२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

श्रावण, शिव र बागमती

shivam cement
२०८२ साउन १३ गते ०६:००
श्रावण, शिव र बागमती

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

पर्वतेश्वरदेखि ईशानतिर तल गुह्येश्वरी अगाडि बागमती नदीभित्र जलेश्वर शिव लिङ्ग रहेको छ, बागमती गंगाबाट स्थापित हो यो । प्राचीन समयमा बागमती प्रदूषित हुँदै जाँदा आफ्नो शक्ति क्षीण भएको द्रव शक्तिमै प्रश्न आउने सम्भावना देखी आफूले स्त्रीको रूप लिई एक शिला स्थापना गरी, किनारामा बसी शिवको प्रार्थना गर्दै तप गर्न थालिन्, स्तुति गर्दै “हे रुद्र मेरो जल द्रव रूपलाई शुद्ध पारिदिनुस्” । बागमतीले स्त्री रूपमा लामो समय तप गरेको देखी जलबाट ज्योतिर्लिङ्ग स्वरूप दर्शन दिई शिवले भन्नुभएछ, “हे गंगे ! तिमीलाई ब्रह्मादि साह्रा देवहरूले आशीर्वाद दिएका छन्, म पनि भन्छु तिम्रो द्रव शक्ति कहिल्यै क्षीण नहोस्, महापापीहरू पनि यहाँको स्नानले पवित्र होउन्” ।

गंगाले भोलेनाथप्रति हात जोड्दै भनिन्, “हे प्राणनाथ ! मलाई कीट, पतङ्ग, पशु आदि र मानिसले पनि भनौँ सबै प्राणीले मलमूत्र, बगाएर फोहोर गर्ने भए, ती सबै नरकगामी हुने भए, मैले त्यस्ता पापीहरूलाई कसरी पवित्र पारौँ, म आफैँ अशुद्ध भएर, म मलिन छु, मलमूत्रको जीवनी छ मेरो, अतः हजुर मसँग रहनुस्, मेरो छालले हजुरको सेवा, स्नान गराउन पाउँ” ।

गंगाको कारुणिक वेदना सुनेर शिवले भन्नुभएछ, “तिमीले स्थापना गरेको शिव लिङ्गको नाम जलेश्वर रहनेछ, तिमी यहाँ रहुन्जेल मसँगै हुनेछु, जो भक्तहरूले तिल, जौ, कुशसहित संकल्प गरेर यहाँ स्नान गर्नेछन्, तिनलाई कुनै दूषित दोष लाग्ने छैन, सबैले पूर्ण र इच्छामुताबिक फल पाउनेछन्” । यति वरदान दिएर शिव त्यहीँ अन्तध्र्यान हुनुभएछ । शिव मुखबाट वाग्द्वारदेखि बगेकी बागमती, उनको छालले हर समय शिवलाई स्नान गराउन पाउने वर पाएर निकै खुसी भइन् र गंगा रूपमा प्रवाहित भइन् । यसरी तमाम देव देवी र शिवबाट वरदान पाएकी बागमती संसारमै चोखी छिन्, पापनाशक छिन्, यी समान अरू नदी छैनन् ।

अघि एक महापापीले एक दिन गोहत्या गरेर मासु खायो, पापकै कारण दैत्य वाणासुरको पुत्र भएर जन्म्यो, जन्मँदै उसको ३ सिङ भएकाले उसको नाम त्रिशंकु रह्यो । पशुपति क्षेत्र घना जंगल सिकारकै क्रममा ऊ यस क्षेत्रमा आयो, प्राणीहरू वध गर्न थाल्यो । एक दिन बागमती स्नानमा रहेका देवताहरूमाथि नै वाण चलायो, देवताहरू भागाभाग गर्न थाले, तिर्खा लागेको उसले बागमतीको पानी पियो, पानीको पुण्यका प्रभावले उसलाई तुरुन्तै ज्ञान भयो शिव मन्त्र जप्दै आफ्ना वाण छोडेर मैले जीव घात गर्नु नहुने रहेछ भन्दै पश्चात्ताप गर्दै शिव प्रार्थना गर्न थाल्यो र भन्यो “मैले असंख्य पाप गरेँ, मेरो सबै पाप हे शिव नास गरिदेऊ” । त्यहीँ बसेर उसले १ वर्ष तप गर्दा कार्तिक शुक्ल अष्टमीका दिन श्री शिवले उसलाई दर्शन दिई “अब तिम्रा दुःख सकिए, तिमी मेरा अनुचर हुनेछौँ, म प्रसन्न भएँ” । यति आशीर्वाद दिई शिव त्यहीँ अन्तध्र्यान हुनुभयो, पछि शिव गणहरू आई उसलाई कैलाश लगे, दिव्य देह भयो उसको !

जलेश्वर शिव लिङ्ग बागमती नदीभित्र । गुह्येश्वरी उत्तर प्राङ्गण अगाडि धेरै देवदेवीका प्रतिमाहरू छन् । शिव लिङ्ग पनि छन्, केही दशक यता त्यहाँ वारि पारि गर्न फलामको पुल बनेको छ । अलिकति माथि जाऊँ, गुह्येश्वरी मन्दिर छ । सतीको गुह्य पतन भएको संसारकै प्रसिद्ध र पहिलो पीठ गुह्येश्वरी र गुह्येश्वरीको संयुक्त दर्शन गरी ब्रह्मा, विष्णु, रुद्रले आफ्नो सृष्टि, पालन र संहारको गुण, क्षमता प्राप्त गरेका हुन् । यहाँको बल प्राप्त गरी इन्द्रादी देवतालगायत दश दिक्पालहरूले सिद्धि प्राप्त गर्न सकेका हुन् । गुह्येश्वर शिव लिङ्ग माता गुह्येश्वरी अगाडि छ, सानो तर सुन्दर गुम्बज शैलीको मन्दिरभित्र शिव लिङ्ग रहेको छ, वाल चतुर्दशीमा विशेष मेला लाग्छ, मन्दिरमा सधैँ ! 

यसरी साउन महिना विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको गहिरो स्रोत हो । यो महिना भक्ति भाव, व्रत, तपस्या र संयमको अभ्यासमार्फत आत्म शुद्धिको अवसर बन्न पुगेको छ । पशुपतिनाथको दर्शन, अभिषेक र पूजा यस महिनामा झनै अर्थपूर्ण मानिन्छ, जहाँ भक्तजनको जनसागरले भगवान् शिवप्रति अगाध श्रद्धा पोख्छन् । साउनको प्रत्येक सोमबारको व्रत र शिव पूजा धर्म, संस्कृति र परम्पराको अभिन्न हिस्सा बनेका छन् ।

पशुपतिनाथ केवल एक मन्दिर होइन, यो सनातन आस्थाको धरोहर र आध्यात्मिक यात्राको केन्द्रीय केन्द्र हो । साउन महिनाले मानिसलाई सत्कर्म, समर्पण र भक्ति मार्गमा प्रेरित गर्छ । पशुपतिनाथमा देखिने भीड र आस्थाको ज्वारभाटा यस कुराको सजीव प्रमाण हो– अझै पनि नेपाली समाजमा सनातन आस्थाले गहिरो स्थान ओगटेको छ । यसरी साउन र पशुपतिनाथ एक अर्काका पर्यायजस्तै भएर मानव जीवनलाई आध्यात्मिक उचाइतर्फ उन्मुख गराइरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise