२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

यूएईमा भिजिट भिसामा जाने कामदारको जीवन कष्टकर

ADV
२०८१ असोज १२ गते ०६:३५
यूएईमा भिजिट भिसामा जाने कामदारको जीवन कष्टकर

काठमाडौं : भिजिट भिसामा यूएई पुग्ने नेपालीको अवस्था कष्टकर देखिएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार यूएईमा औसतमा हरेक डेढ महिनामा आत्महत्याको घटना सार्वजनिक हुने गरेको छ । आत्महत्याका पीडित अधिकांश नेपाली भिजिट भिसामा गइ सामान्य काममा संलग्न नेपाली कामदार रहेका छन् । उनीहरूलाई उनीहरूको वास्तविक सामर्थ्यभन्दा फरक सपना देखाएर दलालहरूले त्यहाँ पुर्‍याएको बताइएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर क्षेत्रीलाई उद्धृत गर्दै खलीज टाइम्स लेख्छ, ‘गरिब मजदुरहरूले यूएईमा काम खोज्न ठूलो रकम तिर्छन् । यूएईमा आइपुगेपछि उनीहरूले सपना देखेको भन्दा फरक चीजहरू फेला पार्छन् । परिवार र ऋणको दबाबले उनीहरूलाई आत्महत्या गर्न बाध्य पार्छ ।’

भिजिट भिसामा यूएई जानेले सामान्यतया कम तलबको जोखिमयुक्त  रोजगारी पाउने अवस्था छ । रोजगारी पाएकाले मासिक ७ सयदेखि बढीमा १ हजार दिहराम तलब पाउने गरेका छन् । त्यसअघि नै स्वदेशमा एजेन्टहरूलाई डेढ लाख रूपैयाँ बुझाइसकेका उनीहरूले स्वदेश फर्केर पुर्ख्यौली सम्पत्ति बेचेर ऋण चुक्ता गर्नुपर्ने अवस्था छ । यूएईको बढ्दो महँगीले दैनिकी चलाउन  कष्टकर भइरहेको अवस्थामा प्रत्येक महिनाको तलबबाट भिसा खर्च कटौती गरिनु थप पीडादायक हुने उक्त पत्रिकाले उल्लेख गरेको छ ।

नेपालमा  कामदारलाई विदेश पठाउन ठूलो रकम लिएर शोषण गर्ने बेइमान र दर्ता नभएका एजेन्टलाई कडा कारबाही गर्ने भनिएपनि कानूनी प्रबन्ध कमजोर रहेको छ । प्रक्रियागत र कार्यविधि कानूनको अलमलले धेरै पीडितहरू ठगीको रकम फिर्ताको अभियान बीचमै छोडेर विचलन हुन बाध्य हुने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise