यूएई : त्रिशूली समाज यूएईले कलेजो रोगबाट पीडित रस मया तामाङलाई ९० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले लामो समयदेखि विभिन्न प्रकारका रोगीहरू, शैक्षिक क्षेत्रमा गरिब तथा असाहयहरुका लागि आवश्यक सहायता प्रदान गर्दै आएको छ ।
नुवाकोटको म्यागङ गाउँपालिका-२ निवासी तामाङ विगत पाँच वर्षदेखि कलेजो रोगबाट पीडित भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् । थप उपचारका लागि आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै त्रिशूली समाज यूएईले आर्थिक सहायता संकलनको अभियान चलाएको थियो ।
गत आइतबार, अक्टोबर ६ तारिखका दिन, समाजका कोषाध्यक्ष मन माया तामाङ र सदस्यहरू रूबी तामाङको अगुवाइमा विभिन्न सदस्यलगायतले संकलन गरेको ९० हजार रुपैयाँ तामाङ समुदायका म्हेन्दोमाया कलाकार कीर्ति गुम्जा तामाङले रस माया तामाङलाई हस्तान्तरण गरेका थिए । यस अवसरमा कीर्ति गुम्जा तामाङले बिरामीको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
रस मया तामाङ हाल मेघागाउँपालिका-२ बुम्ताङमा बसोबास गर्दै आएकी छन् । कलेजो प्रत्यारोपणका लागि आर्थिक अवस्था कमजोर भएकाले थप सहयोगको आवश्यकता रहेको उनले बताइन् ।
त्रिशूली समाज यूएईले लामो समयदेखि नेपाली समुदायलाई विभिन्न समस्यामा आर्थिक सहयोग गर्दै आएको छ । समाजका अध्यक्ष लोकेन्द्र तामाङले यस सहयोग अभियानमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र समर्थनको अपेक्षा राखेका छन् ।