद गर्न जाँदा अवहेलित भएर त्यो ठाउँलाई छोड्ने फैसला लिन्छु । एक्लो बृहस्पति झुटो भन्ने कुरा सही रहेछ । दिनदिनै उसका आँखाबाट बगेका आँसु भगवान सामु पुग्छन् । ऊ रोगाउँछे । तर, घमन्डी पति र सासू उसलाई उपचार गर्ने नाउँ लिँदैनन् । पेटभित्र एउटा बच्चाको साथै बढी रहन्छ गोल्ड ब्लडर । पाँच महिनाको बच्चाले जब पेटमा चटपटाउन थाल्छ, राधिका गोल्ड ब्लडरको दुखाइमा बिस्तारा लिन्छे । उसको घमन्डी पतिसँग थोरै सहानुभूति आशा राख्दै भन्छे, “फलानीको पिता, म मर्छु होला अब...” तर, ऊ भन्छ, “मरिस् भने नदीमा लगेर डढाइ दिन्छु ।” “खुट्टा भए जुत्ता पाइन्छ, छोरा चिन्ता नगर” भन्दै सासू पनि छोराको साथ दिन्छिन् ।
अन्तिम समयमा कहीँ गएर वन औषधी ल्याएर खुवाउँछ, उसको पतिले र त्यही काल भएर दुईटा आत्माको दुःखद निधन हुन्छ । तिन सन्तानपछि डाक्टरको सल्लाहअनुसार अरू सन्तान नहोस् भन्ने कुरालाई लत्त्याउँदै चौथो सन्तान अर्को छोरो चाहिन्छ भनेर एउटा गँवारले टुहुरा बनाउँछ दुई छोरी र एउटा छोरालाई । राधिका दुःखद जीवनबाट मुक्त हुन्छे सधैँको लागि । तर, उसका सन्तानले झेल्दछन् टुहुरा हुनुको मर्मान्तिक जीवन ।
उसको पाखण्ड पतिलाई केही असर पर्दैन्, किनकि उसकी आमा सधैँ उसको हौसला बढाउँछिन् । पत्नी मरेको क्रिया कर्म हुँदै भएको छ । छोरो बालखै हुनाले जेठाजुले किरिया गर्नु पर्ने । पाँच दिनको गरूण पुराणमा सबै बसिरहेका बेला आमा–छोरा अर्को बिहे गर्ने सल्लाह गरेको सुनेर अचम्म लाग्यो । “छिः कस्तो सोच हजुरहरूको । मरेको काम पनि सिद्धिएको छैन । मृतकको आत्माले शान्ति कताबाट पाउला ?” बौलाहा जस्तो उमेशको वाक्य बाणले झिरले कलेजोमा घोचे जस्तो लाग्यो धेर जान्ने हुनु पर्दैन । हामी जान्दछौ हाम्रो घरको कुरा ।
उनीहरूको सोच र व्यवहारमा म निकै खिन्न भएँ । काम सकेर केही दिन पछि म त्यहाँबाट आफ्नो कर्म क्षेत्र तर्फ लागेँ । वर्ष दिन नपुग्दै दोस्रो विवाह गर्यो उमेरले । डेढ वर्षभित्र एउटी छोरी उपहार दिएर त्यसलाई लखेटेको खबर आयो । नारीको जीवनलाई खेलौना ठान्ने त्यस पाखन्डीले देशका कुना काप्चामा केटी खोज्न लाग्यो अनि फेरी ढाँटी, छली अर्की बिहे गर्यो ।
वर्ष दिनमा छोरी जन्मिन्छे । छोरी जन्माउनु नै उसको अपराध भयो । सधैँको कुटपिट र अत्याचार सहन नसकेपछि आफ्नी छोरी साथमा लिएर माइती घर जान बाध्य भएकी त्यो नारी फेरि घुरेर आइन । आफ्नो नाउँ परिवर्तन गर्दै अब ऊ निक्लन्छ चौथो बिहेको तलासमा । फेला पार्छ अर्को सिकार । लिएर आउँछ एउटी तरुनी । त्यसको छोरो भयो । अति नै रमाए । घरका कुरा सबै खोलेर अरूको बदनाम सुनाउने गर्थे आमा छोरा । तिनीहरूलाई राम्रो चिन्न लागि उसले । दुई वर्सपछि फेरि अर्को छोरो । छोरै मात्रै संसार हो भन्ने उसका पति उसको जायज नाजायज सबै अभाव पुरा गर्न थाले ।
अनपढ हुनाले ऊ उनीहरूको मायाको अपप्रयोग गर्न लागि । दिनदिनै जताततै घुम्न हिँड्ने र जेसुकै खाने भएपछि घरमा दिनरात झगडा हुन्छ । ऊ न पतिको कुरो सुन्छे, न सासूको । रक्सी धोकेर पर पुरूषको सम्पर्क गर्न पनि उसलाई कुनै हिचकिचाहट हुन छोड्यो । नारीको गहना भनेर चिनिने सिन्दूर निकालेर आँगनमा फ्याँक्ने, छोरो पिट्ने उसको नित्य नैमित्तिक घटना भयो । गाउँका मान्छे हरू पाप यसरी नै कराउँछ भन्दै केही बोलेनन् ।
परिस्थिति सम्हाल्न नसकेर दिन दिनै कुटपिट गर्दा गर्दै सासू एक्लै बसेर खान्छु भन्दै छुट्टै खान लागिन् । पहिलो बिहे गरेकी बुहारीका छोराछोरी साथमा लिएर उनी आफैँ पकाएर खानुपर्ने भयो । त्यति बेला पहिलो बुहारीको गुण गाउने अवसर मिल्यो तर, ढिलो भयो । समयमै खुट्टा भए जुत्ता पाइन्छ, नभनेर उचित चिकित्सा गरेको भए सायद आज यो दिन देख्न पर्ने थिएन होला । पति, “मरे के हुन्छ नदीमा फ्याँकी दिन्छु” भन्दै पत्नीको अपमान गर्थ्यो, आज कान्छी स्वास्नीको रात दिनको अपमान सहेर लाचार छ । पतिलाई पिट्ने ऊ, पति पत्नीको तगारोको पिटाई खानु लाग्यो । न छोड्न सक्छ, न साथ निभाउन । कुमालेको चक्र झैँ घुमी रहने मान्छेको जीवनमा आज तै जेठीको छोराको सहारा खोज्दै त्यसकै आशामा बसेको छ उमेश । जिन्दगीको उतार चढाव सबैको जीवनमा आउँछ । तर, मेरा छोरा छोरी छन्, मेरो यत्रो सम्पत्ति छ भनेर घमन्ड गर्नु बेकारको कुरा हो । समय बलवान छ । त्यसैले त उखान छ, ‘चार स्वास्नीको पोइ कुना कुना पसेर रोइ’, राधिकाको आत्मा परै बसेर हेरि रहेको हुन्छ, पति र सासूको बेहाल । समयको चक्रव्यूहमा उनीहरू बन्दी भइसकेका हुन्छन् । उनीहरुसँग बाँकी विकल्प केही हुँदैन ।