२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संस्था नवीकरणका लागि विभागले माग्यो कागजात

ADV
२०८१ असार ५ गते ०६:३५
संस्था नवीकरणका लागि विभागले माग्यो कागजात

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित सबै संस्थाको नवीकरण शुरु गरेको छ । विभागले एक सूचना जारी गरी म्यानपावर कम्पनीसहित घरेलु कामदार तालिम प्रदायक, केयरगिभर तालिम प्रदायक र सीपमूलक तालिम प्रदायक संस्था र अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई नवीकरणका लागि तोकिएको दस्तुरसहित निवेदन दिन आह्नान गरेको छ । विभागले नवीकरण अनलाइनमार्फत हुने बताएको छ ।

विभागले आगामी आर्थिक वर्षको नवीकरणका लागि म्यानपावर कम्पनीहरुले आर्थिक वर्ष २०७९/०८० मा पूर्व तथा अन्तिम श्रम स्वीकृतिको संख्या, कामदार उडाएको संख्या, अन्तिम श्रम स्वीकृति लिएर उडाउन बाँकी संख्या, २०८२ साउन मसान्तसम्मको बैंक ग्यारेन्टी र कार्यालयको पूरा ठेगाना पेस गर्न भनेको छ ।

त्यसैगरी विभागले नवीकरणका लागि नवीकरण दस्तुर दश हजार रुपैयाँ जम्मा गरेको भौचरसहित सञ्चालक समितिको निर्णयसहित आर्थिक वर्ष २०७९/०८० को कम्पनी अद्यावधिक, करचुक्ता, शेयर लगत, आर्थिक वर्ष २०८०/०८१ मा सय जना कामदार पठाएको प्रमाण पेस गर्न भनेको छ । हाल दर्ता रहेकामध्ये असार मसान्तसम्ममा ८ सय व्यवसायीले तोकिएको संख्या सय पुर्‍याउने र करिब दुई सयको संख्या नपुग्ने विश्लेषण व्यवसायीले गरेका छन् । तोकिएको संख्या नपुर्‍याउनेमा केही राजनीतिक तथा सामाजिकरुपमा सक्रिय व्यवसायीहरु सञ्चालक रहेका कम्पनीहरु नै रहेको चर्चा छ ।

उनीहरुले नवीकरणका लागि सय संख्या अनावश्यक भन्दै यसअघि जस्तै वैदेशिक रोजगार ऐनको दफा ८२ प्रयोग गरी मन्त्रिपरिषद्ले बाधा अड्काउ आदेश जारी गरी सबै व्यवसायीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ध्यानाकर्षण गराइरहेका छन् ।

सरकारले असार महिनाको अन्तिम–अन्तिम समय अर्थात असार २७/२८ गतेतिर निर्णय गर्ने  गरेको छ । यसअघि तत्कालीन मन्त्री शेरबहादुर कुँवरको पालामा भने असार पहिलो हप्तामा नै मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको कारण संख्या सय पुर्‍याउन नपाएका व्यवसायीले तनाव झेल्नुपरेको थिएन ।

विभागले तालिम प्रदायक संस्थाहरुलाई नवीकरणको निवेदनका साथमा नवीकरण दस्तुर तिरेको रसिदसहित अघिल्लो वर्षको प्रगति प्रतिवेदन, संस्थाको भौतिक वित्तीय तथा जनशक्तिको विवरण, आर्थिक वर्ष २०७९/०८० को करचुक्तासहित पेस गरेका विवरण सही छन् झुटा ठहरे कानूनबमोजिम सहुँला बुझाउँला भनि सनाखत गरेको प्रतिबद्धता पत्र पनि साथमा पेस गर्नुपर्ने बताएको छ ।

त्यसैगरी विभागले घरेलु कामदार, केयरगिभर तालिम प्रदायक तथा सीप विकास तालिम प्रदायक संस्थालाई पनि असार मसान्तसम्म नवीकरणका लागि निवेदन दिन आह्वान गरेको छ । निवेदनका साथमा दश हजार रुपैयाँ नवीकरण दस्तुरसहित अघिल्लो वर्षका प्रगति विवरण, संस्थाको भौतिक वित्तीय तथा जनशक्तिको विवरण, आर्थिक वर्ष २०७९/०८० को करचुक्ता, लेखा परीक्षण प्रतिवेदन, अघिल्लो वर्ष तालिम प्रदान गरेको लैङ्गिक विवरण, जिल्ला, जातिगतसहितको प्रतिवेदन, मन्त्रालय र विभागबाट अनुगमन भएको मिति र दिइएका सुझाव कार्यान्वयनको अवस्था, कम्पनी अद्यावधिक तथा अघिल्लो वर्षको नवीकरण प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने विभागले बताएको छ ।

केयर गिभर तथा सीप विकास तालिम प्रदायक संस्थालाई नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो वर्षको प्रगति विवरण, तालिम प्रदान गरेकोे लैङ्गिक विवरण खुल्ने प्रतिवेदनसहित लेखा परीक्षण प्रतिवेदन, करचुक्ता, मन्त्रालय र विभागबाट अनुगमन भएको मिति र दिइएका सुझाव कार्यान्वयनको अवस्था तथा कम्पनी रजिस्ट्रार कार्यालयबाट अद्यावधिक तथा अघिल्लो वर्षको नवीकरण प्रमाणपत्र, कम्पनी अद्यावधिक र अघिल्लो आर्थिक वर्षसम्म संस्था नवीकरण प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित संस्थाको सञ्चालकबाट प्रमाणित भएको हुनुपर्ने विभागले बताएको छ ।

त्यसैगरी विभागले सीप विकास तालिम प्रदायक संस्थालाई पनि नवीकरणका लागि आह्वान गरेको छ । सीपमूलक तालिम प्रदायक संस्थाहरुले नवीकरणका लागि निवेदनका साथमा कम्पनी दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण तथा करचुक्ता प्रतिवेदन, अघिल्लो वर्ष तालिम प्रदान गरेकोे विवरण, संस्था दर्ताको अनुमति पाएको अनुमतिपत्र, अनुमतिपत्र लिने सम्बन्धमा पेस भएका प्रशिक्षक वा पछि प्रशिक्षक परिवर्तन भएको भए परिवर्तन भएको प्रशिक्षकको शैक्षिक योग्यतासहितको विवरण, घर भाडामा कार्यालय लिएको कम्तीमा दुई वर्षका लागि गरेको सम्झौतापत्रको प्रतिलिपि र संस्थाको शेयर बिक्री भएको भए त्यसको विवरणसहितका कागजात नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने विभागले बताएको छ ।

त्यसैगरी विभागले अभिमुखीकरण संस्थाहरुको पनि नवीकरण खुलाएको छ । त्यस्ता संस्थाले नवीकरणको निवेदनसहित आर्थिक वर्ष २०७९/०८० को विवरणमा कक्षा सञ्चालन भएको संख्या, महिला तथा पुरुष प्रशिक्षार्थी संख्या, कामदार उडाएको संख्या, कार्यालयको ठेगाना, सञ्चालक समितिको निर्णय, नवीकरणका लागि दश हजार जम्मा गरेको भौचर, अनुमतिपत्रको प्रतिलिपि, आर्थिक वर्प २०७९/०८० कम्पनी अद्यावधिक, करचुक्ता तथा शेयर लगतसहित पेस गरेका कागजपत्र वास्तविक हुन् झुटा भए कानूनबमोजिम सहुँला बुझाउँला भन्ने व्यहोरा सनाखत गरेको प्रतिज्ञापत्रसहितको विवरण फेमिसमा अपलोड गरी हार्डकपी विभागको प्रशासन, योजना तथा संस्था दर्ता शाखामा बुझाउनुपर्ने विभागले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise