२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

Nada
२०८१ असोज ११ गते १८:३९
Shares
हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

काठमाडौंः संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले यहाँको शिक्षा र स्वास्थ्य प्रणालीलाई प्रभावित बनाएको छ । 

ncell

आफूलाई विद्रोही भनेर चिनाउने गिरोहले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेको छ। हाइटीमा सन् २०२४ को पहिलो छ महिनामा करिब छ लाख मानिस विस्थापित भएका छन् भने २९५ महिला र ६३ बालबालिकासहित एक हजार २८० जना घाइते भएका राष्ट्रसङ्घीय मानवअधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।

त्यस अवधिमा २५ जना बालबालिकासहित कम्तीमा ८९३ जनालाई राजनीतिक सङ्कट र कमजोर राज्य सत्ताले छोडेको शून्यतामा सत्ताका लागि होडबाजी गरिरहेका आपराधिक समूहहरूले अपहरण गरी फिरौतीका लागि बन्धक बनाएका थिए । ‘यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ’, संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । 

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भने, ‘यस मूर्खतापूर्ण अपराधका कारण अब कुनै पनि व्यक्तिको ज्यान गुमाउनु हुँदैन ।’ ओएचसीएचआरले हाइटीका अधिकारी र अन्तर्राष्ट्रिय समुदायलाई क्यारेबियाली टापुका मानिसहरूको सुरक्षाका लागि थप कदम चाल्न आग्रह गरेको छ।

गिरोहले यस वर्ष आफ्नो कार्यप्रणाली परिवर्तन गरेको बताइएको छ । केही पीडितहरू अन्धाधुन्ध चलेका गोली लागि मारिएका थिए भने अन्यलाई अधिकारीहरूलाई जानकारी दिएको वा गिरोहका गतिविधिहरूको विरोध गरेको आरोपमा दिनदहाडै मृत्युदण्ड दिइएको थियो।

‘तीमध्ये केहीको शरीरलाई धारिलो हतियारले क्षतविक्षत पारेर जलाइएको थियो’, प्रतिवेदनमा भनिएको छ । गिरोहहरूले समाजमा डर पैदा गर्न र जनसङ्ख्यालाई आफ्नो वशमा लिन वा नियन्त्रण गर्न दृश्यहरूको छायाङ्कन गरी सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक गरेका थिए ।

प्रतिवेदनमा गिरोहले ‘दण्डित गर्न, डर फैलाउन र जनङ्ख्यालाई वशमा पार्न’ यौन हिंसाको प्रयोग जारी राखेको उल्लेख गरिएको छ । पोर्ट–ओ–प्रिन्समा प्रहरी कारबाही र गस्तीका क्रममा कम्तीमा ८६० जनाको मृत्यु हुनुका साथै ३९३ जना घाइते भएका छन् जसमा कम्तीमा ३६ जना बालबालिका रहेका छन् । गिरोहले ठूलो सङ्ख्यामा बालबालिकालाई पनि आफ्नो समूहमा भर्ती गरेको छ ।

हाइटीमा अनुमानित १६ लाख मानिसले आपतकालीन स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले केन्याको नेतृत्वमा बहुराष्ट्रिय स्थिरीकरण बललाई हाईटीको प्रहरीलाई सहयोग गर्न पठाउने अनुमति दिएको थियो । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो देशले दुई हजार ५०० सदस्यीय बहुराष्ट्रिय सुरक्षा सहायता मिसन (एमएसएस) को तैनाती जनवरीसम्ममा पूरा गर्ने बताएका छन् ।

सम्बन्धित खबर