-इन्द्रकुमार श्रेष्ठ सरित्
अप्रयात्सित दृश्यले शरण शर्माको छातीमा भ्वाक्कै हिर्कायो । छातीमा उठेको पीडाले गर्दा ऊ पक्लकै ढल्यो । उसको मस्तिष्कलाई यो दृश्यले किचिमिचि नै पार्यो । कहालीलाग्दो दृश्य देख्दा नतः उसले ऐया भन्न सक्यो, नतः आत्था भन्न नै सक्यो । छातीमा असहनीय पीडा उम्लिँदा आँसु बनेर शरण शर्माको आँखाबाट पोखियो । ऊ लमतन्न भूइँमा लडिरह्यो । आँखा अगाडि कोइलाजस्तो कालो छाइरह्यो । कोही आएनन् उसलाई उठाउन । उसले पनि उठ्ने उपक्रम गरेन । जीवनको कुनै मोडमा यसरी अप्रयात्सित पीडित र निरीह भएर लम्पसार पर्नुपर्ला भन्ने उसले कल्पना पनि गरेको थिएन । डाक्टरले चेकजाँच गरेर दिएको औषधीले ऊ रातभरि बेसुध भएर सुतेछ ।
आजभन्दा करीव ३५ बर्षअघिसम्म ताप्लेजुङ र संघीय राजधानी काठमाडौंको दूरी कहालीलाग्दो नै थियो । त्यो कहालीलाई चिर्दै शरणले यही सहरमा माष्टर्ससम्मको पढाई पूरा गर्यो । करीब दश वर्षसम्म सानोतिनो गैरसरकारी संस्थामा जागिर खाँदै जीवनको तलाउमा आफूलाई हेलाइरह्यो । करीब एक दशकपछि उसको जीवनमा निकै ठूलो खुसी आयो, बहार आयो । लब्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा आबद्ध भएपछि उसको आर्थिक अवस्था पनि उकासिँदै गयो । यसैक्रममा अभिनेत्री सीताष्मा सेठसँग उसको भेट भयो । पहिलो भेट मित्रतामा परिणत हुँदै विवाहमा परिणत भयो । शरण ओछ्यानमै गुडुल्किएर एलबमका पानाहरू पल्टाएर बितेका दिनहरूलाई फेरि वर्तमानमा पढिरहेछ, देखिरहेछ, मनमा सुम्सुम्याई रहेछ ।
सानो तर, चिटिक्क परेको घरलाई सीताष्माले आफूमा भएको कलाको प्रयोग गरेर झनै सुन्दर बनाइन् । यो सुन्दर घरआँगनमा खेल्न दुई फूल पनि पालैपालो फक्रिए । कार्यालयको कामले दिनभरिको भागदौड र थकानलाई आफ्ना दुई औरस मुस्कुराएको देखेर शरणले सबै बिर्सिन्थ्यो । सीताष्माजस्ती गुणवती, ममतामयी र स्नेहालु जीवनसाथी पाएर शरण त्यसैत्यसै दंग थियो ।
‘आज त नानीबाबुहरू चाँडै सुते । हजूरको लागि खाना पस्किउँ ?’’ सीताष्माको प्रश्नको जवाफमा शरणले उनलाई तानेर आफ्नो काखमा राख्छ । शरणको आशय बुझेपछि सीताष्माले मुस्कुराउँदै हात छुटाएर खाना पस्किन जान्छिन् ।
साढे तीन दशकको अवधिमा शरण हाङपाङ, ताप्लेजुङ साढे तीन पटकमात्रै नै पुग्यो होला । बेला–बेलामा ऊ आमाबुबालाई राजधानी झिकाउँछ । छोराबुहारी र नातिनातिनाको संगतमा बूढाबूढीले गाउँ फर्किनै बिर्सन्छन् तर व्यवहारले उनीहरूलाई बलजफ्ती हाङपाङ डोर्याइहाल्थ्यो । आमाबाबुका लागि शरणले पैसा र ओखतीमूलोमा कहिल्यै कञ्जुस्याई गरेन भने शरणको निर्णयमा सीताष्माले पनि कहिल्यै हस्तक्षेप गरिनन् । आर्थिकरूपले सम्पन्न, मायापे्रमले भरिपूर्ण र सन्ततिले काख परिपूर्ण भएको शरणको परिवार कतिका लागि उदाहरणीय थियो भने कतिका लागि ईश्र्याको विषय पनि थियो । तर, उसले आफ्नो घर, परिवार र कर्तव्य र जिम्मेवारीबाहेक अरु केही देखेन र केही साेंचेन पनि ।
चियाको मुनाझैं छोराछोरी हुर्किँदै गए । छोरीछोरी दुबै कलेज जान थालेपछि फुर्सदको समयलाई सदुपयोग गर्न सीताष्माले पनि सानोतिनो अनलाइन व्यापार सुरु गरिन् । यस काममा सीताष्मालाई उनको भिनाजु रामअवतार अग्रवालले पनि साथ दिए । सीताष्माको मन पनि भुलिने र दुई पैसा आम्दानी पनि हुने सीताष्माको योजनामा शरणले आपत्ति जनाएनन् बरु सहमति नै दिए । त्यसैले व्यापारका लागि लुगा कपडा लिन उनी महिनामा एक पटक भिनाजु रामअवतार अग्रवालसँग कहिले दिल्ली त कहिले सुरत जान थालिन् । सीताष्माको काममा शरणले कहिल्यै हस्तक्षेप गरेनन् । कुनै प्रश्न पनि गरेनन् । उनी काममा व्यस्त हुन थालेपछि नानीबाबुको हेरचाहका लागि देउकीलाई सहयोगीका रूपमा राखेका थिए । अधवैंश देउकीसँग केटाकेटी पनि निकै झ्याम्मिएका थिए । उनी पनि केटाकेटीलाई निकै मायालु पाराले हेरचाह गर्थिन् ।
‘अनलाइन व्यापार सोंचेभन्दा राम्रै भैराछ, एकजना सहयोगी राख्न पाए हुन्थ्यो’, बिहानीको चिया समयमा सीताष्माले शरणसँग सहमति चाहिन् ।
‘व्यापार राम्रो भएको त राम्रो हो नि । सहयोगी नै चाहिएको हो भने विचार गर तर नानीबाबुहरूलाई पनि अलि ध्यान देऊ है । दुबैको अल्लारे बल्लारे उमेर छ’, शरणले सीताष्मालाई नियालेर हेर्दै भन्यो ।
दुबैको सल्लाहमा एउटी किशोरी रूपा झा पनि सहयोगीको रूपमा शरण—सीताष्माको घरमा आइन् । फुर्सदको समयमा टिकटक फेसबुकजस्ता सामाजिक सञ्जालमा व्यापार प्रवद्र्धन गर्न सीताष्मालाई रूपा र देउकीले पनि सघाउन थाले । केटाकेटी कलेज जानेबित्तिकै सीताष्मा व्यापारको प्रचार प्रसार गर्न टिकटक लाइभमा बस्न थालिन् । टिकटक लाइभबाटै पनि उनले राम्रै आम्दानी गर्न थालिन् । केटाकेटीलाई भने आमाको व्यापार व्यवसायमा खासै रुची थिएन । उनीहरू घर, कलेज, पढाई र आफ्नै साथीभाईहरूको समूहमा रमाइरहेका थिए । उनीहरूका कतिपय साथीहरू घरमै पनि आइरहेका हुन्थे ।
‘सीता १ अफिसको कामले एक हप्ताका लागि हङकङ जानुपर्ने भयो । भिसा पनि रेडी भैसक्यो । भोलि नै जानुपर्छ । व्यस्तताले मैले तिमीलाई भन्न भ्याएको थिइन । मेरो आवश्यक सामान प्याक गरिदेऊ है’, शरण कार्यालय हिँड्ने बित्तिकै सीताष्मा कसैसँग फोनमा व्यस्त भइन् । छोराछोरी कलेज गए कि गएनन् भन्ने पनि उनले थाहा पाइनन्, देउकीले भनेपछिमात्र उनले थाहा पाइन् । शरण हङकङ गएपछि सीताष्मा झन् रातरातभरि टिकटक लाइभमा व्यस्त हुन थालिन् । त्यस्तो बेलामा केटाकेटीको ध्यान देउकीले नै राख्थिन् ।
‘देउकी, आज रातको खानामा पाउना आउँछन् । त्यसैले बजार गएर माछा, मासु र आवश्यक सबै सामान लिएर आइज । ला, मैले याँ ‘लिष्ट बना’की छु’, देउकी बजार गएपछि सीताष्माले छोराछोरीलाई फोन लगाइन्, तर दुबै जनाले फोन उठाएनन् । त्यसपछि सीताष्माले टिकटकमार्फत् अर्डर गरेको सामान कुरियरबाट पठाउनलाई प्याक गर्न थालिन् । सामान प्याक गरिसक्दा बजारबाट देउकी पनि फर्किन् ।
‘मासु राम्रो ल्याइस कि त ?’, सीताष्माले झोला हेर्दै सोधिन् । ‘सामान राखेर भुजा पस्किहाल है ।’
‘फल मासु नै ल्या’की छु नि, हजूर । हस्, हजूर । म पस्किहाल्छु ।’
साँझमा खाना खानेगरी कतिजना पाहुना आउने हुन् भन्ने जानकारी पाएपछि आफूले जानेसम्म देउकीले माछा, मासु लगायतको परिकार निकै मिहिनेतपूर्वक तयार पारिन् । झमक्क साँझ नपर्दै रामअवतार आफ्नो स्कोरपिओ चढेर आइपुगे । स्वागतमा पहिला शैम्पेनको बोतल खोलियो । शैम्पेनपछि विदेशी ह्वीस्कीको बोतल रित्तिन थाल्यो । केटाकेटी खाएर सुतिसकेका थिए । रूपा पनि आफ्नो डेरा गैसकेकी थिइन् । आधारात भएपछि आफूहरूले खाना नखाने र देउकीलाई पनि गएर सुत्न आदेश प्राप्त भयो । रामअवतारले पनि यतै विश्राम गरे । शरण नफर्किउञ्जेल दिनहुँ यो क्रम चलिरह्यो । एक हप्तामा शरण हङकङबाट फर्किएपछि यो क्रम पनि रोकियो, आँधी आउनुअघिको मौनताजस्तै ।
त्यही मौनता तोड्दै घरमा ठुलै आँधी आयो । जीवनमा पहिलोचोटी शरणले सीताष्मामाथि हात उठाए । प्रतिक्रियामा उनले घरके टोलै उचालुँलाझैं गरिन् । उनी आफ्नो डाँकोले नै शरणलाई जित्न खोजिरहेकी थिइन् तर आफू हङकङमा हुँदा नै प्राप्त भएको भिडियो सीताष्मालाई देखाई दिएपछि उनी घाममा परेको पालुंगो सागझैं लत्यालुतुक भइन् ।
‘बेइज्जती चरित्रहीन आईमाई । तँ यो हदसम्मको नीच र पतीत होलिस् भन्ने मैले सोंचेकै थिइन । यसकै आधारमा आज नै र अहिले नै म तँलाई डिभोर्स दिन सक्छु तर छोराछोरीको मुख हेरेर म त्यसो गर्दिन’, बाबुआमाको झगडालाई चियाइरहेका छोराछोरीहरूलाई अंगालो हालेर बैठक कोठातिर लाँदै उसले भन्यो, ‘तिमीहरू टेन्सन नलेओ, यो लोग्नेस्वास्नीको झगडामात्र हो । पछि सबै ठिक हुन्छ । छिटो खाजा खाएर तिमीहरू कलेज गैहाल है । तिमीहरूले मामुलाई केही नभन्नु है ।’
शरण आज कार्यालय पनि गएन । गम खाएर धुम्धुम्ती बैठकमा बसिरह्यो । सीताष्माको कुनै कुराको पनि उसले जवाफ दिइरहेको थिएन । सीताष्माले फेरि प्रतिक्रिया देखाउन थालेपछि उनलाई पर धकेल्दै भन्यो, ‘म तँजस्तो पतीत र भ्रष्ट हैन । मेरो ज्यान गए पनि यो कुरा म छोराछोरीहरूलाई भन्दिन र आजदेखि तेरो टिकटक र अनलाइन व्यापार सबै बन्द गर नत्र मैले के गर्छु तैंले कल्पनासम्म पनि गर्न सक्दिनस् ।’
माया, पे्रम र विश्वासको धागोले एक बनाएर राखेको परिवार छिन्नभिन्न नभए पनि एकाएक मौन हुन पुग्यो । हार्दिकरूपमा सबैजना एक अर्कासँग टाढा–टाढा हुन थाले । शरणले जत्ति नै मायाको लिउन्ले लिप्न खोजे पनि छोराछोरी ऊदेखि पनि अलि पर पर हुँदै जान थाले । छोराछोरी हरेक कुरामा डराएजस्तो, धकाएजस्तो र बाबुआमासँग चिढिएजस्तो देखिन्थे । यस कुराले शरणलाई झन् पीडा दिइरहेको थियो । तैपनि घरको वातावरण अरु नखलबलियोस् भन्ने कुरामा ऊ हरदम सचेत थियो । किनकि सीताष्मामाथिको उसले राखेको विश्वासको पहाड गल्र्याम्मै ढलिसकेको थियो भने उनको व्यवहारबाट पनि शरण सन्तुष्ट हुन सकिरहेको थिएन । यही समयमा एक दिन कलेज गएकी छोरी संस्कृति घर फर्किनन् । आफन्त, छिमेकी र साथीभाई चारैतिर खोज्दा पनि नभेटेपछि प्रहरी प्रशासनको शरणमा पर्दा पनि संस्कृतिको अत्तोपत्तो चलेन । करीब दुई हप्तापछि अञ्जान नम्बरबाट फोन गरेर संस्कृतिले आफ्नै स्वेच्छाले अमेरिकी नागरिक अल्बर्ट जोनाससँग विवाह गरेको र तीन÷चार महिनापछि घरमा भेट्न आउने कुरा गरेपछि शरणले फोन आएको लोकेशन पत्ता लगाउने धेरै कोशिस गर्यो तर, सकेन । स्वेच्छाले विवाह गरेर गएको भनेपछि प्रहरीले पनि संस्कृतिलाई खोजतलाश गर्ने जाँगर देखाएन, फलस्वरूप शरणले जिन्दगीमा पहिलो चोटी रक्सीलाई साथी बनायो तर सीताष्मासँग यस बारेमा कुनै कुरा गरेन । ऊ बिछ्यौनामै बसेर रक्सीसँग आफ्नो पीडा साटिरहेको बेलामा देउकीले आएर उसलाई ग्वाम्मै अँगालो हालिन् ।
‘देउकी, यो के गरेकी ? तँ होस्मा त छेस् ?’, देउकीलाई झड्कारेर पर हुत्याउँदै शरण जंगियो ।
‘म होसमै छु हजूर । हजूरलाई मैंसाब र रामअवतारको भिडियो पठाएर वास्तविकता जानकारी गराएको पुरस्कार दिनुहुन्न मलाई ?’ देउकीले नखरा पार्दै भनिन् ।
‘ए, कुरा त्यसो पो ? ठिक छ यो महिनाको तलब दिँदा एक महिनाको तलब बराबरको रकम इनाम स्वरूप दिउँला । अहिले तँ यो कोठाबाट गैहाल र अब आइन्दा यस्तो हर्कत गरिसभने राम्रो हुन्न ।’ देउकीले अरु प्रतिक्रिया देखाउन खोज्दै थिइन्, शरणले उसलाई बलपूर्वक कोठाबाहिर गलहत्याई दियो । ऊ आग्नेय नेत्रले शरणलाई हेर्दै त्यहाँबाट बाहिरिई ।
धेरै दिनपछि छुट्टीको दिन बाबुछोरा आमनेसामने भए । देउकीलाई कामबाट निकालिसकेको हुनाले भात भान्साको काम रूपाले सम्हालेकी थिइन् । त्यसैले बाबुछोराका लागि शरणले कफी बनाएर ल्यायो र एउटा कप आफूले लिएर एउटा कप छोरो शशांकलाई दियो । ‘बाबु, अब तिम्रो फाइनल एक्जाम कहिलेदेखि हो नि ?’
‘अर्को हप्तादेखि हो, बाबा । बाबा, संस्कृतिको फोन आएको थियो । उसको त हस्बैन्डसँग डिभोर्स भएछ । अहिले ऊ अमेरिकामै रहिछे । एउटा इण्डिएनको रेष्टुरेन्टमा काम गर्छिन् अरे ।’, छोराको कुरामा शरणले कुनै प्रतिक्रिया व्यक्त गरेन । बरु उसले छोरालाई सोध्यो, ‘अनि बाबु । ब्याचलर सकेपछि माष्टर केमा गर्छौ ? के सोंचेका छौ ? कि विवाह गर्ने सोंचमा छौ ?’
‘म जे गरे पनि हजूरसँग सल्लाह गरेरै गर्छु, बाबा ।’, छोराको कुरा सुनेर शरणले सस्नेह छोराको गाला सुम्सुम्यायो र अँगालोमा बेर्यो, ‘बाबु, अब तिमी नै एकमात्र मेरो आशा र भरोसा हौ ।’
छोरीको अवस्था सुनेर शरणको छाती चिरियो तर, घर छाडेपछि जम्माजम्मी एक पटकभन्दा उसको छोरीसँग दोहोरो कुराकानी भएको छैन । उसले बुझेको छ, जिन्दगीमा पहिलोचोटी आमाबाबुको झगडा देखेकी छोरीले त्यो झगडामा दोषी बाबुलाई नै ठानेकी छ । शरणले चाह्यो भने छोरीको त्यो भ्रम हटाउन नसक्ने हैन तर त्यसोगर्दा छोरीको दृष्टिमा आमाको इज्जत र गरिमामा ह्रास आउने यथार्थबोधले उसले यो सत्यको उद्घाटन जीवनपर्यन्त नगर्ने अघोषित बाचा आफूले आफूसँग नै गरेको छ ।
अचेल बाक्लै रूपमा आइरहने छोराका साथीहरूका बारेमा पनि शरणले शशांकसँग निकै जिज्ञासा राखिसकेको छ । उसलाई अचम्म पनि लाग्छ, शशांकको कुनी केटी साथी नै छैनन् कि भए पनि उसले तिनीहरूलाई घरमा ल्याउन नचाहेको हो ? घरमा त उसका केटा साथीहरूमात्र आउँछन् ? तर बिस्तारै–बिस्तारै सामान्य हुँदै गएको छोरोलाई अरु प्रश्न सोधेर उसले हैरान बनाउन चाहेन । किनकि छोरो घर बाहिर जानेबित्तिकै सीताष्माको प्रतिक्रिया सुरु भैहाल्छ । रुने, कराउने र शरणलाई धम्क्याउँदै ऊ भोक हडतालमा उत्रिए पनि शरणले कुनै प्रतिक्रिया व्यक्त गर्दैन । घरमा यत्ति ठूलो काण्ड घटे पनि उसले सीताष्मालाई लाउन, खान, बोल्नमा प्रतिबन्ध लगाएको छैन मात्र उनलाई घर बाहिर जान र अनावश्यक मानिसलाई घरमा बोलाउन निषेध गरेको छ । यही कुरामा नुनचुक लगाएर उसले माइतीलाई पनि सुनाइन् तर, आफूलाई धेरै दवाब दिए विषय छोडपत्रसम्म पुग्ने कुरा रौद्ररूप धारण गर्दै शरणले बताएपछि माइतीपक्ष पनि एक कदम पछाडि हट्न बाध्य भए ।
सधैँ मायाको मिठासयुक्त मधुर हाँसो गुञ्जिने घरलाई अचेल मौनताले जितेको छ । केही पो भइहाल्ला कि भन्ने त्रासले गाजेजस्तो मनहरू त्यसैत्यसै सन्त्रस्त छन् । मैले माया दिएँ, मन दिएँ, तन दिएँ, धन दिएँ, इज्जत दिएँ तैपनि किन उनले यस्तो कदम उठाइन् ? मबाट के कमी भएको थियो र ? किन उनले कहिल्यै नमेटिने घाउ दिइन ? वाइनको प्रत्येक घुँटमा शरण आफैलाई प्रश्न गर्छ, तर आफैले गरेको प्रश्नको उत्तर ऊ आफैसँग छैन । जोसँग उत्तर छ, उसले नाटक गरेर जवाफ ओकल्नै चाहँदैन । आफूभित्रको आक्रोशलाई ऊ वाइनको गिलास भूइँमा बजारेर शान्त गर्छ ।
शशांकको स्नातक तहको अन्तिम परीक्षा चलिरहेको छ । परीक्षाकै बेलामा पनि शशांकले आफूलाई केही भन्न चाहेको जस्तो नलागेको होला शरणलाई तर परीक्षा चलिरहेकोले उसको पढाईमा बाधा होला भनेर उसले केही सोधेन, बरु दत्तचित्त भएर पढ्नमात्र भनिरह्यो । भोलि त उसको अन्तिम परीक्षाको दिन हो त्यसैले परीक्षा सकिएपछि ऊ साथीहरूसँग घुमघाम गरेर अलि ढिलोमात्र घर आउने कुरा उसले शरणलाई भनिसकेको थियो ।
शरण कार्यालयबाट समयमै घर आइसकेको थियो । छोराको परीक्षा समाप्त भएकोले उसलाई मनपर्ने खानेकुरा बनाउन शरणले रूपालाई अह्राईसकेको थियो । छोरा घर फर्किने बाटो हेर्दाहेर्दै शरणको अगाडि रहेको बोतलको वाइन धेरै घटिसकेको थियो तर शशांक अझै घर आएको थिएन । राति दश बजेतिर घरको घण्टी बजेकोले ऊ आफैले ढोका खोलिदियो । तर बाहिरको दृश्य देखेर ऊ अवाक भयो । उसको बक् फुटेन । माइल स्टोनझैं ऊ ढोकामा उभिएको उभिएै भयो ।
‘मैले बिहे गरेँ, बाबा । जत्ति नै माया दिए पनि धोका दिने स्त्री जातिलाई के जीवन साथी बनाउनु भनेर सलिन सिंहलाई मैले जीवनसाथी बनाएर ल्याएँ । हामीले मन्दिरमा विवाह गर्यौं । अब उसलाई यो घरमा भित्र्याउँनु हुन्न त, बाबा ?’, आफ्नो सुकुमार छोरोभन्दा पनि मुस्टण्डे केटो छोरोले जस्तै माला र टिका लाएर कैलो जुँगा फुरफुर पारेर शरणलाई हेर्दै मुसुमुसु मस्कुराइरहेको थियो । अप्रयात्सित देखापरेको यो दृश्यले शरण शर्माको छातीमा भ्वाक्कै हिर्कायो । छातीमा उठेको पीडाले गर्दा ऊ पक्लकै ढल्यो ।