२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

ल्हेन्दे खोलामा फेरि पनि बाढी, भोटेकोसी र त्रिशूली किनारमा हाइ अलर्ट जारी

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते ०८:२९
ल्हेन्दे खोलामा फेरि पनि बाढी, भोटेकोसी र त्रिशूली किनारमा हाइ अलर्ट जारी

काठमाडौँ : चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशूली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरे भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिले पनि बाढीको सतह उच्च नै रहेकाले रसुवा नुवाकोट धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन अनुरोध गरिएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय धादिङले पनि नुवाकोट विदुर नगरपालिका क्षेत्रमा पानीको बहाव उच्च रहेकाले सचेत रहन आग्रह गरेको छ ।

धादिङ जिल्ला तर्फ बढिरहेको हुँदा धादिङका गल्छी, गजुरी, सिद्धलेक, बेनिघाट रोराङ गाउँपालिका लगायत गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूले उच्च सतर्कता अपनाउन प्रहरीले जनाएको छ ।

गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशूली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ । बाढीले किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise