
नेपाली साहित्यले यथार्थका विविध आयामलाई कलात्मक रूपान्तरणमार्फत समाज, समय र व्यक्तिबीचको अन्तरसम्बन्ध उजागर गर्दै आएको छ । विशेषगरी उपन्यास विधाले सामाजिक र सांस्कृतिक परिवेशमा मानव चेतनाको जटिलता र संवेदनशीलतालाई प्रस्ट पार्ने सशक्त माध्यमका रूपमा काम गरेको छ । यसै सन्दर्भमा चन्द्रलाल तामाङको ‘औंसीको जून’ नेपाली उपन्यास जगतको एक उल्लेखनीय कृति हो, जसले प्रेम, संघर्ष र सामाजिक चेतनालाई मनोवैज्ञानिक तथा दार्शनिक धरातलमा स्थापन गरेको छ ।
सिन्धुलीको गोलन्जोर–४ मा जन्मिएका तामाङ परम्परागत संस्कृतिको आदर गर्दै आधुनिक चेतनासँग निर्भीकतापूर्वक सिर्जनशीलता पोख्ने सशक्त साहित्यकार हुन् । उनको लेखनीमा लोकजीवनको गहिरो बोध, मानवीय संवेदना र विचारको सौन्दर्य सन्तुलित रूपमा अभिव्यक्त हुन्छ । उनको सिर्जनाले परम्परा र आधुनिकताको सुन्दर संगम प्रस्तुत गर्दै समग्र नेपाली साहित्यलाई नूतन चेतना प्रदान गर्छ । उनको हालै प्रकाशित ‘औंसीको जून’ उपन्यास अहंकारको अन्त्य र आत्मसाक्षात्कारको कथा हो । मानवीय पीडा, भ्रम, घृणा र यथार्थबीचको द्वन्द्वलाई लेखकले अन्तरचेतनाको तहमा खोलेका छन् । मानिसको अन्तरचेतनाबाट उत्पन्न विचार नै आत्मबोध र सत्यतर्फको यात्रा हो भन्ने धारणा यस कृतिले उजागर गर्छ ।
यस उपन्यासमा मौनतालाई प्रतिरोधको रूप, प्रेमलाई अस्तित्वको खोज र आत्मबोधलाई समयको गतिशीलताका रूपमा चित्रण गरिएको पाइन्छ । यसरी उपन्यासमा केवल मनोरञ्जन वा घटनाको विवरण मात्र नभई नेपाली समाजको संरचनात्मक द्वन्द्व, मानव अस्तित्वको बौद्धिक संघर्ष र सांस्कृतिक चेतनाको गहिरो दर्शन छ ।
उपन्यासको संगठनात्मक संरचना
उपन्यास संरचनात्मक दृष्टिले बहुआयामिक र व्यवस्थित छ । यसमा व्यक्तिगत, पारिवारिक, सामाजिक र नैतिक आयामहरूलाई स्पष्ट अनुक्रममा प्रस्तुत गरिएको छ । उपन्यासको प्रारम्भ नारायण वासुको बाल्यकालको सम्झनासँगै जीवनको नयाँ यात्रा र संघर्ष, किशोर अवस्थामा विपरीत लिंगप्रतिको आकर्षण र त्यसले निम्त्याएका प्रगतिशील आयाम, यसबीच गीता पात्रको प्रवेशले नारायणको जीवन नदीझैं सलल अगाडि बढ्छ । राजनीति र त्यसले पारेको प्रभावको चिरफार हेमा पात्रमार्फत गरिएको पाइन्छ । गीताको जीवनमा सुवास नामको पात्र प्रवेश भएपछि कथाले नयाँ मोड लिन्छ । यही मोड कथाको मियो बन्दै अगाडि बढ्छ ।
कथाको उत्कर्ष नायकको आत्मबोध, क्षमा र पुनर्मिलनमा देखिन्छ । विदेशमा रहँदा नायकले गरेको गल्ती र त्यसको परिणामसँग जुधेर उनले आफ्नो अहंकार नष्ट गर्दै जीवन पुनर्निर्माण गर्छन् । उत्कर्षले कथा भावनात्मक र नैतिक रूपमा सशक्त बनाउँछ । गीतामार्फत परिवारमा स्थायित्व, सुवासको स्वास्थ्य सुधार र पारिवारिक मेलमिलापले कथा समाधानतर्फ अग्रसर हुन्छ, जसले पाठकमा समाजशास्त्रीय, नैतिक र भावनात्मक सन्तुलनको अनुभव गराउँछ ।
कथा बहुआयामिक छ । यसले व्यक्तिगत पक्ष (नारायणको आमा, नारायण, गीताको जीवन संघर्ष, सुवासको स्वास्थ्य, गीताको पारिवारिक हेरचाह), सामाजिक पक्ष (नारी–पुरुष समानता) र नैतिक पक्ष (क्षमा, सेवा, जिम्मेवारी)लाई एउटै संरचनामा मिसाएको छ । यसरी कथाको संगठनात्मक संरचनाले गहिरो अर्थ र बहुआयामिक दृष्टान्त प्रदान गर्छ । कथाका प्रत्येक चरण–संकट, सेवा, आत्मबोध, पुनर्मिलन–मुख्य विषयसँग जोडिएका छन् । संरचना केवल घटनाको क्रम मात्र नभई नारीको शक्ति, प्रेम, क्षमा, समाज र नैतिक आचरणलाई एकीकृत ढाँचामा प्रस्तुत गर्छ । विषयगत दृष्टिले सुसंगत, व्यक्तिगत, पारिवारिक, सामाजिक र नैतिक आयाम क्रमबद्ध तर सजीव ढंगले प्रस्तुत गरिएको छ, जसले कथालाई केवल मनोरञ्जनात्मक नभई बौद्धिक, समाजशास्त्रीय, नैतिक र सौन्दर्यात्मक दृष्टिले प्रभावकारी बनाएको छ ।
सिद्धान्त र दृष्टिकोणबाट नियाल्दा
औंसी अन्धकारको रूपक हो भने जून आशाको प्रतीक हो । यसले नेपाली समाजको अस्तित्ववादी द्वन्द्व–अन्धकार र आशाबीचको संघर्षलाई मूर्त रूप दिन्छ । ‘औंसीको जून’ उपन्यासलाई समाजशास्त्रीय दृष्टिकोणले हेर्दा व्यक्तिगत मात्र नभई पारिवारिक र सामाजिक संरचनासँग गहिरो रूपमा जोडिएको देखिन्छ । नारायणको विदेश बसाइ, युवामा विदेश–पलायनवादी जीवनशैली र परिवारप्रतिको दूरीले देखाउँछ कि व्यक्तिगत असफलता सामाजिक संरचनाबाट पनि प्रभावित हुन्छ । गीता यहाँ सामाजिक स्थायित्व र जिम्मेवारीको प्रतिमूर्ति हुन् । आमा, गृहिणी र सहचरीका बहुआयामिक भूमिकामार्फत उनले परिवारलाई सन्तुलनमा राख्छिन् । यसले नारीको योगदान, शक्ति र सामाजिक उत्तरदायित्वलाई स्पष्ट पार्छ ।
नारायण–गीताबिचको पुनर्मिलन केवल व्यक्तिगत प्रेम मात्र नभई सामाजिक न्याय र सहिष्णुताको प्रतीक हो । यसले नारी–पुरुष समानता, दुवैको बराबरी जिम्मेवारी र परिवारको महत्त्वलाई उजागर गर्छ । कथाले देखाउँछ कि समाजमा सहकार्य, क्षमा र मानवता अनिवार्य मूल्य हुन् । यसरी कथाले परिवार, समाज र व्यक्तिगत जीवनबीचको अन्तरसम्बन्ध प्रस्ट पार्छ । प्रेम, सेवा र जिम्मेवारीको संयोजनले सामाजिक न्याय र सहिष्णुताको आदर्श प्रस्तुत गर्छ ।
सुवासको उद्योगतापूर्ण जीवन, रक्सी–चुरोटमा डुबाइ र परिवारप्रतिको जिम्मेवारीमा असफलता कथाको अँध्यारो पक्ष हो, जसलाई गीताको प्रेम, सेवा र समर्पणले उज्यालो बनाउँछ । गीता यहाँ आमा, साथी, चिकित्सक र प्रेरकका बहुआयामिक रूप प्रस्तुत गर्दै नारीको शक्तिशाली तर संवेदनशील सौन्दर्य प्रकट गर्छिन् । प्रेम, क्षमा र पुनर्मिलन कथाको सौन्दर्यात्मक उत्कर्ष हुन् । नारायण–गीताको पुनर्मिलन केवल व्यक्तिगत सम्बन्धको पुनस्र्थापना होइन, यो जीवनको नैतिक र सौन्दर्यात्मक पुनर्जागरणको प्रतीक हो । यसले देखाउँछ कि मानवीय कमजोरी र गल्तीका बाबजुद प्रेम, आस्था र जिम्मेवारीमार्फत जीवनलाई पुनः सुन्दर बनाउन सकिन्छ । नारी–पुरुष समानता, सम्बन्धको स्थायित्व, वृद्ध र बालबालिकाको हेरचाहजस्ता मूल्यहरूले कथालाई समाजव्यापी अर्थ प्रदान गर्छन् । यसरी नारीत्व, संवेदनशीलता र जीवनका उज्याला–अँध्यारा दुवै पक्षलाई सौन्दर्यपूर्ण ढंगले प्रस्तुत गर्दै कथाले पाठकमा गहिरो भावनात्मक र नैतिक प्रभाव पार्छ ।
उपन्यासका महिला पात्रहरूको पीडा, मौनताभित्रको सत्यता केवल व्यक्तिगत शून्यता मात्र होइन, पितृसत्तात्मक अवैधानिक संरचनाले थोपरेको वैधानिकता हो । उनीहरूको प्रतिरोध, अस्वीकार र आत्मसमीक्षाले विद्यमान असमानताको रेखाहरू भत्काउनुपर्छ भन्ने भाव देखाउँछ । जनयुद्ध, संघर्ष, अपांगता, अपूर्ण सपना, घाइतेपना, उपचार, शान्ति प्रक्रिया, राजनीतिक संक्रमण र आजको निराशाजनक अवस्थाबीच भावनात्मक सहानुभूति र ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमि–२०६२/६३ को जनआन्दोलन, समग्र राजनीतिक व्यवस्था र माफियाकरणप्रति गहिरो आक्रोश–उपन्यासमा अभिव्यक्त गरिएको छ । यसरी व्यक्तिगत अनुभव र सामूहिक राजनीतिक यथार्थलाई जोड्नु उपन्यासको ठुलो बल हो । प्रत्यक्ष संवाद र आत्मकथ्य शैली प्रयोग भएकाले कथा जीवित र रोचक बनेको छ ।
राजनीतिक आक्रोशलाई काव्यात्मक भाषाशैली–‘सिंहदरबार छिरेका स्यालहरू...’, ‘देशको आकाशमा झन्डा फर्फराउँछ तर हावामा माफियाको गन्ध मिसिएको छ’–जस्ता गहिरा अभिव्यक्तिले क्रान्तिचेतनासँग जोडिएको देखिन्छ । सँगै, मनोवैज्ञानिक दृष्टिले ‘औंसीको जून’ आत्मविनाश, अपराधबोध र अस्थिरताबाट पुनर्जन्मको यात्रा हो । सुवासले रक्सी र पलायनमार्फत मानसिक पीडा लुकाउँछन् भने गीता प्रेम, क्षमा र समर्थनमार्फत उनलाई जीवनतर्फ फर्काउने प्रयास गर्छिन् । गीता केवल सुसारे मात्र होइनन्, चिकित्सक, आमा र साथीका भूमिकामा सुवासलाई भावनात्मक सन्तुलन दिन्छिन् । त्यस्तै, नारायणको प्रेमलाई सन्तुलनमा राख्न स्वयं भ्रमको भुमरीमा फसेर पनि गीता प्रेमलाई पुनरुत्थानको भूमिकामा प्रस्तुत गर्छिन् । कथाको मुख्य मोड आत्मबोध र सत्यलाई स्वीकार गर्नु नै हो, जसले अपराधबोधलाई शुद्धीकरण गर्दै पुनर्मिलन र मानसिक उपचार सम्भव बनाउँछ ।
यस उपन्यासमा पारम्परिक लेखनशैलीका अतिरिक्त उत्तरआधुनिक दृष्टिकोणको प्रयोग पाइन्छ । कथानकको रैखिकताभन्दा बढी अनुभवहरूको खण्डीकरण, स्मृतिका झिल्काबाट भविष्य हेर्ने दृष्टिकोण, जीवित मनको सत्यानुभूतिमार्फत मौनतालाई विखण्डित गर्ने प्रवृत्ति देखिन्छ । आधुनिक जमानाको विखण्डित विचारलाई पारम्परिक जीवनदर्शनमार्फत जोगाइ राख्ने उच्च कोटिको भूमिका यसले निर्वाह गरेको छ । ठाउँ–ठाउँमा प्रयोग भएको प्रविष्ट गद्यात्मक शैलीले पारम्परिक लेखनलाई अझ मिठास र रौनकतर्फ तानेको छ ।
प्रेमलाई उपन्यासमा न केवल रुमानी भावनाको रूपमा देखाइएको छ, न त शारीरिक आकर्षणको रूपमा मात्र । यसलाई समग्र प्राणी अस्तित्वको जननीका रूपमा चित्रण गरिएको छ । तर प्रेमभित्र देखाइएको दरार, आत्मालोचना, प्रायश्चित र समझदारीले विश्वासको संकट, अनिश्चितता, असुरक्षा र प्रेम अभावलाई देखाउने प्रयास गरेको छ । अन्त्यमा प्रेम विश्वास र समझदारीमा नै जीवित रहन्छ भन्ने सन्देश दिएको छ ।
उपन्यासका पात्रहरूको बहुआयामिक चरित्रले प्रेम, पीडा, असमानताको द्वन्द्वात्मक अवस्थाबाट गुज्रँदै अन्त्यमा मिलनको सुखानुभूतिको विसर्जन पाउँछ । नारी पात्रहरू कोमल, अबोध र निर्दोष भए पनि क्षमाशील, सहनशील, स्विकारोक्तिपूर्ण र भविष्यप्रति आशावादी देखिन्छन् । सत्यको लडाइँमा उनीहरू नै विजयी हुन्छन् । पुरुष पात्रमा अपराधबोध, आत्मसंघर्ष र उद्धारताका आयाम प्रबल देखिन्छन् । पात्रहरूले हतियार उठाउँदैनन् तर कारुणिक क्रान्ति गर्छन् । सत्यलाई स्वीकार्छन्, अहंकारको अन्त्य र सहअस्तित्वको सिद्धान्तको उदय गराउँछन् ।
निष्कर्ष
‘औँसीको जून’ केवल प्रेमकथा होइन; यो मौन विद्रोह, सामाजिक विद्रोह, प्रेममा सहअस्तित्ववादी खोज, आत्ममोचन र सत्यताको जीत हो । यसले नेपाली समाजको लैङ्गिक असमानताको प्रतिरोधलाई कलात्मक रूपमा अभिव्यक्त गर्छ । मिथक, प्रतीक र रूपकको गहन प्रयोगले पुस्तकलाई नयाँ उचाइ दिएको छ । चन्द्रलाल तामाङको यस कृतिले नेपाली उपन्यास परम्परामा नयाँ आयाम थपेको छ । यो नारीत्व, समाज, पारिवारिक जिम्मेवारी, आत्मबोध र नैतिक पुनर्जागरणको बहुआयामिक चित्रण हो ।
यसले व्यक्तिगत र सामाजिक जीवनका चुनौती, गल्ती र त्यसपछि क्षमामार्फत पुनर्जन्मको मार्ग प्रस्तुत गर्छ । गीता र नायकको पुनर्मिलनले देखाउँछ कि जीवनमा असफलता वा व्यक्तिगत त्रुटि भए पनि प्रेम, सेवा र नैतिक प्रतिबद्धताबाट जीवनमा उज्यालो फर्कन सक्छ । यो कथा बहुआयामिक र प्रेरणादायक दृष्टान्त बनेको छ । यसले जीवन, समाज, परिवार र मानव संवेदनशीलताको वैज्ञानिक विश्लेषण गरेको छ । व्यक्तिगत मनोविज्ञान, पारिवारिक, समाजशास्त्रीय र नैतिक विज्ञानलाई एकसाथ प्रस्तुत गर्दै यसले नारीको शक्ति, पुरुषको जिम्मेवारी, सामाजिक न्याय, प्रेम, क्षमा र पुनर्मिलनको बहुआयामिक भावनात्मक अन्तर्दृष्टि प्रदान गर्छ ।
यो कृति केवल एउटा उपन्यास मात्र नभई समय, समाज र मानवीय चेतनाको दस्तावेजका रूपमा अवतरित भएको छ । यसले युगको संवेदना, मान्छेको पीडा र प्रेमका विविध आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । चन्द्रलाल तामाङको लेखनशैलीमा मौलिक दृष्टि, गहिरो मनोविश्लेषण र सशक्त अभिव्यक्तिको समन्वय पाइन्छ, जसले उनलाई आधुनिक नेपाली उपन्यास लेखनमा एक सशक्त परिचय दिलाउने सुनिश्चित देखिन्छ ।