–नारायण अर्याल
हाम्रो दैनिक जीवनमा हरेक वस्तु तथा सेवाको खरिद गर्दा भुक्तानीको माध्यम बन्दै आएका मूल्य बोकेका नोटहरू कतै इतिहास त बन्दै छैनन् भन्ने महत्वपूर्ण परिदृश्य देखिन लागेको छ । विश्वबाट अहिले नै भौतिक मुद्राको अन्त्य त भैसकेको छैन तर, कारोबार वा संकलनको स्वरूपमा ठुलो परिवर्तन भने भएको छ । सूचना प्रविधिको विकाससँगै मुद्राको मूल्य र स्वामित्व कायम हुने गरी स्वरूपमा परिवर्तन भएको छ, अर्थात् भौतिक मुद्राहरू डिजिटल मुद्राको रूपमा रूपान्तरण भइरहेका छन् ।
अहिले एउटा मजदुरले आफ्नो मजदुरी बापतको मूल्य मालिकसँग भौतिक मुद्राको रूपमा बुझ्नुपर्ने र त्यसलाई खल्तीमा राख्नुपर्ने अभ्यासको लगभग अन्त्य भएको छ । साथै, मालिकले आफ्नो नाफाबापत आर्जन गर्ने ठुलो रकम पनि अब भौतिक मुद्राको रूपमा संकलन गर्नुपर्ने अवस्था छैन । त्यति मात्रै होइन, हाम्रो दैनिक जीवनमा आवश्यक खरिद तथा बिक्रीको प्रक्रियामा भुक्तानीका लागि दुई पक्षबिचमा भौतिक मुद्राको आवश्यक नै पर्दैन ।
अझ रोचक प्रसङ्ग, हामी हिन्दु नेपालीहरूको महान् चाड दशैं र तिहारको राष्ट्रिय माहौलमा प्रवेश गरेका छौँ । परम्पराअनुसार दशैंमा टिका लगाउँदा नाता–सम्बन्धअनुसार दक्षिणा दिने प्रचलन रहिआएको छ । त्यसरी दक्षिणा दिने प्रक्रियामा पनि पछिल्लो समयमा धेरैले डिजिटल दक्षिणाको प्रयोग गर्न थालिसकेका छन् ।
पछिल्लो समयमा देशका अधिकांश नागरिकको पहुँचमा बैंकिङ प्रणालीमा पुगेको छ । साथै, इन्टरनेटको कारणले डिजिटल बैंकिङको सुविधा पनि वित्तीय साक्षर भएका र प्रयोग गर्न सक्ने वा जान्ने सबै नेपालीको बिचमा पुगेको छ । सरकारले लामो समयदेखि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा जोडेको छ । जसले गर्दा वृद्ध वृद्धाहरू पनि बैंकिङ प्रणालीमा जोडिन आइपुगेका छन् । साना बालबालिकाहरू र फरक क्षमता भएका अशक्त व्यक्तिहरू बाहेक अधिकांश नागरिकहरू बैंकिङ प्रणालीमा जोडिन पुगेका छन् । यति मात्रै नभएर मोबाइल नम्बरको सहायताले बालबालिकाहरू समेत मोबाइल वालेटमा सञ्चालन गर्न अभ्यस्त भइसकेका छन् ।
यी सबै विषयहरू र व्यवहारिक अभ्यासलाई हेर्दा, देशको ठुलो जनसंख्याले आजको दिनमा आफ्नो हरेक कारोबारमा भौतिक मुद्रा नभएर डिजिटल लेनदेन गर्न थालेको पाइन्छ । जसले भौतिक मुद्राको प्रयोगलाई ठुलो मात्रामा घटाएको छ । विश्व नै दिनप्रतिदिन थप डिजिटल उन्मुख हुँदै गएको छ । जसले आजको तुलनामा भोलि मानिसहरूका क्रियाकलापहरू भौतिक रूपमा भन्दा पनि डिजिटलमा नै केन्द्रित हुनसक्ने देखिन्छ ।
अधिकांश विकसित मुलुकहरू औपचारिकदेखि अनौपचारिक काममा ‘पेपरलेस’को अभ्यास सुरु भइसकेको छ । हाम्रो देशले पनि पेपरलेसको अभ्यासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउँदै आएको छ । अहिले धेरै कार्यालयसम्बन्धी औपचारिक कामहरू पेपरलेस प्रक्रियामा नै हुन्छ ।
सूचना प्रविधिको तीव्र विकास र हामीले चढ्दै गरेका सिँढीहरूले हाम्रो माझमा निकै महत्वको रूपमा रहेको भौतिक मुद्रा, जो कागजी नोट र खनिजका मुद्राहरू निकट भविष्यमा अस्तित्वमा नै नरहन सक्ने अनुमान गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८०/८१ को असारमा तीन खर्ब ७३ करोड बराबरको मोबाइल बैंकिङ कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को असारमा त्यस्तो कारोबार एक खर्ब ६३ अर्ब बराबरको थियो ।
मोबाइल बैंकिङ मात्रै नभएर आर्थिक वर्ष २०८०/८१ को असार महिनामा कनेक्ट आइपिएसबाट भुक्तानी छ खर्ब ६६ अर्ब बराबरको भएको थियो, जुन प्रकृतिको भुक्तानी अघिल्लो आर्थिक वर्ष २०७९/८० को असारमा तीन खर्ब ६९ अर्ब बराबरको मात्रै भएको थियो । कनेक्ट आइपिएस, मोबाइल बैंकिङ मात्रै नभएर डिजिटल भुक्तानी प्रक्रियामा पछिल्लो समयमा इन्टरनेट बैंकिङ, वालेट, क्युआर कोड लगायतका विषयहरूको प्रयोग बढ्दै गएको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकले एक पटक प्रयोग भएका धेरै भौतिक मुद्राहरू दोस्रो पटक प्रयोग हुन छाडेको जनाएको छ । सोही कारणले नै अहिलेको दशैंमा नयाँ नोटसमेत नछापिएको एउटा कारण रहेको राष्ट्र बैंकको भनाइ छ । तथ्यांक र व्यवहारिक अभ्यासहरू हेर्दा भौतिक मुद्राको अस्तित्व चाहेर पनि बिस्तारै आवश्यक नहुँदै जाने हो कि भनेर सजिलै अनुमान गर्न सकिन्छ ।