
जब म दिनभरि घुमेर घर फर्किन्छु
मसित हुनेछ सारा एक्लोपन,
मेरो एक्लोपन
महानगरको कोलाहलमा हराउँदैन
भीडमा कतै विसाउँदैन
यो घना र कठोर छ
अनि
यो वीभत्स र बर्बर छ
तिमी भन्थ्यौ नि –
जङ्थलमा हुन्छ एक्लोपन ,
तर म यो कंक्रिटको घेरामा
अझै भयावह एक्लोपन भोग्दैछु
मलाई थकाउँछ यसले
मलाई मैबाट भगाउँछ यसले
तर म हार्दिनँ यो एक्लोपनबाट ।
मेरो एक्लोपनमा मेरा असङ्ख्य रातहरु छन् –
मेरा अपरिचित शत्रुहरु छन्
मेरो एक्लोपन कहाँ एक्लो हुन्छ र ?
यहाँ कैय्यन् ज्ञातअज्ञात साथीहरु छन्
जब म घर फर्किन्छु
घर कहाँ मसित हुन्छ र ?
म त घर जस्तै एक्लो भएर नाङ्गिसकेको हुन्छु
घर म जस्तै ।
मजस्तै एक्लो घर ।