त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबको पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि रातिको समयमा उडान बन्द गरेको हो । उडान बन्द भएसँगै उडान कटौती हुँदा हवाइ टिकटमा चर्काे मुल्यवृद्धि भएको छ भने टिकट नै पाउने समस्या छ । काठमाडौंको विमानस्थल बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान भइरहेको छ ।
भैरहवामा कतार एयरवेज, नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एशिया र जजिराले उडान गरेका छन् तर, पोखराको विमानस्थलमा भने अझै उडान अन्योलमा छ । प्रस्तुत छ, सोही सन्दर्भमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका (नाट्टा) अध्यक्ष कुमारमणि थपलिया विमानस्थलको स्तरोन्नति र भैरहवामा विमानको कम्पनी डाइभर्टले देखाएको आशा र अहिले देखिएको चुनौतीको विषयमा मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
काठमाडौंको एयरपोर्ट स्तरोन्नति भइरहँदा अधिकांश विमान कम्पनीको उडान घटेको छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित कम्पनीले व्यावसायिक उडान शुरु गर्नुलाई टूर एन्ड ट्राभल्स क्षेत्रले कसरी हेरेको छ ?
अहिले लामो समय र छोटो समयको असरलाइ गरेर हेर्न सकिन्छ । छोटो समयको असरलाई हेर्दा पर्यटनको सिजनमा उडानहरू कटौती हुँदा टिकटको मूल्य बढेको छ । टिकटको मूल्यमा भारीवृद्धि हुँदा नेपाल आउन चाहने पर्यटक अन्य मुलुक गएका छन् । नेपालको बुकिङ क्यान्सिल गरिरहेका छन् । यस्तै विदेशमा काम गर्न जाने र आउने नेपाली श्रमिकहरूलाई उडान टिकट महँगो परेको छ । विमानस्थल बन्द हुँदा उडान व्यवस्थापन मिलिरहेको छैन । एयरपोर्ट १० घण्टा बन्द हुँदा आउने पर्यटक रोकिएका छन् भने आएकाहरुलाई समेत फर्काउनका लागि महँगो भएको छ । एयरपोर्ट बन्दपछि बुकिङहरू आएको छैन । यसले पर्यटनमा नै असर गरेको छ अहिले । तर, एयरपोर्ट स्तरोन्नतिपछि २५ प्रतिशत उडान बढ्ने भनिएको छ, त्यसले केही आशावादी बनाएको छ । यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जसरी विदेशी विमान कम्पनीले उडान भरेका छन् । त्यसले अब हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल निरन्तर चल्ने र पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरिएको छ ।
५ महिना प्रत्येक दिन १० घण्टा विमानस्थल बन्द हुँदा टूर एन्ड ट्राभल व्यवसायमा कस्तो असर पर्नेछ ?
पक्कैपनि त्यसको असर टूर एन्ड ट्राभल व्यवसायमा देखिन्छ । यो समयलाई घटाउन सकिन्छ की भनेर छलफल समेत भएको हो तर, प्रविधिक कारणले छिटो नसक्ने प्राधिकरणको भनाइ थियो । तर, यो समय भन्दा ढिलो हुनु हुँदैन । यस्तै नयाँ प्रविधि प्रयोग गरेर १० घण्टाको समयलाई ५ घण्टामा छोट्याउन सकेको भए धेरै राहत हुने थियो । अर्काे कुरा फ्लाइट कम हुँदा भाडा बढाउने प्रवृत्तिलाई सरकारले रोक्नुपर्छ । अब भैरहवाको एयरपोर्ट निरन्तर चलाउनेगरी सरकारले काम गर्नुपर्छ । अहिले भैरहवा ल्याण्ड हुने अनि काठमाडौं आएर उड्ने भएको छ । यसलाई भैरहवाबाट उड्ने बनाउनुपर्छ । नेपालीहरू भारतको दिल्ली गएर उडान भर्न थाले भने भैरहवा जान सकिन्छ नी ।
अहिले उडान कम हुँदा टिकट पाउन कति सहज छ ?
छैन । पहिलो काठमाडौंबाट दिल्ली, कतार, लगायत खाडी मुलुकको टिकटको माग छ तर, टिकट पाउन मुस्किल छ । सस्तो टिकट छैन महँगो टिकट किन्नुपर्ने बाध्यता छ । एयर कम्पनीहरूले पनि कमाउने समय यही हो भनेर लागेको देखिन्छ । समस्याको बेलामा सरकार र ग्राहकलाई राहत दिने भन्दा कमाउने नै बढी देखिन्छ । सरकारले समेत अनुगमन र निर्देशन दिने हो भने सहज हुने थियो । यहाँ डिमाण्ड र सप्लाइको कुरा गरेर चर्काे फेयर लिइरहेका छन् ।
अर्काे श्रमका लागि जाने मानिसहरूले समेत जति भनेपनि तिरेर जाँदा मूल्य बढिरहेको छ । कतिको भिषा सकिने बेला भएकोले जानैपर्ने अवस्था समेत छ । त्यसलै जति भनेपनि जाने गरेको पाइन्छ । अहिले विदेशीहरू भने नेपालमा टिकट महँगो हुँदा बित्तिकै अर्काे देश गएका छन नेपाल आइरहेका छैनन् । नेपालको वायुसेवा निगम कमजोर हुँदा अहिले धेरै समस्या आएको हो । जुन देशको आफ्नो बिमान कम्पनी सक्षम हुदैन त्यस देशको फेयर उच्च नै हुन्छ । भारतबाट इण्डिया एयरमार्फत् २५ हजार नेपालीमा दोहा जान सकिन्छ भने नेपालबाट दोहाको ८० हजार छ । तीन गुणा महँगो मूल्य तिर्न नेपाली बाध्य छन् । हाम्रोमा उपभोक्ताको अधिकारबारे सरकारले समेत हेर्न सकेको छैन ।
नेपालको वायुसेवा बलियो नहुँदा हामी अप्ठ्यारोमा परेको हो ?
नेपालको सबैभन्दा ठूलो समस्या भएकै यही हो । आफ्नो विमान नहुँदा भैरहवा र पोखरामा उडान भएको छैन । फेयरहरू उच्च हुँदापनि आफ्नो विमान नभएर हो । नेपालको आफ्नै विमान भएको भए ५ वटा उडान थप्न मिल्थो । अन्य एयरपनि घटाउन बाध्य हुन्थे । हाम्रोमा भएकाहरू समेत नियमित छैनन् । हाम्रोमा बिग्रिएर बनाउनु पर्दा हल्ला हुन्छ अनि अरूले फेयर बढाइदिइहान्छन् । कम जहाज भएकाले ममर्तमा जाँदा बित्तिकै हल्ला हुन्छ । त्यसैले सरकारले दीर्घकालीन पर्यटन, हवाइ क्षेत्रमा विकास गर्ने हो भने हवाइ क्षेत्रमा लगानी गर्नु नै पर्ने हुन्छ ।
विदेशका एयर कम्पनीले नेपालबाट कमाएर लगिरहेका छन् भने नेपाली विमान कम्पनीले नकमाउने भन्ने हुँदैन । विदेशीपनि आइरहेको छ नेपालीहरू समेत विदेश आउने जाने भइरहको छ । माग धेरै छ भनेपछि विमानले न कमाउने भन्ने कहाँ हुन्छ । अप्रेसन र व्यवस्थापनको पार्ट मिलाउन नसकेर अहिले हाम्रो विमान कम्पनीमा समस्या आएको हो । काठमाडौं एयरपोर्टबाट विदेशी विमानले सबैभन्दा धेरै कमाएको तथ्यांक छ । अरूको भरमा नेपालमा कसरी पर्यटक भित्र्याउन सकिएला ? पर्यटक आएभने मात्र होटल, रेष्टुरेन्ट, ट्राभल, टुरगाइडले काम पाउने हो । जब सजिलै नेपाल आउन जान सहज हुन्छ, बल्ल घुम्न आउनेको संख्या बढ्ने हो ।
नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन् । काठमाडौंको स्तरोन्नती हुँदैछ । भैरहवामा उडान शुरु भएको छ । अब नेपालको ट्राभल्स क्षेत्रको व्यवसाय आगामी दिनमा कस्तो हुने अपेक्षा गर्न सकिन्छ ?
नेपाल पर्यटकको लागि नै बनेको देश हो । विश्वबजारमा नेपालको छबि अझै बिग्रिएको छैन । तर, हामी पछि परेका छौँ । हाम्रो भन्दा केही नभएका देशहरूले पर्यटन क्षेत्रमा प्रगती गरिरहेका छन् । हामी धेरै पछि परेका छौँ । हामी वर्षमा १० लाख पर्यटक ल्याउने मानक बनाएर बसेका छौँ । १०/११ लाख पर्यटक आए भने पर्यटक भरिभराउ, रेकर्ड बे्रक भनेर भन्न थालिन्छ । तर, यो होइन हाम्रोमा ३०÷४० लाख सामान्य रूपमा पर्यटक आउनु पर्ने देश हो ।
तर हाम्रो सडक पूर्वाधार बिजोग छ । ६ वर्षसम्म पोखरा जाने सडक बन्दैन । लुम्बिनी जाने सडकको हालत उस्तै छ । यस्तो सडक यात्रा गर्दा पर्यटक बिरामी नै हुने अवस्था हुन्छ । स्थिति बिजोग छ । अमेरिकाबाट दिल्ली आउँदा १ हजार डलर लाग्छ भने काठमाडौं आउँदा २५ सय डलर लाग्छ भनेपनि कसरी हामी माथि पुग्छौँ । यस्तो स्थिति हुँदाहुँदैपनि नेपाललाई माया गरेर मानिसहरू आइरहेका छन् । यसले के देखाउँछ भने नेपालमा सम्भावना छ । तर, नेतृत्व गर्नेले बेलैमा सोच्नुपर्छ । अब पर्यटनको क्षेत्रमा सरकारले लगानी नगर्ने हो भने पर्यटक विस्तारै नेपाल आउने छैनन् । हाम्रोमा भाषण गर्ने, काम नगर्ने कारण समस्या भएको हो ।