– प्रदिप ज्ञवाली, रुपन्देही
एमसीसीको किचलोलाई पार लगाउ नेता
जनता नै फुट्न लागे ध्यान लगाउ नेता
देशका लागि मर्छु भन्ने धेरै छन यहाँ
ध्रुवीयता रोक्दै बुँदा पढ्दै गर नेता ।।
देश सबको साझा नै हो पेवा हैन हेर
चार नेता चार तिर हुन लागे धेर
अबेला त भइसक्यो सोच्ने बेला पनि
हस्ताक्षर गरेका हौ आफै ठुलो बनी ।
कुनै देश बने अरे कुनै देश बिग्रे
संशोधन नि हुन्छ होला नेताहरु मिले
नेता असल परे भने देश बन्छ राम्रो
भड्खालोमा नहाल्नू है जÞनजीवन हाम्रो !
काठमाडाैं : बहत्तरौं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ काे अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता तथा निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको छ ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय भावना र लोकतान्त्रिक चेतनाको भावमा आयोजित प्रतियोगितामा कवितातर्फ खोटाङका तेज राई, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’, ताप्लेजुङका सविता बरालले क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
निबन्धतर्फ तनहुँका गोविन्दप्रसाद खतिवडा, तेह्रथुमका रेजिना चापागाईं र काठमाडौंका गणेश दंगाल क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका हुन् ।
दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः जनही रु पचास, चालीस र तीस हजार पुरस्कार प्रदान गरिएकाे प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।
काठमाडाैं : विश्व कीर्तिमानी डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक भएकाे छ । बिहीबार एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गरेकाे हाे ।
गिनिज बुक अफ विश्व रेकर्डसहित विश्वका विभिन्न ८० विधामा विश्व रेकर्ड कायम गरिसकेका उपाध्यायले बिहीबार सार्वजनिक गरेको गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने बताए ।
उनले बिहीबार सार्वजनिक गरेको गीति कवितामा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौवटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूषा , संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टुन फिल्म, विश्व प्रसिद्ध हिरो/अभिनेता, विश्व प्रसिद्ध नायिका/अभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो-सानाे चर्चित चंगा, विभिन्न रंगको वर्णन गरिएको, सुनका विभिन्न गहनाको डिजाइन र ग्रह तारा समेटिएको गीति कविता रहेका छन् ।
यस्ता अनाैंठा शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलो पल्ट भएको उनकाे दाबी छ । भेटघाट कार्यक्रममा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्दलगायत व्यक्तित्वको आतिथ्यता रहेको थियो । उनीहरूले डा.उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताए ।
उनले आगामी वैशाखामा एक सयभन्दा बढी विश्व रकेर्ड पुर्याउने उद्देश्यले आफू लागिरहेकाे बताए । बिहीबार सार्वजनिक गरिएका १३ फरक शैलीका गीति कवितालाई केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा रहेका छन् ।
काठमाडाैं : साहित्यकार जीतेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालीले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक प्रस्तुत गरिएको छ । चित्रकथामा बालबालिकाले सजिलै बुझिने गरी सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँपढुँ लाग्ने गरी कथा प्रस्तुत गरिएको छ ।
कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिनेछ ।
कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र रामबीच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक सांस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्ने छैनन् उनीहरुले कथाभित्रै परापूर्वकालका घटनाको ज्ञानसमेत राख्न सक्नेछन् । कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रहेको छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको प्रकाशनले जनाएको छ ।
हनुमानको करामत’ रसिकको १३औं कृति हो । यसअघि बाल साहित्यका कृतिमा एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह–२०७२) हावा फल्ने रुख ‘बालचित्र कथा–२०७३’ एङ्ग्री बर्ड ‘अङ्ग्रेजी बालकथा सङ्ग्रह–२०७४’ बेलबहादुरसँग बिहे ‘चित्रकथा–२०७७’ गुलेली र ‘बालकथा सङ्ग्रह २०७७’ प्रकाशित छन् । बालकथाबाहेक उपन्यास, गीत, गजल, कवितालगायत विविध विधामा सशक्त कलम चाउँदै आएका रसिकका काफिया ‘गजल सङ्ग्रह–२०७३’, लज्जावती ‘उपन्यास–२०७३’, अलकापुरी भक्तपुर ‘सम्पदा नालीबेली–२०७५’, सर्वरत्न ‘पद्मरत्न तुलाधरको जीवनी–२०७६’ र पब्लिक स्पिकिङ ‘उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक–२०७७’ लगायत प्रकाशित छन् ।
– नारायण तिवारी
अचानक यस बाटोमा उसलाई देख्दा म झस्किएको थिएँ । उसको घर यतै जडिबुटीतिर छ भन्ने त सुनेको थिएँ तर, यसरी एउटा झोला बोकेर लुखुरलुखुर सडकमा निस्किएला ऊ भन्ने कल्पना मैले गरेको थिइन । ऊ कहाँ हुन्थ्यो र उसले झोला बोकेर हिँड्नु, एकछिनमै मैले उसको हातबाट झोला एकजना केटोको हातमा पुगिसकेको देखेँ । त्यही पनि, र पनि, आजकाल अफिसको गाडीमा सररर हुइँकिने भएको उसलाई कसरी यहाँ भेटौंला भन्ने कल्पना पनि होस् !
फेरि, अलिकति मास्क खुस्काएको रहेछ र पो चिन्न सकियो । देखिरहेको थिएँ, मास्क खाने मुखबाट अलिक तल चिउँडोनेर झरेको थियो ।
म नजिक नै थिएँ, हाँसे । तर, ऊ हाँसेन । ज्या, उसले मलाई देखे पनि मेरो ओठको मुस्कान देखेको भए पो हाँसोस् त ! किनभने मेरो मुखबाट मास्क फुस्किएको थिएन । कहिलेकाहीँ मुखमा मास्क रहिराखे पनि यसो जिउडाल हेरेर पनि मान्छे चिनिन्छ । लुगा हेरेर चिनिन्छ । तर, उसले सायद मलाई चिनेन । एक नजर मतिर फाल्न त फालेको हो उसले तर, फेरि नजर हटायो ।
ऊ कता कति अल्मलिरहेको जस्तो देखिन्थ्यो । उसको साथमा रहेको केटो साथसाथमा हिँडिरहेको थियो । जसको हातमा पहिल्यै मैले उसको हातमा देखेको झोला थियो । ऊ कहिले त्यो केटोलाई तान्थ्यो, कहिले उभिन्थ्यो । मैले उसलाई चिनेपछि र उसले मलाई नचिनेपछि (नचिनेको अभिनय पो गरेको हो कि ?) मैले आफ्नो गति मन्द पारेको थिएँ । ऊ पनि खासै द्रुत गतिमा कहाँ हिँडिरहेको थियो र ! लोसे पारा थियो उसको । म अझै ऊभन्दा लोसे पारामा उसको पछाडि हिँडिरहेको थिएँ ।
उनीहरू, याने त्यो साथको केटा र ऊ गफ गर्दै हिँडिरहेका थिए ।
ऊ केटालाई सोध्दै थियो– “रे, भन् त यो सब्जीमण्डी कहाँ छ ? तँ पहिले आएको थिइस् होइन ?”
“छैन मालिक हेरेको ! पहिले आएको छैन म ।”
“अनि रे, मालिक्नीसित सब्जी किन्न कहाँ जान्थिस् त ?”
“मालिक ! मल्काइन् त घर नजिक नै सब्जी किनिहाल्नु हुन्थ्यो । यता त मैले हेरेको छैन ।”
“ले, आज तँलाई देखाइदिन्छु । अनि सधैँ यहीँ आएर सब्जी किन्नू !”
“हुन्छ मालिक !”
त्यसपछि दुवै चूप लागे । एकछिनपछि फेरि उसले सोध्यो– “तेरो गाउँमा त खूब सब्जी खेती नै हुन्छ, होइन रे ?”
“हो, मालिक ! मेरो बाबुले पनि रमेश महाजनको खेतमा सब्जी लगाको छ । सब्जी बेच्न मेरो बाबु सधैँ विराटनगरको गुद्रीमा लैजान्छ !”
“हे, मुला ! त्यसो भए तँ यहाँ के खान आइस् । त्यहाँ नै सब्जी लगाउन तेरो बाबुलाई सघाउनु पर्दैन ? गधा...!”
त्यसपछि त्यो केटो बोलेन । दुवै मौन, हिँडिरहे ।
म पछिपछि हिँडिरहेँ । सोचिरहेँ, त्यो केटोलाई उसको बाबुले जागिर खुवाउन यहाँ काठमाडौंमा पठाएको होला । वा, बच्चैदेखि उसकहाँ पढाइदिने नाममा पठाएको थियो होला कि ! यसबेला त त्यो केटो पट्ठो देखिन्छ, १७/१८ वर्ष उमेरको होला ।
एउटा कुरामा भने मलाई अचम्म लागिरहेको थियो– पहिले÷पहिले जस्तो तराईतिर गाउँघरमा ‘मालिक’ सम्बोधन गर्ने चलन आजकाल हराइसकेको थियो । तर, उसलाई त्यो केटोले यहाँ, यस जाग्रितिको अगुवा सहर काठमाडौंमा ‘मालिक’ सम्बोधन गर्दै थियो । मैले घृणापूर्वक आफ्नो टाउको झट्किएँ । त्यो केटोको मालिकप्रति अलिअलि रहेको मेरो सद्भाव पनि घृणामा रूपान्तरित भएको थियो ।
हुनतः हामी धेरै भारतमूखी छौं । भारतीय टेलिभिजन धेरै हेर्छौं होला । त्यसै भएर हाम्रा प्रधानमन्त्रीले बोलेको भए पनि हामीले नसुनेका हौँला । यो मेरै कमजोरी हुनसक्छ ।
जडिबुटीको पूल आइपुग्यो । ऊ बीचमा उभिएर कता जाउँजस्तो गरी ट्वाल्ल परिरहेको जस्तो लाग्यो । त्यो केटो अझ के थाहा पाओस् – कता छ जडिबुटीको सब्जीमन्डी ?
“हे रे, नरेनवाँ ! भनिदे त, यो मन्डी कता छ रे ?”
त्यो केटोको नाम ‘नरनवाँ’ वा नरनुवाँ, मै पनि त ‘नरनुवाँ’ हुँ रहेछु भन्दै मन्दमन्द ओठ मुस्कुरायो मेरो । नरेनवाँ याने नारायन वा शुुद्ध उच्चारण गर्ने हो भने उसको नाम नारायण रहेछ । मलाई मेरो आफ्नो नाम पनि नारायण भएको र उसको गाउँमा (मेरो पनि), केटाकेटीमा मै पनि कोहीकोहीबाट यसै ‘नरनुवाँ’ नामबाट संबोधित हुन्थेँ, सम्झेर फेरि हाँसे म ।
त्यो केटोले बोल्नु अगाडि मैले पछाडिबाट कराएँ– “उः त्यहाँ हेर्नुहोस् त देख्नु भएन–‘जडिबुटी तरकारी तथा फलफूल बजार’ लेखिएको त्यत्रो ठूलो बोर्ड ?”
उसले, मैले बोलेको तिर फर्किएर हेरेन । न, मेरो कुरालाई समर्थन वा विरोध नै गर्यो । न, मतिर फर्किएर ‘धन्यवाद’ नै भन्यो । तर, उसको नजरले उभिएर त्यो बोर्डतिर हेरेको मैले पछाडिबाट देखेँ । त्यो केटो पनि त्यतै हेर्दै थियो ।
अब भने मैले उनीहरूलाई जितेर अघि बढेँ । अघि त बढेँ तर, पाइला सुस्तरी चाल्दै । ताकी उनीहरू फेरि अगाडि बढुन् । वा, उनीहरूको वार्ता फेरि सुन्न सकियोस् ।
यसरी कसैको चियो गर्नु उचित थिएन । तर, खै किन किन म उसलाई नजाँनिदो गरी पछ्याइरहेको थिएँ । ऊ मेरो लागि त अपरिचित छँदै थिएन । पहिले पहिले त म पनि उसको निम्ति परिचित नै थिएँ । यो लकडाउन भएपछि ‘अपरिचित’ भएको कुरा होइन । ऊ काठमाडौं बस्न थालेपछि कै कुरा हो ।
दुई वर्ष अघि म उसको कार्यालयमा मेरो छोरीको बिहेको निम्ता पुर्याउन गएको थिएँ । घर यतै, यसै क्षेत्रमा बनाएर बसेको थाहा पाइसके पनि यो काठमाडौंमा घर खोज्नतिर लाग्नुभन्दा अफिसमै निम्ता पुर्याउनु सजिलो ।
“उहाँ व्यस्त हुनुहुन्छ ।” अफिस कोठा बाहिर टेबुल राखेर बसेको मानिसले भनेको थियो ।
“उहाँ मेरो गाउँको मानिस हो, मेरो नाम भनिदिनुस् न । मेरो छोरीको बिहेको कार्ड हो ।” मैले भनेको थिएँ ।
ऊ भित्र पसेको थियो, मैले दिएको कार्ड बोकेर ।
फर्किएर आयो । र, भन्यो– “मैले भने । कार्ड पनि हातमा दिएँ । उहाँले हेर्नु भयो । केही बोल्नु भएन ।”
मैले फेरि, ‘साथी’ शब्द पनि ‘इस्तेमाल’ गरेर भनेको थिएँ– “अरे बाबा ! उहाँ मेरो गाउँको मानिस, साथी हुनुहुन्छ । मेरो नाम भनिदिनु भएन ?”
उसले मलाई तलदेखि माथिसम्म हेर्यो । र, उल्टै झपार्दै मेरै लहजामा भन्यो– “अरे बाबा ! तपाईँको कार्डमा नाम छ नि होइन ? फेरि मैले पनि भनिसकेको छु । तपाईँ जानुहोस् अब । सरले कार्ड लिनु भएको छ । बिहेमा आउनु हुन्छ ।”
म आफू ‘ऊ’बाट, याने मेरो गाउँको मानिसबाट, याने बालखकालको साथीबाट अपरिचित हुँदै घर फिर्ता भएको थिएँ ।
बिहेमा पनि ऊ आएको थिएन । ऊ ठूलो मानिस भइसकेको थियो, धेरै ठूलो ।
जडीबुटीको तरकारी बजार आइपुगेको थियो । म फेरि पछाडि परेको थिएँ । ऊ फेरि अगाडि थियो ।
भीड थियो तरकारी बजारमा । म त यो कोरोना महामारीभन्दा पहिले पनि यस तरकारी बजारमा आइरहन्थेँ । तर, यो लकडाउनको अवस्थामा प्रथम पटक आउँदै थिएँ ।
डेराघरबाट पैदल २०÷२५ मिनटमा आइपुगिन्थ्यो यहाँ । केही सस्तो पनि पर्ने भएकोले बिहानको प्रातः भ्रमणको समय पारेर पहिला म आउने गर्थेँ ।
लकडाउनमा अझ ५ बजे बिहानदेखि ९ बजेसम्म मात्र तरकारी बजार खुल्ने भन्दै छिमेकीहरूले तरकारी ओसारी रहेका देखिन्थे ।
‘अनि भीड हुँदैन ? ६ फिटको सामाजिक दूरीको पालना हुन्छ ?’, मेरा मनमा धेरै प्रश्न थिए । त्यसैकारण म लकडाउनको ४२ औं दिन हारेर, याने सबै हिँडिरहेका थिए ग्वार–ग्वार र, लागेको थिएँ सोच्दै सामाजिक दूरीमा बसेर भएछ भने किन्छु, नभए फर्किन्छु ।
त्यो केटोलाई रूपैयाँ र झोला दिएर (झोला बोकेकै थियो केटोले) उसले सब्जीमन्डीमा हेलाइदिइसकेको थियो । ऊ कम्मरमा हात लगाएर उभिएको थियो । र, घरिघरि हात उठाएर ईसारा गर्दै थियो । यस्तो लाग्थ्यो, भन्दैहोस्– ‘उः त्यो काउली किन् । उः त्यो कटहर किन् । तराईको मान्छे, कटहर मनपर्छ नि तँलाई होइन, किन् है किन् । भाण्टा किन् । लौका रे, त्यो पनि किन....!’
ऊ केटोको साथमा नगएको कारण पनि म बुझिरहेको थिएँ । त्यहाँ ६ फिट त के आधा फिटको दूरी पनि कायम भइरहेको थिएन ।
मलाई हिम्मत आएन । सामाजिक दूरी कायम गर्ने कुरा कसको लागि, आफ्नै लागि होइन ? तर, अहँ, मानिसहरू माछा बजारमा जस्तै होहल्ला गरिरहेका थिए । कसैका मुखमा मास्क पनि देखिँदैनथ्यो ।
कोहीकोही त ससाना व्यापारीहरू पनि थिए । सब्जी किन्न आएका । जो होलसेल मूल्यमा किनेर लगी खुद्रा मूल्यमा बेच्दथे । जसलाई लागिरहेको हुनसक्थ्यो– बाँचे पनि के, मरे पनि के ?
त्यस भीडमा बेच्ने पनि धेरै ठूला व्यापारी होइनन् । साना काँटीका साना व्यापारी थिए । जसलाई सामाजिक दूरी कायम राख्नुसित उति सरोकार थिएन । जसलाई लागिरहेको हुनसक्थ्यो– बाँचे पनि के, मरे पनि के...?
त्यहाँ साँच्चै यो प्रकोपबाट प्रताडित भूइँ मान्छेहरू अझै थिएनन् । यो महामारीमा उनीहरू घरपरिवार, आमाबाबु, छोराछोरी संझिँदै सयौं किलोमिटर हिंडेर काठमाडौंबाट अलप भइसकेका थिए ।
स–सानो पत्रिका पसल चलाएर काठमाडौंमा बसेको मजस्तो मानिस थोरैमा कसरी गुजारा चलाउन सकिन्छ भन्ने अभ्यास गर्दै भोलिको संकट रहित दिन फर्किने आशामा यतै काठमाडौंमा नै भट्किरहेको थिएँ ।
धेरै बेर टोलाएर म पनि सब्जीमन्डी अगाडि उभिइरहें । तर, पछाडि हात बाँधेर उभिइनँ ।
देखिन्थ्यो– त्यो केटो घरि लौका उचालेर देखाइरहेको थियो, घरि काउली ।
यताबाट ऊ हात उचालेर के के ईसारा गथ्र्यो ।
बजार केही पातलिन्छ कि भनी म धेरैबेर उभिइरहेँ । तर, अहँ बजारको भीड झन् झन् ‘पारवान’ चढ्दै थियो । मैले हिँड्ने मन बनाएँ । धेरै बेर उभिइएको थिएँ । ऊ मभन्दा ६ होइन, १२ फिट पर थियो । हामी बजारभन्दा बाहिर थियौं । तर, भित्र देखिने गरी उभिइएका थियौं ।
त्यो केटो, अर्थात् नरनुवाँ बाहिर आयो ।
“अलि टाढा, अलि टाढा । मलाई नछो है !” उसको मालिक नरनुवाँलाई भन्दै थियो ।
“घर पुगेर नुहाउनु पर्छ तैँले । लुगा पनि अर्को फेर्नु, बुझिस् !”
यतिबेलै मैले मेरो मुखबाट मास्क हटाइदिएँ । र, उसको आँखामा आँखा गाडेर हेरें ।
‘ए हे, नारायण तिमी ? म त नचिनिरहेको...!’ उसको मुखमा यस्तो भाव आएको देखिएन । बरु, कुनै काम बिगारेपछि देखिने कलुषित अनुहार जस्तै कालोनिलो भयो उसको अनुहार ।
उसको आँखामा आँखा गाडेरै भने– “के छ ठूला मानिसको हालखबर ? कोरोनाले त ठूलो सानो भेद गर्दैन नि । म त पत्रिका बेच्ने मान्छे हुँ । सधैँ पढ्छु खबर । बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना लागेको छ, थाहा होला नि...!”
ऊ बोलिरहेको थिएन । ऊ अर्थात् रामशेखर, गाउँमा स्कुलदेखि विराटनगरमा कलेजसम्म नै सँगसँगै पढेको साथी थियो मेरो । आफ्नो योग्यताले होइन राजनीतिको फेर समातेर ऊ हाकिम बनेको थियो । म धेरै पटक मुखिया, खरिदार तहमा जागिर खाँदै छोड्दै पछिल्लो समयमा राजधानी पसेर डेरामा बस्दै पत्रिका पसल चलाएर गुजारा गरिरहेको साधारण मानिस थिएँ ।
उसले काठमाडौंमा घरघडेरी जोडिसकेको थियो । मैले धौ धौ गरेर जसोतसो गरी केटाकेटी हुर्काएको थिएँ, हुर्काइरहेको थिएँ ।
मैले तरकारी नकिनेरै फर्किने मुड बनाइसकेकै थिएँ, भारी बोकेर हिँड्न लागेको नरनुवाँलाई सम्बोधन गर्दै फेरि बोलें– “हे बौवा, तोहर मालिक हम्रा चिन्है छै कि नहीँ ? ओक्रा पुछी ह ! हम्रो नाम छै नरनुवाँ, तोरे नाम जका । हम्रा चिन्है छि....?”
नरनुवाँ वाल्ल परेर मेरो मुखमा हेर्दै थियो । त्यसपछि मैले फेरि मास्क माथि उचालें, मुख ढाक्ने गरी । कसले के जवाफ दिन्छ वास्ता गरिनँ । र, कतै नहेरी फटाफट अघि बढें...!
– खेमलाल पहारी
रमण बुढा आफुले पढ्न नसके पनि छोरालाई डाक्टर पढाएर आफ्नो नामको अघि पछि कोष्ठमा डाक्टरका बा लेख्न लेखाउन वर्षौंदेखि लालायित थिए । बाह्रौं तहमा छोराले अपेक्षित सफलता हासिल गर्न नसकेपछि बुढाले पहाड बेची लाखौं खर्चेर रेवतीरमणलाई निजी चिकित्साशास्त्र अध्ययन संस्थानमा डाक्टर पढ्न पठाए । सुरुआती दिनमा निकै जोश जाँगरका साथ सेतो कोटमा सजिएर पढ्न गएको सत्र वर्षे ठिटो विस्तारै अन्तर्मुखी भएको थियो र पहिलो सेमेष्टर परीक्षा अगाडि अचानक गायब भएको थियो । रमणले छोराको खोजीमा कुनै कसर बाँकी राखेनन् तर, रेवतीरमणको न सास पाइयो नत लास । छोराको पिरमा थला परेकी रेवतीले तिमी छोरालाई घर जिम्मा लगाएर मात्र आउनु है भन्दै रमणलाई सम्झाएर उमेरमै स्वर्गको बाटो तताएकी थिइन् ।
रेवतीको स्वर्ग गमनले एक्लिएका रमण छोराको पर्खाईमा आफ्नो सपनालाई धिक्कार्दै जसोतसो दिन काटिरहेका थिए । कहिलेकाहीँ अर्धचेतमा बर्बराउँदै उनी भन्थे, “आइज त बाबु, मेरो ज्वरो नाप्दे !” कुनै दिन रमण बुढा बाटोमा छाता हल्लाउँदै, छोराको अस्पतालमा रक्तचाप जचाउन जाने हो भन्दै बर्बराउँदै हिड्थे त अर्को दिन चिनीको मात्रा जचाउन ।
आज बाबुको मुख हेर्ने दिन, रेवतीरमणका सहपाठीहरू रमण बाको वरिपरी छन् । बुढा सबैलाई पालैपालो हेर्दै भक्कानिएर रोए । आज उनलाई पक्का भएको थियो कि उनको छोरा अब यो दुनियामा छैन ।
एकजना डाक्टरले नम्रतापूर्वक भने, “बा, हजुरको छोरा डाक्टर भएर आएको छ तर, ऊ सेतो कोट लगाउन मान्दैन । पढ्दा पढ्दै रेवतीरमण कालो भएको छ र पहिरन पनि कालै गर्न रुचाउँछ । हजुरको छोरा खिएर हजुरको हत्केलामा अटाउने भएको छ ।” बुढा मुसुक्क हाँसे; डाक्टर छोरालाई छामछुम पारे र भने मेरो आँतको ज्वरो, अक्सिजन, प्रेशर, मुटुको चाल जँचाइदे न बा !
बुढाले दिनभरिमा दर्जनौं पटक आफ्नो शरीरको जाँच गराए । उनको डाक्टर छोराले उनलाई समय समयमा उठाइ बसाइको स्थिति र पानी पिउने समयको पनि स्मरण गराइरह्यो । डाक्टर केटाहरू अघि नै गइसकेका थिए, यता रेवतीरमण डाक्टरका बाको बायाँ नाडीमा स्मार्ट घडी बनेर बेह्रिरहेको थियो ।
– प्रमोद भट्टराई ‘प्रतिक’, भक्तपुर
आँखा खुल्ने बित्तिकै
बेडस्वीच तिर लम्किएका हातले
खिटिक्क पारेपछि छरिएको उज्यालोमा,
सबै भन्दा पहिले आँखा जुध्दछ
सामुन्ने ढोका माथिको भित्ते घडीमा
चार बजेर दश मिनेट बितेको समयले
मनलाई आश्वस्त पार्छ
सुत्, अझै बिस मिनट सुत्दा हुन्छ !
आँखा झिमिक्क गरिसक्दा
आखिर त्यो बिस मिनट बितिसक्छ
अनि द्वन्द्व सुरु हुन्छ
घडी र सिरक बिचमा
घडीको टिक टिक आवाजले नै
उठ् उठ् भनेको आभास गराउँछ
सिरकले शरीरलाई अँठ्याइरहन्छ
अझै एकछिन... सुत् सुत् भन्छ ।
शनिबार बाहेक,
बिचमा कुनै सार्वजनिक बिदा नपर्दा
हप्ताको छ दिन लगातार चल्ने
घडी र सिरकको घम्साघम्सीमा
अनाहकमा चेपुवामा परेको हुन्छु आफू
कसको पक्ष लिउँ
कसलाई विपक्षी बनाउँ
एउटाले मायाँ दर्शाउँछ
अर्कोले जिम्मेवारी प्रति झक्झक्याउँछ
आफ्नो स्थानमा दुवै दुरुस्त लाग्छन् ।
त्यसैले दुवैको कुरा मनन गर्दै
जीवनलाई सन्तुलित बनाउने क्रम
चल्दैछ चलिरहने छ....!
किनभने,
मलाई राम्रोसँग थाहा छ
जबसम्म आफू रहन्छु
यो द्वन्द्व यसैगरी चलिरहने हो
तर पनि ढुक्क छु,
एउटा दिन त पक्कै पनि आउनेछ
न सिरकले अँठ्याएर राख्छ
न घडीले उठ्न दवाव दिन्छ
दुईटैको समस्याको जड भनेको
आखिर आफू नै पो रहेछु !
– पवित्रा चाम्लिङ, खोटाङ
१.
पुरै जवानीलाई पोखिदिन्छु भन्छ, आफैंले छल्केर ।
धुवाँ जस्तो आकाशमा हराउँछ रे, आगोमा सल्केर ।
पाउनु चाहेको सबै पायो, आज अर्कै आरोप लायो ।
आँखाको शक्ति नै कम भयो अरे, हिरा झैँ टल्केर ।।
२.
ऊसँगको मेरो मिलन, अलिकति छोटो थियो ।
सँगै बस्न नपाउने, तक्दिर दुबैको खोटो थियो ।
नजिक जाने हिम्मत छैन, आखिर ऊ मेरो हैन ।
उदास मन बुझाउन, मात्रै उनको फोटो थियो ।।
३.
भञ्ज्याङमा भेट्न बोलाइ, गएछ आखिर भागेर ।
पापीले रोडमा लतारेर छाड्यो, कोमल मुटु मागेर ।
अतितका पल भुलाउँदै, काँडाबिच फूल फूलाउँदै ।
तिम्रो हुनलाई बाध्य थिएँ, बद्नामको दाग लागेर ।।
४.
चन्द्र जस्तो मुहार मृग नयन, हेराइको चालले मार्यौ ।
लचक लचक लच्किने कम्मर, जिउ र डालले मार्यौ ।
बरु जसोतसो बतास छल्थें, आफुभित्र आफैं जल्थें ।
अध्यारोमा बालेको दियो, यौवनको छालले मार्यौ ।।
५.
उनको आवाज सुन्दैमा पनि, छट्पटी गराउने गर्छ ।
यौवनको मात चढेर होला, लाज डर हराउने गर्छ ।
नजर उनको छुरा होकि, रसिलो उनको कुरा हो खै ।
रित्तिएको यौवनलाई पनि, भरिभराउ भराउने गर्छ ।।
– सरस्वती पौडेल, भरतपुर, चितवन
आकाशका जुन, तारा अनि त्यो बादल हेरेर
फेदमै निदायो बच्चो रुखको काफल हेरेर ।
म चुँडेझको चप्पल लाएरै घरसम्म आइपुगेँ
शहर भरि अरुले लगाएको चप्पल हेरेर ।।
यो जिन्दगीले नै भाँडाकुटी खेलाइराको बेला
छोरछोरी रोइदिन्छन् खेलौनाको पसल हेरेर ।
छोरो परदेशियो, फर्केन अझै घरमा खोइ,
आमा रुँदै छिन् ढोकामा राखेको जल हेरेर ।।
अदालतले बिना सबुत पारपाचुके थमायो,
छोरालाई बाउ दिलाउ यसको सक्कल हेरेर ।
मायाले हो सम्बन्ध र जिम्मेवारी स्थायी हुने
घर नजलाउनु अरु कसैको ताज महल हेरेर ।।
–बद्री अधिकारी
चराचुरुङ्गीको चिरविर चिरविर आवाजले शान्त वातावरणलाई बिथोली रहेको थियो । मेरो आँखामा उसको मुहार नाँची रहकोले गर्दा बाहिरी वातावरणको मनमोहक दृश्यले मलाई आकर्षित गर्न सकिरहेको थिएन । प्रिय वस्तु टाढा भएपछि मानिसको मनलाई बिथोल्न काफी हुँदोरहेछ । साँच्चै मेरो मन पनि उसको पर्खाइमा बेचैन हुँदै थियो । मेरो बेचैनीलाई कस्ले बुझ्ने ! आफ्नै मान्छेले नबुझे पछि ! म यो कुरा कसैसँग साझा गर्नपनि सक्दिनँ र सक्ने कुरा पनि भएन । मेरी आमा मेरो सबै कुराको साझेदार हुँदाहुँदै पनि मेरो र उस्को माया प्रेमका कुरा सुनाउन सकिरहेकी थिइनँ । मेरी आमाले उस्लाई पनि निकै माया गर्नु हुन्थ्यो, गाउँको असल केटा ठानेर । हामी एउटै क्याम्पस पढ्दै थियौं । बि.ए.को दोस्रो वर्षमा । आज उस्ले मलाई बेतना सिमसार बोलाएको थियो । सिमसारको गेटले मलाई पनि अरूलाई जस्तै उभिएर स्वागत गरिरहेको थियो । म टिकट काटेर भित्र प्रवेश गरेँ । गोरेटो बाटोको दायाँबायाँ विभिन्न जातका फूलहरू फुलेका देखिँदै थिए । नजिकै रहेको सभाहलमा आउने जाने मानिसहरू दोहोरो क्रम चलिरहेको थियो । अगाडि बढ्दै मैले हातमा रहेको मोबाइलमा आँखा डुलाएँ । म आइपुगेको ३० मिनेट बितिसकेछ । प्रतिक्षाले मान्छेमा बेचैनी बढ्दो रहेछ । छट्पटीले धेर्यता गुम्दो रहेछ । मेरो बेचैनी मन उसँग क्रोधित हुँदै थियो । अवश्य आउनेछ भन्ने भरोसाले उप्रति क्रोधित भएको मेरो मनलाई सान्त्वना दिइरहेको थियो । म अलिकता मास्तिर लागेँ । छेकेर बनाइएको पोखरीमा मछाहरू खेलिरहेका देखिँदै थिए । उस्को प्रतिक्षामा छट्पटीएको मेरो मनलाई पोखरीमा आहाराको खोजिमा सलबलाई रहेका माछाको मनमोहक दृश्यले शान्ति प्रदान गरिरहेको थियो ।
यस्तो रमणिय स्थानको अबलोकनले केही समय मनको पीडाबाट मुक्ती मिल्दोरहेछ । साच्चै मान्छेको मन पनि बिछट्टको हुँदोरहेछ । त्यो मनमोहक दृश्यावलोकनले समय ब्यतित भएको मलाई हेक्कानै भएन । अचानक आफ्ना आँखा कसैका हातले पछाडी उभिएर छोपिदिएकोले म झस्किएँ । छोप्नेका हातहरूलाई छामे । हातहरू चिनेझै लाग्यो । असाध्यै मलाई मायागर्ने उही मेरो मायलु रूपेशपो रहेछ । मैले बिस्तारै आफ्ना आँखा बाट उस्का दुबै हात हटाउदै झर्किदै हातमा रहेको मोबाईलमा टायम हेर्दै भने । “कस्तो लाज नभएको निर्दयी मान्छे.....दुई÷दुई घण्टा अर्कालाई कुर्न लगाउने ।”
“ननिरासाउ न प्यारी...आमाले घरायसी सामाग्री खरिदका लागि बजार पठाउनु भयो र पो ढिलो भयो । तिमिसँग भेट्नु छ भन्न मिलेन !” उस्ले मेरो छेउमा बस्दै मायालु स्वर ओकल्यो ।
“कति समयसम्म हाम्रो प्रेमको कुरा लुकाउने ! एकदिन त भन्नै पर्छ ।” म ठुस्स परेर रिसाएझैं गरेँ । ममा पनि परिवारलाई उस्को र मेरो माया प्रीतिको कुरा सुनाउने आँट चैं थिएन ।
मेरो हातमा खुल्ला रहेको भुजाको पोकोबाट भुजा निकाल्दै पोखरीका माछालाई उ चारो हाल्न थालेथ्यो एकाग्र भएर । हाम्रो प्रेम यति झाङिई सकेको थियो कि हरेक दिन एकपटक एक अर्कासँग बोल्न पायौंन भने मणि हराएको सर्प जस्तो हुने गर्दथ्यौँ । यस्लाई के भन्ने ! आसक्ति या उपाशनिय प्रेम ।
म र रूपेशबीच त्यो दिन धेरै समयसम्म प्रेमको कुरा भए । प्रेमी प्रेमिकाले समय ब्यतित भएको होसनै पाउँदा रहेनछन् । हामीलाई पनि त्यस्तै भएको थियो । अर्को शनिबार फेरि घुम्न आउने वाचाका साथ मन नलागि नलागि घर तिर लागेका थियौँ ।
हाम्रो प्रेमको बारेमा क्याम्पसमा धेरै जसो विद्यार्थीलाई थाहा थियोे । कतिपय शिक्षकले पनि लख काटेको हुनसक्छ । रूपेशले पनि त्यो महसुस गरेको हुनुपर्छ ! किनकी सबैको सामु उ मसँग धेरै कम बोल्न थालेको थियो । घरीघरी लाइब्रेरीमा म एक्लै भएको मौकामा उ नजिक आउथ्यो पुस्तक पढने बहानामा । यदाकदा कोही नभएको मौका छोपेर म उसको गालामा म्वाई खाइदिन्थेँ ।
“धत् के गरेको अरूले देख्छ्न् । त्यसै त कुरा कटनेको संख्या बढिरहेको छ ।” मेरो नाक निमोठ्दै उ मुस्कुराउथ्यो ।
म पनि मस्किदै भनिदिन्थेँं, “डर छेरूवा ।”
“नकच्चरी...” यति भन्दै उ मलाई अँगालो मारेर अफ्ना ओँठ मेरा ओठमा जोडी दिन्थ्यो । म अत्तालिदै उसलाई घचेटेर आनन्दको अनुभूत गर्दै त्यहाँबाट भागेर बाहिरिने गर्दथेँ । मैले उसँग पौँठाजोरी नखेलेको भए उसमा यति ठूलो साहस उत्पन्न हुँदैनथ्यो । म आफूले आफैलाई दोषी मान्दै मन मनै मुस्कुराउथेँ । प्रेम पनि बिचित्रको हुँदो रहेछ ! मायालुको गल्ती चैँ नदेख्ने । त्यसैले प्रेम अन्धो हुन्छ भनिएको रहेछ क्यारे ! कथन जन्मदातालाई मनमनै धन्यवाद दिएकी थिएँ । यसैगरी आनन्द साथ दिनहरू बितिरहेका थिए ।
मेरो यो खुसी सुखी जीवनमा अचानक ग्रहण लागेकोले आँखामा निन्द्रा, पेटमा भोक थिएन । आमा र मेरा साथिहरूले बारम्बार सोधिरहेका थिए, “के भयो आजकल तिमिलाई ?”
मसँग उनीहरुको प्रश्नको जवाफमा बोल्ने शब्द नै थिएनन् । म केवल असमञ्जस भावले उनीहरूलाई टुलुटुलु हेरि रहन्थेँ । भनौँ कसरी ! त्यो कुरो सर्वव्यापक भयो भने ! मनमा त्यो विचार उब्जना साथ हातखुट्टा लुलिन्थे, डरले शरीर थरथरी काम्दथ्यो । मभित्रको चञ्चलता तुसारोले कठ्याङ्ग्रीन्थ्यो । सायद रूपेशलाई पनि मेरै जस्तो भइरहेकै होला । फोनको घण्टीले मेरो तन्द्रा भंग भयो । सिरानी मुनिको मोबाइल ढल्केको अवस्थामै उठाएँ । रूपेशको फोन रहेछ ।
“हेल्लो ! तिमी निदाएकी छैनौँ ?” उताबाट आएको रूपेशको बोझिलो स्वर कानमा ठोकियो ।
“उहुँ ....।“ मेरो असजिलो स्वर कोठामा छरियो ।
“विक्रान्तलाइ भोलि एउटा मोबाइल किनिदिनु पर्ला ! त्यो जस्तो जोरीखोजासँग सहज रूपले पिण्ड छुटाउन सकिँदैन । मसँग भएकोले पुग्दैन होला ।तीनहजार तिमिसँग छ ?”
“त्यतित पुग्छ होला ।”
भयभीत मान्छे मुक्तिको लागि झटपट तयार हुँदोरहेछ । हामीलाई मुक्ति चाहिएको थियोे अनि त्यस्को बदलामा विक्रान्तलाई मोबाइल । विक्रान्त फटाहा स्वभावको र उसका साथीहरू पनि त्यस्तै थिए । हामी गाई प्राणी कसरी उनीहरूसँग भिडन्त गर्न सक्दथ्यौँ । बलवानले मौका मिलाएर कमजोरसँग फाइदा उठाउदो रहेछ । विक्रान्तले पनि हामीसँग फाइदा लिइरहेको थियो । मनले नमान्दा नमान्दै पनि हामी लाचार थियौँ विक्रान्तको फर्माइस पुरा गर्न ।
खुसुक्क विक्रान्तले लाइब्रेरीमा पसेर रूपेश र म जीस्कनु, इत्रिनु गरिरहेको अबस्थाको फोटो र पाँच सेकेण्डको भिडिओ बनाउन भ्याएछ । जस्मा रूपेशले मेरा ओठमा म्वाइ खाइरहेका लाजमर्दो दृश्य प्रस्टै देखिन्थ्यो । त्यही भिडिओ र फोटो देखाएर उ हामीलाई धम्क्याउदै थियो । सिधै भनौं उ हामीलाई ‘ब्ल्याकमेल’ गरिरहेको थियो । रूपेश र मैले बिक्रान्तसँग असंख्य पटक विन्तिभाउ ग¥यौं । उसँगको हाम्रो फोटो र भिडिओ डिलेट गरिदिनु भनेर । कसाईको अगाडी बाख्राको आँसुको के अर्थ ! पटक–पटकको बिन्तिभाउ पछि उसले एउटा राम्रो मोबाइल दिएमा डिलेट गरिदिने बचन दिएको थियोे ।
बाजको पन्जामा परेको परेवाले जस्तो अनुभव गर्छ, त्यस्तै अनुभूति भैरहेको थियो हामी द्वयलाई । मोबाइल दिँदा दुष्ठको पञ्जाबाट छुटकारा पाउने झिनो आशले मेरो मनको एउटा कुना रमाएको थियो । सायद रूपेशले पनि शान्तिको स्वास फेर्न थालेको थियोे होला ! यो मेरो अनुमान मात्र हो । जीवनमा आफूले गरेका धेरै अनुमानमध्ये कतिपय अनुमान यथार्थमा परिणत भएका थिए । झिनो यहि आशाको त्यान्द्रोको सहाराले हिमालयको उचाई छिचोल्दै सुख स्थापित गर्ने इच्छा बोकि अर्कोतिर फर्केकी थिएँ निदाउने उपक्रम गर्दै । हामीबाट मोबाइल हात पारेपछि फोटो र भिडिओ डिलेट गर्न आलटाल ग¥यो । बचन पुरा गर भनी हामीले कर गर्दा उल्टै धम्कि दिन्थ्यो ।
“अरे बबा... दुईचार दिनभित्र गरिदिन्छु । रडाको मच्चाउने हो भने सबैतिर साझा गरिदिन्छु ।” इमानदारिताको पहिचान सिष्टतासँग जोडिएको हुन्छ भन्ने ज्ञान त्यो दिन मलाई पलाएको थियो । अभद्र मान्छे कसरी इमानदार हुन्छ ?
“अर्काको भर भोकभोकै मर ।” यो उखान मेरो जीवनमा पहिलोपटक चरितार्थ भएथ्यो । विक्रान्तलाई हाम्रो फोटो र भिडिओ दुहुनो गाई भएको थियो । उसँग वैरभाव बढाउने पक्षमा पनि थिएनौं । उसको कुरा स्विकार्नु नै हाम्रा लागि हितकर थियो । हामीलाई दोहन गर्न पाउन ज्याल उसले हाम्रो कमजोरी सार्वजनिक गर्दैन भन्नेमा हामी आशावादी थियौँ । उसको धुत्र्याइँ प्रतिदिन बढिरहेकोले हामी आजित भैसकेका थियौं । लाजमर्दो कुरामा साथी र आफन्तलाई सुनाएर सर सहयोग लिन सक्ने स्थिती पनि थिएन । रूपेश लोग्नेमान्छे म जति डराएको थिएन होला ! तर मेरो चै नौनारी गलेको थियो, मस्तिष्कमा यहि कुराले डेरा जमाएकोले गर्दा ।
आज शरीरभरि आलस्य छाएकोले म क्याम्पस जाने मुडमा थिइनँ । आमाले मेरो लामाकेश सुमसुम्याउदै औधी मायालु स्वरमा सोधिरहनु भयो, “आजकाल तिमिलाई के भएको छ भनेर ?”
आमाको स्नेहले मभित्र भित्रै क्रमिक रूपले पग्लदै थिएँ । अधमरो भएको मेरो शरीरभरि केही ताजापन महसुस हुँदै थियो । आमा घरी मेरो केश त घरी पिठ्युँ सुमसुम्याई रहनु भएको थियो । आमाको ममता साच्चिकै शक्तिशाली हुँदोरहेछ । शक्ति प्रदानकर्ता आमाको सामुन्ने म निष्ठुरी हुन नसक्ने अबस्थामा पुगिसकेकी थिएँ । आखिर अतीतमा मेरा सबै कुराको साझेदार र प्रिय परामर्शदाता हुनु भएकै थियो । झन अप्ठ्यारो परिस्थितिमा असल सल्लाहकार हुन नसक्ने कुरै भएन । म आमालाई झ्याम्मै अँगालो मारेर क्वाँ क्वाँ रून थाले । उहाँले पनि मलाई छातीमा टाँसेर स्नेहपूर्ण ढंगले मेरो पिठ्युँ सुमसुम्याइ रहनुभयो । केही क्षणको रूवाई पछी मैले आमालाई रूपेशसँगको प्रेम र विक्रान्तले हामीमाथि गरेको सबै अत्याचारको आद्योपान्त वर्णन गरेँ ।
“रूपेश तिम्रो लागि योग्य नै छ । आखिर तिमीहरू एक अर्कासंँग प्रेम गर्दछौ । माया गर्नेबीच त्यतिको छेडछाडलाई स्वभाविक मानिन्छ । जहाँसम्म विक्रान्तको कुरा छ, तिमिहरू डराउनन्जेल उसले तिमिहरूलाई धम्याई रहन्छ । डरले मान्छेलाई कायर बनाउछ । कायरता मुक्तिको उपाय होइन । तिमी क्याम्पस जान तयार हौ । म कानूनविद्संँग सल्लाह गरेर विक्रान्तको पन्जाबाट तिमीहरूलाई छुटकारा दिलाउनेछु । म माथी भरोसा राख ।” आमा मलाई शात्वना दिदै भान्सा तिर लाग्नुभयो । आमाको आश्वासनपछि मभित्रको डर केही मत्थर भएकोले क्याम्पस जाने तयारीमा जुटेँ ।
आफूलाई आइलागेको आपत बाबु आमालाई सुनाउदा समाधानका उपाय स्वयम् आफूभित्र स्वस्फूर्त उत्पन्न हुँदा रहेछन् । क्याम्पस जाँदा आज चैँ मेरो मन हल्का र फूर्तिलो भएको अनुभूति हुँदै थोयो । रूपेश र म हतारमा कक्षाकोठा तिर लाग्दै थियौं । अचानक विक्रान्तले बाटो छेक्दै जिस्क्यायो । “के छ त प्रेमिहरू ! आजत टिफनमा नास्ता खुवाउने हैन ?”
“अर्काको के आश गर्छौं । आफू किनेर खान सक्दैनौं ! हुतीहारा ।” मैले झर्कदै जवाफ दिएँ ।
“जो चोर उसको ठूलो स्वर ! नत्र फेरि...।” उ हातमा भएको मोबाइल हामीलाई देखाउँदै थियो ।
उसको ठूलो स्वरलाई उछिन्दै म झन कड्किए, “के गर्छौ ? हाम्रो भिडिओ र फोटो तिमीसँग छ भनेर धम्क्याएको ! अब तिम्रो धम्कीले हामी डर्नेवाला छैनौं ।” यति भन्दै चितुवाको वेगले झम्टेर विक्रान्तको हातको मोबाइल खोसेर पिच सडकमा वेगले पछारेँ । हेर्दा हेर्दै मोबाइल चकनाचुर भएर छरपस्ट भयो । उसले कल्पनासम्म नगरेको घटना मद्वारा घटिसकेको थियो । उ विस्मित साथ घरी मलाई घरी मोबाइलका यत्रतत्र छरिएका टुक्राटुक्रीलाई हेरिरहेको थियो । उसलाई म चोरीऔंला ठड्याउदै सिंहले झैँ गर्जिएँ ।
“विक्रान्त ! तैंले अझै हामीलाई र हाम्रा साथीहरूलाई यस्तो दुःख दिइस भने साइबर क्राइमअन्तर्गतको मुद्दामा तँलाई जेलनेल ठोक्ने छौं । हाम्रो परिवारलाई रूपेश र मेरो प्रेमको बारेमा जानकारी छ । निकट भविष्यमा हाम्रो विवाह हुँदैछ । निम्तो गरौंली आउन मनलागे आउनु ।” क्रोघले म तिमीबाट तँ मा उत्री सकेकी थिएँ । मेरो शरीर थरथर कामिरहेको थियो । स्वासको गति तिब्र भएकोले स्वा...स्वा.. हुँदै थिएँ ।
विक्रान्त कालोनिलो हुँदै शिर निहुराएर असहाय तरिकाले उभिएको थियोे । सायद मेरो परिवर्तित रूपबाट उ चकित भएको थियो क्यारे । उसको च्याँखे मैले अचानक मारेकोमा उ हतास देखिँदै थियो । दुई÷चार जना विद्यार्थीहरूले हामीलाई गोलाकार रूपले छेकेर घटनालाई उभिएर उत्सुकतासाथ हेरिरहेका थिए । घटना उत्सुकता जन्माउने खालको नै भइरहेको थियो । उभिएर हेर्नेहरूको आँखामा मेरो लागि स्याबासी झल्किरहेको देखिन्थ्यो । हेर्नेहरूले विक्रान्तलाई खुच्चिङ भनेर केवल मुख फोर्न सकेका थिएनन् झैँ भान हुन्थ्यो । मेरो पिठ्यूँमा धाप मार्दै रूपेशले हर्षित स्वरमा भन्यो । “क्याबात..! मेरी सिंहनी हिम्मतवाली ! क्लास लागिसक्यो होला ! अब ढिला नगरौं ।”
विक्रान्त शिर निहुराएर उभिएको उभिएकै थियो । उ बिरोधमा बोल्ने र हाम्रो बाटो छेक्ने कुनै काम गर्न सकिरहेको थिएन । उ कमजोर भएको छ भन्ने त्यहाँ उपस्थित सबैले मापन गरिसकेका थिए ।
मैले सरसर्ती रूपेशलाई हेरेँ । उसको ओठमा मुस्कान नाचिरहेको थियो । साहसले बौरिएको खुसी संँगाल्दै म पनि रूपेशको हात समाएर कक्षा कोठा तिर लागेँ मनमनै रमाउँदै ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies