२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गठबन्धन सम्हाल्दै प्रचण्ड

ADV
शिव विक
२०८१ असार ४ गते ०६:४५
गठबन्धन सम्हाल्दै प्रचण्ड

काठमाडौं : संघीय संसदमा आगामी आर्थिक बर्षको बजेटमाथि छलफल चलिरहेको छ । सातै प्रदेश सरकारले पनि बजेट घोषणा गरेका छन् । 

सरकारको बजेटमाथि प्रमुख प्रतिपक्षी दलबाट भन्दा ज्यादा सत्तारुढ दलबाटै आलोचना हुने अवस्था देशभर बनेको छ । यसको कारण सत्ता गठबन्धनमा रहेका दलहरुबीचको अविश्वास र बेमेल रहेको कतिपयको टिप्पणी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने बजेटमा सत्तारुढ दलभित्र असन्तुष्टि नरहेको टिप्पणी गर्दै हिँडेका छन् । संघीय सरकारले ल्याएको बजेटमा प्रमुख सत्ताघटक एमाले र एमाले अध्यक्ष कपी शर्मा ओलीले नै असन्तुष्टि जनाएका छन् । 

आइतबार मात्रै अध्यक्ष ओलीले आफूहरु विकास र समृद्धिका लागि सरकारमा गएको, तर सरकारले पछिल्लो तीन वर्षमा गरिबीको प्रतिशत तीन प्रतिशत बढेको भनेर सार्वजनिक रुपमै सरकारको आलोचना गरेका थिए । यस्तोमा सरकारले ल्याएको बजेटले फेरि पनि गरिबी घटाउने योजना नल्याएको उनको टिप्पणी थियो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्ति सही नभएको बताए । तर ओलीको अभिव्यक्तिको काउण्टर गर्दा प्रधानमन्त्री प्रचण्ड बडो होसियार देखिन्थे ।

चितवनमा पत्रकारहरुले प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले बजेटप्रति राखेको धारणाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’ मात्रै गरेको प्रतिक्रिया दिए ।

‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन’ प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको दाबी पनि गरे ।

प्रधानमन्त्री प्रचण्डलाई प्रमुख सत्ताघटक एमालेलाई सम्हालेर मात्रै पुग्दैन् । सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि साथै लिएर जानुपर्छ । त्यसकारण उनी रास्वपाका नेताहरुको सरकारप्रतिको टिप्पणीमा पनि नरम भएर प्रतिक्रिया दिइरहेका हुन्छन् । 

गत शनिबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठल आफूहरु राजीनामा पत्र बोकेर हिडेको बताएका थिए । रास्वाभित्र सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने आवाज उठेको पनि बताएका थिए ।

उनले भनेका थिए, ‘अनाधिकृत हिसाबले कुनै सम्झौता गर्नुपर्‍यो भने रास्वपा सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, राजीनामा पत्र बोकेर हिँडेका छौं ।’ आइतबार मन्त्री श्रेष्ठको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारबाट नबाहिरिने बताए ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नेक्रममा प्रधानमन्त्री प्रचण्डले ‘राजीनाको कुरा त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’ 

अर्थात्, रास्वपाले भन्नका लागि भनेको सरकार छोड्ने अवस्थामा नरहेको प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण छ । तर प्रचण्डसँगै समाजवादी मोर्चामा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डको बाध्यतालाई झल्काउँछ ।

आइतबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘प्रचण्डजीलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भनिरहन्छन् ।’ 

बजेट अर्थमन्त्री वर्षमान पुनले ल्याएको तर, त्यसमा माओवादीकै नेताहरुले ठीक छैन भनेको, गठबन्धनमा दलका नेताहरुले ठीक छैन भनेको स्मरण गर्दै उनी थप्छन्, ‘बजेट अर्थमन्त्रीले ल्याएको होइन, मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ? यसको कारण गठबन्धन नै हो । गठबन्धनमा रहेका दलहरुलाई चित्त बुझाउन गाह्रो छ ।’ 

अहिलेको अवस्था बुझेरै आफूले आम चुनाव लगत्तै प्रचण्डलाई ढुक्कले पाँच वर्ष सरकार चल्ने गरी आफैँ नेतृत्व लिन वा अर्को दलाई समर्थन गर्न सुझाएको बताए ।

‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस्’ उनी भन्छन्, ‘अहिले पनि प्रचण्डजीलाई ५ वर्ष चलाउनुस् भनेर दिइयो भने सायद सरकार राम्रो चल्छ ।’  

पुष्पकमल दाहाल प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । १७ महिनादेखि सरकारको नेतृत्वमा रहेका प्रचण्ड ढुक्कले काम गर्न सकिरहेका वा पाइरहेका छैनन् । कारण सरकारको नेतृत्वमा रहनका लागि गठबन्धन फेरिरहनु परेको छ भने गठबन्धनमा रहेका दलहरुलाई सम्हाल्नु प्रमुख कार्यभार बनेको देखिन्छ । 

पछिल्लो समय बजेटलाई लिएर गठबन्धनमै रहेका दलहरुको असन्तुष्टि र त्यसलाई महतव दिन आवश्यक नरहेको प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया प्रचण्डको गठबन्धन सम्हाल्नुपर्ने बाध्यताको उदाहरण भएको नेताहरु नै बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise