काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अर्थपूर्ण भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच न्युयोर्कमै भेटवार्ता भएको हो । भेटपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगको भएको भेट राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
‘भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । प्रधानमन्त्री ओलीले पनि दुई नेताबिचको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान गर्दा समेत भारतीय समकक्षी मोदीसँग भेट हुने/नहुने तय भएको थिएन । प्रधानमन्त्री ओलीलाई भारतले हेर्ने दृष्टिकोणलाई लिएर कतिपयको चासो रहँदै आएको छ । यो बेला भारतीय समकक्षी मोदीसँग अमेरिकाको न्युयोर्कमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह र भुटानी प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग पनि भेटवार्ता गरेका छन् । भुटानका प्रधानमन्त्री तोग्बेसँग राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भेट भएको हो । भेटमा नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार छलफलका क्रममा भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताए । उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गरे । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताए । प्रधानमन्त्री ओलीले सोमबार संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता पनि गरेका छन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गरे । अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले भनेका छन्, ‘दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ, अहिले मात्रै चार अर्ब ३० करोड अमेरिकी डलरको वित्तीय खाडल छ र यो निरन्तर बढिरहेको छ ।’
प्रधानमन्त्री ओलीले विकासोन्मुख राष्ट्र, अल्पविकसित देश, साना टापुजस्ता विशेष अवस्थाका देशले विकसित देशको तुलनामा बढी जोखिम भोग्नु परिरहेको उल्लेख गर्दै प्राप्त नतिजा निराशाजनक रहेको बताए ।असमान व्यापार प्रणाली, बाह्य ऋणको उच्च ब्याजदर र बढ्दो सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीको भारले विकासशील देशहरूको वित्तीय स्थायित्व र आर्थिक क्षेत्रलाई संकुचित गरेको भन्दै ध्यानाकर्षण गरे ।
दशकौँ अघि तयार पारिएको विश्व वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानताजस्ता वर्तमानमा देखिएका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्वको वर्तमान आर्थिक प्रणालीले पछि परेका देशहरूको बढ्दो आवश्यकताहरू र विशेष चुनौतीहरूको सामना गर्न कठिन भइरहेको बताए । उनले अन्तर्राष्ट्रिय सहयोग कि त स्थिर रहेको वा घटिरहेको अवस्था उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
‘डिजिटल डिभाइड बढ्दो छ, अधिकांश देशलाई अर्थतन्त्रको रुपान्तरणका लागि डिजिटल प्रविधिको सदुपयोग गर्न संघर्ष गर्नुपरिरहेको छ’ उनले भनेका छन्, ‘यस सन्दर्भमा हाम्रो दृष्टिकोण, प्राथमिकता र हामीले गरिरहेका काममा हामी कहाँ चुक्यौ भन्ने प्रश्न उठेको छ ।’ विकाससम्बन्धी साझा आकाक्षामा र बहुपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रयासमा अपेक्षाकृत परिणाम प्राप्त नहुनुका व्यवहारिक कारण खोजिनुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले र्औँल्याए ।