२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

एनआरएनए अल कासिमद्वारा साउदीबाट ३० नेपाली फिर्ता, सप्लाईमा कामदार नपठाउन आग्रह 

ADV
अन्जान गुभाजु
२०८१ असोज १७ गते १०:४१
एनआरएनए अल कासिमद्वारा साउदीबाट ३० नेपाली फिर्ता, सप्लाईमा कामदार नपठाउन आग्रह 

साउदी अरव : गैरआवसीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अल कासिम, साउदी अरवले समस्यामा परेका  ३० जना नेपाली श्रमिकलाई एक्जिट भिसा दिलाएर नेपाल फिर्ता पठाउन सफल भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि सगरमाथा मेनपावर, यात्रा, ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेन्सीमार्फत साउदी आएका ६० जनामध्ये ३० जना श्रमिकलाई सफलतापूर्वक फिर्ता पठाइएको एनआरएनए अल कसिमले जनाएको छ ।

उनीहरूलाई साउदी अरेबियाका अल हदवा, अल सुल्तान, र अल समाहा म्यानपावर सप्लाई कम्पनीमार्फत दमाम, रियाद, अल कासिममालगायत साउदीका विभिन्न क्षेत्रहरूमा पठाइएको थियो । तर कम्पनीहरूले कामको अनुबन्धपत्र (अकमा ) नबनाइ उनीहरूलाई कामबाट निकालेर अलपत्र परेपछि पीडित श्रमिकहरूले गैर आवासीय नेपाली संघ अल कासिमलाई उद्धारको लागि सहयोगको अनुरोध गरेका थिए ।

पीडितहरूको समस्या बुझ्न एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदूतावास रियादका अल कासिम प्रतिनिधि विशाल श्रेष्ठ र एनआरएनआरसीसी अल कासिमका प्रवक्ता अलि उर्सिन मियाँले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले राजदूतावास रियादसँग समन्वय गरी श्रमिकहरूको एक्जिट भिसाको प्रक्रिया अघि बढाएका थिए ।

श्रेष्ठका अनुसार, सप्लाई कम्पनीहरूले केही श्रमिकहरूको भिसा एक वर्ष, केहीको डेढ वर्ष, र केहीको दुई वर्षसम्म पनि नवीकरण नगरेको अवस्थामा उनीहरू समस्यामा परेका थिए । अन्ततः एक्जिट भिसाको प्रक्रिया शुरु गरि, ६० जनामध्ये ३० जनालाई नेपाल फिर्ता पठाउन सफल भएको हो । बाँकी ३० जनाको पनि प्रक्रिया जारी रहेको बताईएका छ । त्यसमा अन्य क्षेत्रका श्रमिकहरूलाई पनि समावेश गरिएको छ ।

नेपाली राजदूतावास रियादका अल कासिम प्रतिनिधि श्रेष्ठले मेनपावर कम्पनीहरूलाई कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा निवेदन दिएको जानकारी दिएका छन् । साथै, उनले साउदीका अन्य सप्लाई कम्पनीहरूको भिसा र श्रम स्वीकृति रोक्का गर्नका लागि पनि आवश्यक पहल गरिएको बताए ।

गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समितिले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै मेनपावर कम्पनीहरूले यस्ता सप्लाई कम्पनीमा कामदार नपठाउन अनुरोध गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise