२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

गर्नैपर्ने बहस

ADV
मध्यान्ह
२०८१ कार्तिक ३० गते ०७:५७
गर्नैपर्ने बहस

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादीको सचिवालय बैठकमा सहभागी भएर पार्टीमा भूमिका खोजेको सूचना सार्वजनिक भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निवासमा बसेको पदाधिकारी बैठकमा पूर्व उपराष्ट्रपति पुन सहभागी भएको र भूमिका मागेको सूचनाबारे थप खण्डन सुनिएको छैन । यसबाट पूर्व उपराष्ट्रपति पुनले फेरि राजनीतिमा सक्रिय हुने मूड बनाएको बुझ्न सकिन्छ । उपराष्ट्रपति बन्नुअघि उनी नेकपा माओवादीका शीर्ष नेता हुन् । माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र जनयुद्धका कमाण्डर पुन संविधान सभाबाट संविधान जारी भएपछि उपराष्ट्रपति बनेका थिए । २०७९ फागुनमा उपराष्ट्रपतिको कार्यकाल पुरा भएपछि सम्मानित भूमिका सहित उनी बसिरहेका थिए । तर एकाएक माओवादीमा सक्रिय हुने संकेत पूर्व उपराष्ट्रपति पुनले देखाएका छन् । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजनीतिक सक्रियताबारे चर्चा हुँदै आएको छ । आफूलाई राष्ट्रपतिसम्म बनाउने पार्टी नेकपा एमालेभित्र भण्डारीको भूमिका कार्यकारी नै देखिन थालेको छ । विभिन्न संवैधानिक नियुक्ति, पार्टी पदाधिकारी चयनदेखि मन्त्रिपरिषद् बिस्तार गर्दा समेत भण्डारीले आफ्नो कोटा लिने गरेका छन् । पछिल्लो समय सार्वजनिक अन्तर्वार्ता दिएरै एमालेकै अध्यक्ष बन्ने संभावना रहेको बताउन थालेका छन् । राष्ट्रपति बनिसकेको व्यक्ति फेरि पार्टीको अध्यक्ष भएर सक्रिय राजनीति गर्ने कुराबारे सार्वजनिक वृत्तमा बहस हुँदै आएको थियो । राष्ट्रपति पद संवैधानिक हुने, तर मूलुकको सर्वोच्च संस्था हुने भएकाले यसप्रति हुने चासो र बहस नौलो होइन । तर अब पूर्वराष्ट्रपति मात्र नभएर पूर्वउपराष्ट्रपति पनि सक्रिय राजनीतिमा आउने सूचना सार्वजनिक भएको छ । 

भण्डारी र पुन एकैपटक राष्ट्रपति र उपराष्ट्र थिए । त्यसअघिका राष्ट्रपति र उपराष्ट्रपति सामाजिक क्षेत्रमा मात्र सक्रिय छन् । त्यसकारण उनीहरुका बारेमा छलफल आवश्यक परेको थिएन । तर विद्या र नन्दकिशोरको चाहनाले अलग बहसको माग भइरहेको छ । संवैधानिक भूमिकामा रहेकाले फेरि सक्रिय राजनीतिमा सक्रिय हुँदा त्यसको असरबारे चिन्ता भइरहेको छ । हुनपनि संवैधानिक पदहरुमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुँदा समेत राज्य सञ्चालन निष्पक्ष हुन नसकिरहेको टिप्पणी हुने गरेको छ । अझ राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरु सक्रिय राजनीतिमा फर्कदा त्यसको असर पर्ने नै भयो । त्यसैले यो विषयमा आवश्यक बहस गरिनु राम्रो हुन्छ, जसले आगामी दिनमा नजीरको काम गर्नेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise