२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

जनतामा आएको संकटलाई न्यूनीकरण गर्न सरकार लागिपरेको छ : मुख्यसचिव अर्याल

ADV
मध्यान्ह
२०८१ असोज २३ गते १८:०६
जनतामा आएको संकटलाई न्यूनीकरण गर्न सरकार लागिपरेको छ : मुख्यसचिव अर्याल

काठमाडौंः सरकारका मुख्यसचिव एकनारायण अर्यालले चाडबाडको समयमा पनि जनतामा आएको संकटलाई न्यूनीकरण गर्न सरकार लागिपरेको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज काठमाडौंमा आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१, को सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् । 

उनले विपत्तिले धनजनको क्षति मात्र नभइ मानवीय क्षति पति अधिक भएकोप्रति दुःख व्यक्त गरे । चाडबाडको समयमा मूल्य बढाउने, भाडा वृद्धि गर्ने जस्ता क्रियाकलाप भइरहेको गुनासो आएको बताउँदै उनले त्यस्ता कार्य गर्नेलाई कारबाही गरिने बताए । साथै उनले सकारात्मकरुपमा समाचार सम्प्रेषण गर्न र सरकारका कमी कमजोरीलाई केलाएर सुझाव दिन सञ्चार क्षेत्रलाई आग्रह पनि गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यले विपत्तिको पूर्व तयारी गर्नुको सट्टा विपत्ति भइसकेपछि त्यसको पछाडि दौडिने प्रचलन रहेको बताउँदै सत्तामा बसेकाहरुलाई झकझक्याउन पत्रकारको भूमिका रहेको हुँदा सशक्तरुपमा कलम चलाउन आग्रह गरिन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले अहिलेको विपत्तिबाट पाठ सिकेर आगामी विपत्तिका लागि तयार हुनुपर्नेमा जोड दिए । 

यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नियमित ढंगले बजार अनुगमनमा गरिरहेको बताए । उच्च नेतृत्व बलियो भएमात्र कर्मचारीले गुणस्तरीय रूपमा काम गर्ने बताउँदै उनले बजारमा यदि कुनै उपभोक्ता ठगिए सिधै ११३७ मा सम्पर्क गर्न आग्रह गरे । 

समाचार पत्रका संपादक सागर पण्डितले सरकारले सुशासन कायम भए नभएको जनताले पाउने सेवामा खोज्न जरुरी रहेको बताए । भने, ‘गाडीको टिकट लिने बेला जनतालाई अप्ठ्यारो परेको छ कि छैन, सहजरुपमा घर जान पाएका छन् कि छैनन् भन्ने कुरालाई ध्यान दिनुपर्छ । आजको दिनमा सुशासन भनेको बाटोघाटोमा खोज्न पर्छ ।’ 

जनताले राहत पाए कि पाएनन्, बजार अनुगमन भइरहेको छ कि छैन र मूल्य वृद्धिको विषयलाई पनि सरकारले प्राथमिकतामा राखी सम्बन्धित निकायले कानूनको परिधिमा रही जनताको लागि कार्य गर्नुपर्ने उनको भनाइ थियो् । यस्तैतराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईंले बाढी पहिरोबाट पीडितहरुको अवस्था सुधारका लागि सरकारले चलिरहेको कदमबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य,  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।


 

ADVADV

सम्बन्धित खबर

Advertise