–भुवन भण्डारी
नेपालमा विदेश जाने प्रवृत्ति नयाँ होइन । तर, पछिल्लो दशकमा यो प्रवृत्ति होइन, लहर बनिसकेको छ । आज प्रत्येक सानो परिवारमा कम्तीमा एक जना त विदेशमै छन् । संयुक्त परिवारमा त दुईदेखि तीन जना विदेशिनु सामान्य भइसकेको छ । गाउँहरू सुनसान छन्, ढोकाहरू थुनिएका छन्, आँगनमा खेल्ने बालबालिका छैनन्, बचेका छन् त केवल बुढाबाआमा र सम्झनाले भरिएका निधारहरू ।
देशमा अवसर छैन भन्ने बुझाइले गर्दा युवा पुस्ता विदेशिन बाध्य भएको जस्तो देखिए पनि प्रश्न उठ्छ— के साँच्चै अवसर छैन त ? कतै हामीले प्रयास नै गर्न छाडेका त होइनौं ? लाखौँ रुपैयाँ ऋण उठाएर विदेश जाने सपना देख्छौँ, तर त्यही लगानी देशमै गरेर व्यवसाय गर्ने सोचलाई हामी किन गम्भीरतापूर्वक लिँदैनौँ ?
विदेश जान गाउँको जग्गाजमिन धितो राखेर ऋण पाइन्छ । आफन्तले पनि ऋण पत्याउँछन् । तर, देशमा व्यवसाय गर्ने हो भने बैंकले पनि पत्याउँदैन, आफन्त मुख फर्काउँछन् । कुनै पनि विचार वा योजनाभन्दा पहिला गोजीको मोटाइ हेर्ने परिपाटीले उत्साही युवालाई निरुत्साहित बनाएको यथार्थ नै हो ।
गाउँमा अब बालबालिका देखिन्नन् । पढ्ने उमेरका बालबालिकालाई सहरतिर बोर्डिङ स्कुलमा पठाइन्छन्, किनभने सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र सरकारी स्कुलमा पढेर केही हुँदैन भन्ने सोच व्यापक छ । अचम्म त के छ भने जनप्रतिनिधि र त्यही सरकारी विद्यालयमा पढाउने शिक्षकहरूसमेत आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउँछन् । आफूले बनाएको नीति र पढाएको शिक्षामाथि पनि विश्वास नगर्ने अवस्था बनिसकेको छ ।
सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै जाँदा कतिपय विद्यालय मर्ज भए, कतिपय तह घटाइए । लाखौँ खर्च गरेर बनाइएका विद्यालय भवनहरू सुनसान छन्, जीर्ण हुँदैछन् । झ्याल ढोका झुन्डिएका छन् । गाउँको बासिन्दा सहरमुखी बनेका छन्, खेत बाँझिएका छन् । विकास गाउँ पुगे पनि जनशक्ति भने गाउँ छोड्दै छन् ।
विदेशमा गएका सबैले सफलता पाउँदैनन् । केहीले राम्रो कमाए होलान्, तर एजेन्टको झुटा प्रलोभनमा परी छिट्टै धनी बन्ने सपनाले पुर्खाको थलो धितोमा राख्दा त्यो समेत गुमाएका छन् । अध्ययन, रोजगारी वा भविष्यको सपना बोकेर गएका हजारौँ युवा आज मानसिक तनाव, बेरोजगारी र कानुनी समस्यामा परेका तीतो यथार्थ हामीसँगै छ ।
अचम्म त के छ भने नेपालमा मान–अपमानको डरले जुन काम गर्न हामी हिच्किचाउँछौं, त्यही काम विदेशमा आत्मसम्मानका साथ गर्छौँ । होटेल, रेस्टुरेन्ट, क्लिनिङ वा स्टोरमा काम गर्दा हामी गर्व गर्छौँ, किनभने ‘यहाँ पैसा छ, कसैले देख्दैन’ भन्ने सोच हाबी हुन्छ । तर, के पैसा नै सबैथोक हो ?
हामी नेताहरूलाई गाली गर्छौँ, देशलाई दोष दिन्छौँ । तर, चुनाव आउँदा चाहीँ विचार होइन, पार्टी हेर्छौँ, पैसा हेर्छौँ । जनताले राजनीतिक विचारभन्दा पार्टी र पैसाको आधारमा मतदान गर्दा सच्चा परिवर्तनको सम्भावना हराएको छ, विचार गुमेको छ । राजनीतिक दलले पनि विचारको मूल्यांकनभन्दा पैसावालालाई अघि बढाउँछन् । यस्तो अवस्थाले इमानदार, लगनशील र देशप्रेमी युवाको स्थान कहिल्यै सुनिश्चित हुँदैन । सुधारको बाटोमा हिँड्न खोज्ने धेरै युवा निराश हुँदै विदेसिन्छन् ।
कोही विदेश नगएकै राम्रो भन्ने होइन । तर, विदेश जानुअघि वा गइसकेपछि आत्ममूल्यांकन आवश्यक छ— मैले जे मेहनत विदेशमा गरिरहेको छु, त्यही मेहनत देशमै गरेको भए के हुँदैनथ्यो ?
विदेशमा बस्ने धेरैले मनमनै महसुस गर्छन्— यत्तिको लगानी, दुःख र समर्पण यदि देशमै गरेको भए, बा आमाको साथमा रमाइन्थ्यो, गाउँको घर रित्तिँदैनथ्यो, पुर्खाको थलो बच्थ्यो ।
हामीले देशको दोष मात्रै होइन, समाधान पनि खोज्नुपर्छ । देशमै लगानी गरेर कृषि, पशुपालन, पर्यटन वा साना व्यवसाय गर्न सकिन्छ । अप्ठ्यारो छ, तर सम्भव छ ।
अब समय आयो— देश छोड्ने भीड होइन, देश बनाउने भीड बनौँ । गाउँ फर्कौँ, विश्वास फर्काऔँ, बढ्दै गएको निराशालाई आशामा बदलौँ अनि भविष्य फर्काऔँ— आफ्नै भूमि, आफ्नै माटोमा केही गरौँ ।
संघीयतामा स्थानीय सरकार निर्णय सामथ्र्ययुक्त बलियो संरचना हो । अब उपलब्धिहीन, कार्यकर्ता केन्द्रित, टुक्रे बजेट र पहुँचमुखी अनुदानको अन्त्य गर्दै स्थायी रोजगारी सिर्जना गर्ने स्थानीय उद्योग सञ्चालनमा अघि बढ्न आवश्यक छ । प्रत्येक वर्ष रोजगारी र सीपका नाममा खर्च हुने बजेट कागज र फोटोमा सीमित रहँदै आएको अवस्थामा अब वास्तविक समाधान खोजिनुपर्छ ।
गाउँ रित्तिँदै छन्, खेत बाझिँदै छन् र युवा विदेश पलायन भइरहेका छन् । यस्तो संकटको घडीमा पालिकाले आफ्ना स्रोत, सीप र साधनको प्रयोग गरी स्थानीय उत्पादनमा आधारित उद्योगहरू सुरु गर्नुपर्छ, जसमा बजेट व्यवस्थापन, कार्यान्वयन र विस्तारको जिम्मा स्थानीय तहले लिने र प्रत्येक वर्ष यसको दायरालाई फराकिलो बनाउँदै जानुपर्छ । यसरी गाउँमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्न सकिन्छ ।