२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

२० औं विश्व रक्तदाता दिवस : दुई पत्रकार तथा रक्त अभियन्ता सम्मानित

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते २१:५६
२० औं विश्व रक्तदाता दिवस : दुई पत्रकार तथा रक्त अभियन्ता सम्मानित

बाँके : २०औं विश्व रक्तदाता दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान लगायत विविध कार्यक्रमको आयोजना गरी मनाइको छ । ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको हो । 

‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको आयोजना र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको सह आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा शुभकामना आदान प्रदानसहित दुई जना पत्रकार तथा रक्त अभियन्तालाई सम्मान गरिएका थियो । 

सम्मानित हुनेमा बिहीबार मात्र एक सय पटक रक्तदान गर्ने शतक रक्तदाता सञ्चारकर्मी पवन जायसवाल र विगत लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रुपमा क्रियाशील वरिष्ठ पत्रकार पूर्ण लाल चुकेलाई सम्मान गरिएको थियो, भने प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई निरन्तर तीन दशकदेखि प्राविधिक सेवा गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो । 

उनीहरुलाई प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, बाँके शाखाकी अध्यक्ष दिला शाह र नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीले दोसल्ला ओढाएर सम्मान तथा प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँके शाखाकी अध्यक्ष दिला शाहलाई रक्तदानको अभियानमा निरन्तर लागेकाले प्रादेशिक रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र सरिता सिंहले प्रशंसा पत्र प्रदान गरेका थिए ।  

नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँके शाखाकी अध्यक्ष दिला शाह, सम्मानित त्रय पूर्णलाल चुके, पवन जायसवाल र उमेन्द्र रेग्मीले जीवनमा रगतको महत्व र आवश्यकताका बारेमा बोल्दै रगतको अभाव हुन नदिन सबैले आ–आफ्नो तहबाट रक्तदान अभियानमा हातमालो गुर्नपर्ने धारणा राखेका थिए । 

कार्यक्रमको प्रारम्भमा समाजका केन्द्रीय अध्यक्ष १ सय ७८ पटक रक्तदान गर्ने रक्त सम्राट प्रेम सागर कर्माचार्यले तयार गरेको रक्तदान सम्बन्धी गीत समाजकी बाँके अध्यक्ष शाहले सार्वजनिक गरेकी थिइन् । 

समाजका जिल्ला सचिव भीष्म लोदले सञ्चालन गरेको कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका निवर्तमान अध्यक्ष राजेश मास्के, वरिष्ठ उद्योगपति चम्पालाल बोथरा, उद्योगपति रिद्ध करण जैन, नेपालगन्ज औद्योगिक क्षेत्रका नि. कार्यालय प्रमुख जागेश्वर चौधरी लगायत चार दर्जनको सहभागिता रहेको थियो ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४ जूनका दिन विश्व रक्तदाता दिवस मनाइन्छ । सदा झै यस वर्ष पनि १४ जूनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो । रगतको वैकल्पिक व्यवस्था हालसम्म वैैज्ञानिकहरु पता लगाउन नसकेको अवस्थामा घाइते वा बिरामीलाई मानिसकै रगत जरुरी हुने डाक्टरहरुले बताउँछन् । यो कार्यक्रममा रक्तदान गर्नेहरुमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, बिवेक थापा, धर्मराज उपाध्याय, शरद प्रसाद रिजाल, कमलजीत सिंह, सुरेश अधिकारी, मिमेष कुमार मास्के, गीता खत्री, सुजता खरेल, पवन देव अर्याल, दिपेन्द्र उपाध्याय, विष्णु खनाल, जगदीश उपे्रती, खड्ग बहादुर थापा लगायतले रक्तदान गरेका छन् । 

प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, राजेन्द्र महतरा, होमराज गिरी, शिवराज शाही र प्रजिता योगीले प्राविधिक सहयोग सहयोग गरेका थिए । दिवसकै अवसरमा शुक्रबार नै आयोजित रक्तदान कार्यक्रममा प्राजातन्त्रिक उद्योग व्यवसायी संघले ७६ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगञ्ज, कोहलपुर मेडिकल कलेज र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ । उक्त केन्द्रहरुबाट वार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए । 

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या वृद्धिसँगै रगतको माग दिन प्रतिदिन बढ्दै गइरहेको बताए । त्यो अवश्यकता पूर्ति संस्थागत र स्वयंसेवी रक्तदाताबाट मात्र सम्भव हुने उल्लेख गर्दै मानवीय कार्यमा योगदान गर्ने सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 

बाँके जिल्लाका निवासी स्वयंसेवी पुरुष रक्तदाता गोपीनाथ वैश्य १ सय ५६ पटक, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १९ निवासी पवन जायसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरी इतिहास रचेका हुन् । उनीहरुलाई दिवसका अवसरमा जनमत अर्धसाप्ताहिक र प्राजातन्त्रिक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् । 

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी, सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।    

ADVADV

सम्बन्धित खबर

Advertise