२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

अचाक्ली महँगी

ADV
दिवाकर अधिकारी
२०८१ असोज १७ गते ०६:५०
अचाक्ली महँगी

काठमाडौं : महँगी अत्याधिक बढेको नागरिकहरूले सरकारी निगरानी र अनुगमन माग गर्न थालेका छन् । राजनीतिक दलहरूले पनि सरकारको ध्यानाकर्षण गरिरहेका छन् ।

यही असोज ११ गते नेकपा (एमाले)ले आफैँ नेतृत्वको  सरकारलाई महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराएको थियो । एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर ध्यानाकर्षण गराएकोे हो ।

नेपाली कांग्रेस कोशी प्रदेशले मुलुकमा बढ्दो महँगी, कालाबजारी र भ्रष्टाचार तत्काल नियन्त्रण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । 

विराटनगरस्थित प्रदेश समितिको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर कोशी प्रदेशका प्रबक्ता यदु विष्टले सरोकारवाला निकायले चाडपर्वको पूर्वसन्ध्यामा बढ्दो कालाबजारी, महँगी र भ्रष्टाचार तत्काल नियन्त्रण गर्न माग गरेका हुन् । 

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि महँगीको विषय चर्को रुपमा उठेको थियो । 

हालैको बाढीपहिरो र डुबानको क्षेतिको विषयमा छलफल गर्न बैठक राखिएको बैठकमा  गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानबिर राइ पनि उपस्थित थिए । अधिकांश सांसदले विपद्को विषयसँगै महँगीको विषय उठाए । तर, मन्त्रीद्धय महँगीको विषयमा मौन रहे । 

सांसदहरूले तरकारी, फलफुल, खाद्यान्नको भाउ तीन गुणासम्म बढ्दा समेत सरकारले प्रभावकारी रुपमा नियन्त्रण गर्न नसकेको भनेर नागरिकले आलोचना गरिराखेको स्मरण गराए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले विपद्का बेला खाद्यान्न, फलफुल र तरकारीको मुल्य अकासिएको भनेर प्रश्न गरे । विपद्का बेला मौका ठानेर व्यावसायीले कमाउन खोज्दा सरकार नदेखिएको बताए । 

एमालेकै सांसद रघुजी पन्तले चाडपर्वको समय ‘कमाउने बेला नभएको’ बताए । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले बजार अनुगमनको विषय उठाए । 

‘छोइ नसक्नु भाउ छ । बजार कन्ट्रोल कसले गर्ने ?’ उनले प्रश्न गरे, ‘सबै प्रकारका वस्तुको भाउ बढ्ने । कतै नियन्त्रण हुन नसक्ने । सरकार कहाँ छ ? सरकार कतै छ जस्तो लाग्दैन ।’

कांग्रेसका महामन्त्री गगन थापाले बजारमा एक रुपैयाँ पनि कालोबजारी छ भन्ने जनताले महसुस गर्न नसक्ने गरी काम गर्न सुझाए । यसका लागि सरकारले आफ्नो संयन्त्र प्रयोग गर्नुपर्ने सुझाए ।

छलफलपछि राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई महंगी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । 

तर, सरकार  दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित बजार अनुगमन शुरु गरिसकेको बताउँछ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन शुरु गरेको छ । 

उनका अनुसार उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण समेत शुरु गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise