–लेखराज रेग्मी
अँध्यारा कोठामा उज्याला मान्छेहरूसँग प्रचण्डले गुड्डी हाँकेर दक्षिणपन्थीहरूसँग सम्बन्ध विच्छेद गरेर युद्धमा लागेको गफ दिएकै हुन । तर आज ढोका बन्द गरेर मात्रै बोल्नुपर्छ, किन ? पंक्तिकार ‘र’ले जनयुद्ध गराएको स्वीकार गर्दैन । तर, दरबार हत्याकाण्ड कसरी भयो प्रश्न उठाउनु पर्छ भन्ने लाग्छ । यसको कारण राजा वीरेन्द्रले काँग्रेस–एमालेभित्र विदेशी घुसपैठ र नेपाली सम्प्रभुताको खतरा नाप जोख गरेर चीनसँग निकटता बढाउन थालेका थिए । बहुदल नेपालको लागि खराब अभ्यास बन्दै थियो । यसले गाथ गद्दी र श्रीपेचमा खतरा पैदा गरिरहेको बुझेका थिए । यसकारण दरबार हत्याकाण्ड भयो । आज फेरि विदेशी चलखेल त्यही गतिमा बढिरहेको छ र माओवादी निरीहतापूर्वक एउटा धडा कोठाभित्र धारे हात लाएर दिन कटाउँदैछ र अर्को धडा लाचार जस्तो बनिरहेको छ । अब चुनवाङदेखि बालाजुसम्मका गफले न पार्टीहरू विकसित हुनेछन् न त रिम वा एल्त्सिन पथमा लागेर केही हुनेछ ।
शान्ति प्रक्रियामा आउन रोकेर, ज्ञानेन्द्र शाह र नेपाली काँग्रेस गठबन्धनको सत्ता स्थापित गरेर भारतको समर्थनमा अहिलेको गाजा जस्तै ध्वस्त नेपाल बनाउने गुरुयोजना सम्भव नभएपछि शान्ति प्रक्रियाको ढोका खुलेको सत्य बुझ्न आवश्यक छ । निर्मल लामा यही असहज परिणामको दिशामा जानबाट एकता केन्द्रलाई रोक्न र जिम्मेवार पार्टी बनाउन चाहन्थे । हामीले तथ्यमा यसको खोजी गर्न र पुनर्पुष्टी गर्न आवश्यक छ । प्रचण्डको भनाइमा शान्ति प्रक्रिया रणनैतिक सिफ्ट थियो । यसको राजनैतिक अर्थ के हुन्छ ? किन रणनैतिक सिफ्ट आवश्यक भयो ? यसको डिप स्टडीले निर्मल लामा माथि लगाइएका मूल आरोपहरूलाई बुझ्न सहयोग गर्छ र उनलाई पुनर्स्थापित गर्छ ।
जहाँ प्वाल हुन्छ, त्यहाँ पानी पस्छ । लुगाको प्वाल देखिँदैन तर, लुगा भिज्छ गिलो हुन्छ । राजनीतिमा यो बुझ्न जटिल छ । अस्लाको तस्करी अप्रेशनल टेक्निकको सिकाई र महँगो हतियार आपूर्तिको फन्डसँगै यसरी नदेखिने गरी हामीभित्र कति पानी पस्यो र गिलो बनायो, यो त तथ्यपूर्ण खोजबिन नगरी गफ लगाउनु बेवकुफ बन्नु मात्रै हुन्छ तर, ‘र’को प्रकाशित रिपोर्टहरूले यतै संकेत गर्छन् । यसलाई खोज अनुसन्धान र कोर्स करेक्सन नगरी केही आशा गरिहाल्नु पनि बेवकुफ बन्ने बनाउने खेलमात्रै हुन्छ । अर्थात् जनयुद्ध विदेशीले सङ्गठित गरेको कुरा जति झुट हो, त्यत्ति नै झुट घुसपैठ गर्ने र प्रभावित गर्ने प्रयत्नहरूलाई इन्कार गर्नु पनि हो । पछिल्ला प्रचण्डका औपचारिक अभिव्यक्तिहरूले अस्पष्ट रूपमै भए पनि यसलाई स्वीकारेको देखिन्छ ।
अर्को तथ्य, पनि हेर्न र बुझ्न लायक छ । तत्कालीन नेपाली काँग्रेस सरकारले जनयुद्धलाई अत्यन्त हल्कारूपमा लियो । उसले आज पनि आफ्नो प्रतिस्पर्धी एमालेलाई नै देख्छ । संसदीय अङ्कगणितको बाध्यताले गठबन्धन सरकार बने पनि उसको यो धारणा फेरिएको छैन । उसले ठान्यो एमालेलाई क्षति पु¥याउँदा कांग्रेसलाई फाइदा हुन्छ, यो भ्रम आज पनि छ तर, कांग्रेसभित्रको चरम दक्षिणपन्थी कित्ता कुनै पनि वामपन्थी शक्तिसँग कुनै पनि किसिमको सहकार्यको विपक्षमा छ ।
वास्तवमा माओवादीले आन्दोलनमा जनताको सहभागिता नापे तौलेको हुन्छ भन्ने बुझ्यो, जति पटक माओको भनाई क्रान्ति भोजभतेर होइन दोहो¥याएर पढे पढाए पनि यो पण्डितले गायत्री जपेजस्तै रह्यो । वास्तवमा जब जनता जनयुद्धमा सामेल भयो यसलाई व्यवस्थित गर्नुको साटो माओवादी नेतृत्व सत्तासँग वार्ता र मोलतोलमा लाग्यो । सत्ताले यसलाई फौजी ढङ्गले कमजोर बुझ्यो र सत्ता कुटनैतिकरूपमा चुक्यो, यो भारत अमेरिका र कांग्रेसको कूटनैतिक असफलता थियो । आज नेपाली जनता यो असफलताको बोझ बोकिरहेका छन् । यसकोलागि माओवादी होइन प्रतिक्रियावाद जिम्मेवार छ ।
वार्ता असफलताको प्रतिक्रिया माओवादी पार्टी र जनयुद्धभित्र पनि देखिन थाले, यसलाई सम्हाल्न व्यवस्थित गर्न र जनताको संलग्नतालाई क्रान्तिकारी जनाधारमा रूपान्तरण गर्न खास प्रयत्न भन्दा अनावश्यक सवालमा खिचातानी माओवादीको कमजोरी देखियो । यो युद्धवादको दिशामा बढ्ने खतरा महसुस भएसँगै सकारात्मक तत्त्वहरू वार्ताको लागि माहौल बनाउन सुरु गरे । अमेरिकी सहयोगमा भइरहेका फौजी सुधारसँगै माओवादी सैन्य संरचना कमजोर देखिन थाल्यो, आक्रमण र प्रत्याक्रमणका घटनाहरूले यसको पुष्टि गरिरहे । तर, सेनाको राजनीतिकरण, उत्पादनमा संलग्नताको कमजोर प्रयत्न र जनताको सैनिकरणमा कमजोरी यस्ता स्थिति रहे यसले राजनीति आर्थिक (उत्पादनको) व्यवस्थापन र सेनामा सन्तुलनमा गडबडी देखिन थाले । यो स्थिति भगदड, भड्काव र गल्तीहरू बढ्दै जाने स्थिति हो ।
यस्तो समयमा अन्यत्र साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको गठ जोडमा भीषण रक्तपात, दमन र ध्वंस हुने गरेका छन् । सेना अपेक्षाकृत अनुकूल रहेको राजतन्त्र (दरबार) र प्रजातान्त्रिक कांग्रेसको बिचको अविश्वासको जगमा रहेको अन्तर्विरोध यसको लागि अनुकूल थिएन । यो परिस्थिति वार्ता र शान्ति प्रकृयाको लागि अनुकूल थियो । यसको पहल सोही पक्षबाट भयो । यसकारण उनीहरूले एम्बुस थापेर वार्ता गरे र एम्बुस छल्न सम्भव थिएन ।
देखिने गरी आएको एम्बुस टिआरसी थियो, कथित मानव अधिकार न्यायिक व्यवस्थापन विन विन मेलमिलाप र क्षमा दान जस्ता खतरा नदेखिने औजारहरूको खतरनाक घेराबन्दी नेपालको शान्ति, समृद्धि र माओवादी राजनीतिको लागि डरलाग्दा एम्बुसहरू हुन् । तर, यसबारेमा गम्भीरताको अभाव एउटा गम्भीर समस्या बनेको छ । कतिलाई हेक्का छ कुन्नि ?