२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पछि हट्यो रास्वपा

ADV
जानकी पाठक
२०८१ कार्तिक १० गते ०६:२५
पछि हट्यो रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप बदल्ने भएको छ । एक सातादेखिको सडक प्रदर्शनमा रहेको रास्वपाले बिहीबार प्रदर्शन नै स्थगित गरेको छ । सहकारी बचत रकम हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पार्टी सभापति पक्राउ परेलगत्तै सडक प्रदर्शनमा उत्रिएका रास्वपाका नेता÷कार्यकर्ताहरू एक सातामै ब्याक भएका हुन् । 

लामिछाने एक सातादेखि प्रहरी हिरासतमा छन् । उनको हिरासत अवधि कति हुन्छ भन्ने यकिन छैन । बिहीबार मात्रै कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यसअनुसार लामिछाने कातिक १४ गतेसम्म हिरासतमा रहनेछन् । १५ गतेदेखि तिहारको बिदा छ । त्यसपछि अदालत १९ गतेसम्म बन्द रहन्छ । २० गतेमात्रै लामिछानेको सम्बन्धमा हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा प्रस्ताव पुग्छ । त्यसपछि प्रहरीले लैजाने समयमा आधारमा अदालतले आदेश दिनेछ । 

यसबीचमा रास्वपाले सभापति पक्राउ भएपछिको राजनीति र पार्टीले गरेको आन्दोलनको समीक्षा गर्नेछ । संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ । यति लामो समय लामिछाने हिरासतमा रहे भएपछि रास्वपाले आन्तरिक समीक्षा गर्न लागेको हो । 

रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ । पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई काठमाडौंमा निरन्तरता दिने भनिएता पनि रास्वपाले एकास्सी प्रदर्शन स्थगित गरेको हो । 

काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । तर प्रदर्शन स्थगित गर्नुको कारण आन्तरिक समीक्षाका लागि भएको श्रेष्ठले बताए । उनका अनुसार अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्नेछ । 

उनका अनुसार विरोध कार्यक्रम गर्नका लागि उपत्यकामा पार्टीको एउटा संरचना बनाएर त्यसमा गर्ने सम्भावना खोजिनेछ । रास्वपाले पार्टी सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी मुद्दा चलाएको आरोप लगाउँदै आएको छ । 

लामिछाने यही कातिक २ गते पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो ।

त्यसआधारमा काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो । कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise