– रञ्जु खनाल
“अहा ! कति मिठो अचार ! भाउजू अझै थप्नुहोस न” छिमेकी गोपाल आफ्नो आधा खानाको थाल प्रिया सामु तेस्र्याउँछ । प्रिया मन्दा मुस्कानकासाथ गोपाललाई आलुको अचार थपिदिन्छिन् ।
“कस्तो मिठो, कसले बनाएको भाउजू ? तपाईले हो ?” पुनः प्रश्न गर्छन् गोपाल ।
यतिबेलासम्म प्रिया बोलेकी थिइनन् । बल्ल मुख खोलिन्, “कहाँ हुनुनी बाबु ! आपूmलाई कमजोरीले कस्तो भाउन्न होला जस्तो भाको छ । यो जूठो बार्ने काम पनि साह्रै गाह्रो ! हजुरलाई के थाहा ? बाह्रदिनसम्म नुन नखाँदा त नचलान झिँगा जस्तो पो हुँदो रैछ । तपाईलाई जूठो बार्न पर्याभापो थाहा हुन्थ्यो नि !” नखरा पार्दै प्रियाले आफ्नो प्रिया वाणी बोलिन् ।
खरदार शूरवीर सरकारी नोकरी गर्दथे । दुई सन्तानको लालन पालन, घरखच टारेर आफ्नी अर्धाङ्गीनीको आवश्यकता पूरा पार्न उनीलाई हम्मे हम्मे पर्दथ्यो । कवीर र रवि स्कुल जाने भैसकेका थिए । सरकारी स्कुलमा पढाइ राम्रो नहुने हुनाले गाँस कटाएरै भए पनि बोर्डिङ स्कुलमा भर्ना गरिदिए । आपूmले जति दुःख र संघर्ष गर्नु परे पनि आफ्ना दुई छोराहरूले दुःख खेप्न नपरोस् भन्ने ध्येय थियो शूरवीरको । दुःख जिलो गरेरै भएपनि आफ्ना दुई छोराहरूलाई बोर्डिङ स्कुलमा भर्ना गरेका थिए ।
“हुने विरूवाको चिल्लो पात” भनेझैँ जेठो छोरा कविर पढाइमा उत्कृष्ट हुँदै गयो तर, कान्छो छोरा रवि भने पढ्नमा एक नम्बरको अल्छि अनि फटाहा भएर निस्क्यो । भूmटो बोल्नमा पनि माहिर थियो । विस्तारै विस्तारै रवि कुलत र कुसंगतमा फस्दै गई दलदलमा भासिदै गयो । दाजु कविर भने आफ्नो मिहिनेत र लगनशीलताले गर्दा अन्तराष्ट्रिय छात्रावृत्ति पाएर पढ्न वेलायत गयो । पढिसकेर उसले बेलायतमा नेपाली केटीसँग वैवाहिक सम्बन्ध गाँसेर बस्यो । छोराले आफ्नो अनुपस्थितिमा र आफ्नै मर्जिमा विवाह गर्यो भनेर कविरको आमाले धेरै चित्त दुःखाएकी थिइन् ।
केही समयपछि छोरा, बुहारी अनि सानो नाति काठमाडौं फर्केर आए । नातिको मुख देखेपछि मात्र शान्त भएकी थिइन कविरकी आमा । यी बितेका पलहरू संझेर गहभरी आँसु छछल्काएर कोठामा अतीतका घटनाको स्मरण गर्दछन् शूरवीर । तल भान्छामा खाना पाकेर छरछिमेक र पाहुनाहरूले प्रायः खाइसकेका थिए । तर, शूरवीरलाई कसैले खान बोलाएन । बृद्ध शरीर त्यसमाथि भर्खर श्रीमतीको मृत्यशोकले कमजोर भएको शूरवीको शरीर शिथिल बनेको देखिन्थ्यो ।
तर, तल भान्छामा, खाना खाने ठाउँमा अट्ठहासको हाँसो गुञ्जिरहेको थियो । आज आमा मरेकी बाह्र दिन बितेको छैन, शुद्ध शान्तिको भोज त्यति रमाइलो गरी खाइरहेका छन् । मानौ यस घरमा मृत्युभोज नभएर बिहेको भोज चलिरहेछ । आफ्ना साथीभाइ र पाहुनावीच कविरले गरेको कुराकारनीले शूरवीरको मुटु चिरिएर आयो यिनीहरूलाई आमा मरेकीमा केही दुःख छैन । मानौं आमाको मृत्यु होइन, छोराको जन्म भएको छ, त्यहाँ ।
भोक र प्यासले शूरवीरलाई छट्पटी भो । तल भान्छामा गएर खाना मागे । यतिकैमा प्रियाले भनिन्, “यो के गर्नु भएको बा ? एकछिन भोक खप्नु सक्नु हुन्न ? निम्तालुहरूले खाइसके कै छैनन् !” बोलिमा सही थाप्दै कविर बोल्यो, “कति हतार गर्नुभाको बा ! तपाईले ? एकछिन कुर्न सक्नु हुन्न ? इज्जतको पनि ख्याल गर्नु पर्यो नि !” बोल्ने शक्ति थिएन शूरवीरको । ओठ मुख सुकेको थियो, भोकले गर्दा उभिने शक्ति पनि थिएन । तै पनि छोरालाई प्रत्युत्तर दिँदै भने, “हो बाबु, तँ सानो छदाँ एकछिन दूध खान नपाएर रूँदा तेरी आमाको र मेरो मुटु चस्कन्थ्यो । आज मैले भोक लागेर खाना माग्दा तेरो इज्जत जाने भो हैन ? म बस्छु बाबु, सहेरै बस्छु ।”
केही नबोली कविर हिँड्यो । वरण्डामा निम्तालु अम्यागतहरूको गफ चलिरहेको थियो । शूरवीर सुरूक्क माथि गएर ओछेनमा पल्टिए । यो घर उनलाई विरानो भयो । कति दुःख गरी गृहस्थी जीवनरूपी बगैँचालाई गोडमेल गरी ममताको जल सिञ्चित गरेका थिए उनले । आज त्यो बगैंचामा खडेरी पर्यो । पटपट धाजा फाटेर चिरा चिरा पर्यो । शूरवीरको संसार अध्यारो भयो । तेल सकिएर निम्न लागेको बत्ती जस्तै । उनीलाई भोज खानेहरूसँग पनि रिस उठ्न थाल्यो । शूरवीरको आत्मा रोइरहेको थियो । दुवै आँखाबाट अविरल रूपमा आँसु झरिरह्यो, वर्षे झरी झैँ ।
जेठो छोरोलाई पाहुनाको स्वागत गर्दै फुर्सद थिएन । कान्छो छोरो रवि आफ्नै तालमा व्यस्त थियो, गँजडीहरूको माझमा । कसले हेर्ने ? बृद्ध बाबुलाई ? त्यसमाथि पनि भर्खर पत्नी वियोगमा तड्पिएको लाचार विवस विधुर बुढालाई ? न समाउने हाँगो, न टेक्ने खुड्किलो भने जस्तै हालत थियो शूरवीरको !
त्यस दिनको शुद्धशान्तिको काम सकियो । सबै पाहुनाहरू विदा भएर आ–आफ्ना गन्तव्यतिर हिँडिसकेका थिए । बेलुकी शूरवीर कोठामा आफ्नी मरेकी श्रीमतीको तस्बीर अगाडि राखेर घोरिइ रहेका थिए । आँखाबाट वर्षायामको बाढी बगेझैँ अविरलरूपमा शूरवीरको अश्रु बगिरहेको थियो । उक्त अश्रु बगेको दुवै छोराहरूले देखे या देखेनन् बुढा बाबुलाई थाहा भएन ।
श्रीमतीको काम सकिएको चार दिनपछि बेलुकी शूरवीरले दुवै छोराहरूलाई आफ्नो कोठामा बोलाए । जेठी बुहारी प्रिया पनि कविरको पछाडि आएर बसिन् । ससुराको सम्पत्तिमा हेराफेरि गरी कान्छो छोरो रविले मात्र हात लगाउला भनेर निकै चनाखो थिइन् प्रिया । दुवै छोरालाई लक्षित गर्दै हार्दिक अनि कारूणिक भावले शूरवीर बोले, “बाबु हो, मलाई एक्लो र असहाय पारी तिमीहरूकी आमाले छाडेर गैहाली । अब मेरो बारेमा के सोचेका छौ त ?”
एकछिन् सन्नाटा छायो ! कोही पनि बोलेन । निःशब्द निस्तेज, कोठा पूर्णं शून्यतामा विलायो केवल शूरवीरको मनभित्र मात्र कोलाहल थियो । जीवनको कारूणिक पुकार अनि अनुनय विनय मात्र । मन भित्र भित्र उकुस मुकुस भएर विष्फोटावस्थामा थियो । शूरवीरले कविरको अनुहार हेरे । तत्काल कविरले आफ्नो नजर तलतिर झुकायो । आफ्नो जेठो छोरोको मनको कुरा पढ्न बेर लागेन शूरवीलाई । जेठो छोरो निरूत्तर भएको देखेर उनले कान्छो छोरो रवितिर हेरे । बाबुको हेराई बेझेर उसले ठाडै उत्तर दियो, “हेर्नुहोस बा म त एक्लो मान्छे, बस्ने र खाने ठेगाना छैन, त्यसैले ...........!”
वाक्य पूरा नगरी कान्छो छोरो चुप लागेको देखेर बोले शूरवीर, “किन त्यसैले .....? के भन्न खोजेको तैँ ले ? तँ बुढालाई पाल्न सक्दिन भन् न !”
“हो त नि ! मेरो कमाइ छैन । तपाईँको सञ्चयकोषको पैसाले आमाको काजक्रिया भैहाल्यो ....।” रूखो स्वरमा कान्छो छोरो रविले आफुुभित्रको तिक्तता ओकेल्यो ।
कान्छोको प्रतिक्रिया सुनेर अब जेठो छोरालाई बोल्न बाध्य पार्यो । टाउको कन्याउँदै बोल्यो, “के गर्ने त बा ....? अब .......? मसँग हिँड्नुहोस् भनौँ भने तपाईको भिसा बनाएको छैन । फेरि यदि भिसा बने पनि प्रिया अफिस जान्छिन् । छोरा र तपाईँलाई हेर्न उनीलाई गाह्रो हुन्छ । मेरो आम्दानी पनि ....................।” बिचमै कविर अड्कियो ।
“हो बाबु हो, तँ डाक्टर तेरो कमाई थोरै छ । तर, म त खरदार थिएँ । मेरो कमाईले चारजना परिवारलाई छेलोखेलो थियो नि ! हैन ?”, व्यंग्य हान्दै भक्कानिएर शूरवीर । अब खरदार शूरवीर बेशूर भए । उनी सदाका लागि एक्लिए । एक्लोपनको अनूभूति उनलाई आफ्नी जन्म दिने आमा मर्दा पनि भएको थिएन ।
हिजो आज उनी प्रायः आफ्नो कोठामा धुमधुम्ती परेर बस्ने गर्छन्, कि त क्षुदादेवीलाई शान्त पार्न घोप्टो पारेर बस्छन् । तिर्खाले घाटी, ओठ सुक्दा पनि भान्छामा गएर पानी खाने तागत पनि हुँदैनथ्यो उनलाई । जवानीका विगतका दिनमा श्रीमतीले ल्याएको तात्तातो चिया सम्झेर आँशु झार्ने गर्दछन् शूरवीर । आजकल उनीलाई कहिले ज्वरो आउने गर्छ । कहले ढाड, कम्मर दुख्ने गर्दछ । उनी विस्तारमा पल्टेर भित्तामा झुण्याएको श्रीमतीको तस्बिर नियाल्ने गर्दछन् । तस्बिर नियाल्ने काम अब उनको दिनचर्चा नै बन्न पुगेको छ ।
– शारदा पौडेल
एकमाना पीठोको बन्दोबस्त भएको घर, मिल्दा कुटुम्ब र केटाले लेखपढ गरेकै छ भनिठानेर बाले मलाई पहाडमै भएपनि दिनुभयो । म तराईको समथरमा जन्में त्यही हुर्कें, त्यसैले मेरो लागि पहाड त क्षितिज खुलेको समयमा दक्षिणतिर देखिने हाम्रो भूगोलको अन्तिम भाग पो होकि जस्तो लाग्थ्यो । आमासँग सकेसम्म विरोध गरें तर, बाको अगाडि मेरो केही लागेन । त्यसैले घर, छरछिमेक, इष्टमित्रहरुले जोसँग अन्माइदिए, त्यसैसँग खुरुक्क अन्मिएँ ।
साथीहरुको बिहेमा बरियात, बाजागाजा, कल्स्यौली, मड्यौलीसहित सजाइएको गाडीमा दुलाहा आएको देख्दा आफूलाई पनि भित्रीमनमा काउकुति लागेर आउँथ्यो । तापनि, जन्मिई हुर्किई गरेको घर, आफूले रोपेका र समय–समयमा गोडमेल गरेका लहरा लतिका, हेरचाह गरेका वस्तुभाउ सबैलाई चटक्क माया मारेर बिरानो ठाउँमा बाटो लाग्नुपर्दा मनमा संकोच त जन्मने नै रहेछ ।
घरमा अपरिचित मानिस आएको देखेँ भने डर लागेर आउँथ्यो । मनमा नानाथरीका कुरा खेल्न थाल्थे । त्यस्तैमा एकदिन कलेजबाट घर आइपुग्दा घरमा अपरिचितहरुकै हुल देखेँ । त्यहाँ कुनै बुढा, कुनै अर्धबैंसे थिए भने एकजना चाहिँ पातलो ज्यान गरेको युवक पनि थियो । मनमा शंका उब्जियो कतै...! एकाएक सबैतिर अन्धकार छाएर पृथ्वी भासिए जस्तो भान भयो । मैले तिनीहरुको नजिक जान मनासिप ठानिनँ बरु आफ्नै कोठाभित्र बसिरहें ।
“नानी यता आइज न !” नेपत्थ्यबाट आमाको सानो आवाज आयो । अब मलाई झनै आपत पर्यो । बाहिर निस्किएर आमाले बोलाउनु भएतिर गएँ । आमाले आफूले नहुने भएकाले पाहुनालाई चिया पकाइदिन अह्याउनुभयो ।
आ...! आखिरी मानिस नै हुन् के फरक पर्छ र भन्ने हिम्मत मनमा जुटाएँ र ती अपरिचितहरुको बीचमा उभिएर सबैलाई एकमुष्ठ “नमस्कार” भन्दै चिया पकाउन भान्सा कोठातिर छिरें । त्यहाँ कहिले पानी नपरेर खडेरीले बाली बिग्रिएको कुरा, कहिले गाउँमा मोटरबाटो खनेको कुरा, कहिले आफ्ना छोराछोरीहरुको पढाइका कुराहरु भइरहेका थिए ।
यत्तिकैमा भान्साको ढोकामा त्यो युवक उभियो र मलाई सोध्यो– “ट्वाइलेट कता छ ?”
मुहारतिर हेर्दा पनि नहेरी इसारा गरिदिएँ, तर उसले झनै नबुझें गरेर फेरि सोध्यो । मैले उसलाई पुलुक्क हेरें, नजर जुध्यो, ऊ मुसुमुसु हाँसीरहेको थियो । जब ऊ त्यहाँबाट ट्वाइलेटतिर गयो, किन किन मलाई त त्यसैलाई हेरिरहन मन लाग्यो । सफा कपडा लगाएको पातलो आङको थियो ऊ । चिया तयार भयो । ऊ नआउँदै चिया पुर्याएर फर्कने विचारले चिया लिएर गएँ ।
त्यहाँ बसेका मध्ये एकजनाले भने– “चिया कति चाँडो पकायौ त नानी । म केही बोलिनँ मुसुक्क हाँसेर भान्सामा फर्किएँ । भान्साकोठाबाहिर आइपुग्दा पुनः उसैसँग जम्काभेट भयो ।
“खोइ त मलाई चिया ?” ऊ त परिचित नै भएजसरी पो बोल्यो, मेरो शंका यथार्थमा परिणत भएजस्तो लाग्यो ।
उनीहरुको र बुवाबीचमा लामो कुराकानी भयो । मैले त्यही कुराबाट अबदेखि यो घर मेरो माइतीघरमा रुपान्तरण हुने सुइँको पाएँ । तिनीहरु उठेर गए, मेरो मनमा किन हो किन त्यो युवक अचम्मले पस्यो ।
तिनीहरु गएपछि आमाले मलाई बिवाह गरेर त्यही केटालाई दिन लागेको कुरा राख्नुभयो । मलाई त्यति चित्तबुझ्दो कुरा लागेन, आमासँग रोइकराई त गरें, तर बाले वचन, दिइसक्नुभएको र अब पहाडमै गएर खेतीपाती गरेर बस्नुपर्ने परिस्थिति पनि नभएको तर्कहरु राख्नुभयो । म कोठातिर गएँ । हात गोडा फतक्कै गलेजस्ता भए । मनमा त्यो केटो को होला ? कहाँको होला ? के गर्छ होला ? जस्ता अनुत्तरित प्रश्नहरु उब्जिइरहे । आखिरमा मेरो बिहे त्यही युवासँग नै भयो । जन्ती नजिकैबाट आएपनि मलाई पहाडघरमा भित्र्याउने रे भन्ने सुन्थेँ ।
नारायणगढबाट गन्तव्य स्थानमा जान थोरै मानिस मात्र बाँकी थिए । म उसको साथमा नाइटबसको सिटमा बसेकी थिएँ । बसको हल्लाईसँगै जब उसँग ठोकिन पुग्थेँ तब शरीर नै सिरिङ भएर आउँथ्यो, कताकता डर लाग्थ्यो । अनौठो अनुभव बटुल्दै बिहान पोखरा पुग्यौं ।
एउटा सानो होटलमा लगे । पहाडको बाटो हिँड्न सजिलो हुन्छ भनेर सुतीको साडी र पायल चप्पल लगाउन भने त्यहाँमध्येका एकजनाले । होटलको कोठाभित्र छिरेर धोती फेरें, साथीहरुको बिहे हुँदा आफ्नो मनमा उब्जने कल्पनाहरु सिसाझैं फुटेर धूलो भएको कल्पना गरें र एक्लै रोएँ ।
“हुने हार दैव नटार” भन्ने नेपाली उखान सम्झिएँ, मन बुझाएँ र बाहिर निस्किएँ । उनीहरु हिँड्नलाई तयार भैसकेका थिए । जब म त्यहाँबाट उकालो लागेँ एकपटक दक्षिणतिर फर्केर हेरेँ र तराईको समथर भूभागसँग रुँदैरुँदै बिदा मागें । चारकोशे झाडी, त्यहाँभित्रका चराचुरुङ्गीको आवाज कानमा गुन्जिरहेझैं लाग्यो ।
कार, ताम्दानी वा घोडामा चढेर हिँड्न पर्ने कठै म दुलही मान्छे सुतीको धोती र चप्पल पड्काएर बेहुलाको पछि पछि लागी खोलाको किनारै किनार, भीरपाखा हिँड्नुपर्दा घरिघरि त्यही हाम्फालुँ कि जस्तो पनि लाग्थ्यो । बोलौँ के भनेर बोलौँ, ऊ बोल्थ्यो म सुन्थें मात्रै । चप्पलले खुट्टामा फोका उठाएको थियो । सानो गोरेटो बाटो पानीका कारण चिप्लो भएको थियो । बाटोमा जुका लाग्छ भन्थे । यस्तैमा झमक्क साँझ पर्दा बल्लतल्ल घर पुगियो । त्यहाँ रमाइलो गरिरहेका थिए । बेहुली भित्र्याउने, मुख हेर्ने भनेर मान्छेहरु खासखुस गर्दै थिए आफू थकाइले लखतरान परेकी थिएँ । भित्र्याउने, मुख हेर्ने र खाना खाने काम पनि क्रमैसँग सकियो । केही समयपछि सुत्ने ठाउँ देखाउन लगे । घरको बार्दलीलाई कोठा बनाइएको र जानको लागि काठको सानो लिस्नो राखिएको थियो । म त्यो लिस्नो देख्नेबित्तिकै डराएँ । तर डराएर पनि काम थिएन । चढ्छु नै भन्ने सोचेर केही खुड्किला चढेको लडें, घुँडामा सामान्य चोट लाग्यो ।
मेरो सब कठिनाईलाई नजिकबाट नियालिरहेका मान्छेले लिस्नो चढ्न मद्दत गरे । केही समयपछि भाँटामा चिसो पानी ल्याएर खुट्टा डुबाउन लगाए । दुखेको घाउमा मलम लगाइदिए र जीवनमा दुःख नदिने कसम खाए, उनले मप्रति देखाएको सदासहताले त्यहाँ हामीबीचमा अनौठो किसिमको मायाको जन्म भयो ।
भोलिपल्ट उज्यालो भइसकेको थियो । सूर्यले उषालाई विस्तारै स्पर्श गर्दै थिइन् । मेरो लागि त्यो दृश्य नौलो थियो । पहिलो दिनकी बेहुली हुनाले मैले केही काम गर्नु परेन, अर्को दिनदेखि त दैलो पोत्न सिकाए, घरदेखि केही टाढाको पँधेरोबाट पानी ल्याउन लगाए । म डोको बोक्न पनि जान्दैनथ्येँ ।
दिन ढल्कँदै गयो बिस्तारै सूर्य पश्चिमी दिशाबाट हरायो र त्यो पहाडी भूभागलाई सन्ध्याले स्पर्श गर्यो । साँझमा गुँडमा बस्न आएका चराहरुको आवाज, एकोहोरो कराइरहेका कीराहरु र खोलाको सुसाइ मेरा लागि अनौठा थिए । म माइतीघरको सम्झनामा सोचमग्न भएँ । वरिपरि चुक घोप्टिएजसरी अँध्यारो खनियो । मैले जुठोचुलोको काम सकें । अब फेरि लिस्नु चढेर कोठामा सुत्न जानु थियो । उनले हात समातेर लिस्नो चढ्न सघाए । अब मलाई किन किन त्यो दुब्लो युवक एकाएक एक सुन्दर र आफ्नै मान्छेको रुपमा परिणत हुन थालेको आभास हुनथाल्यो ।
त्यो रात उनी मसँग जिस्किन र चल्न खोजे, मनमा काउकुती लागे पनि म तर्कन खोजें । तर केही जोर चलेन । केही क्षणमा उनी कोल्टो परेर सुते । मैले बोल्ने साहस बटुल्दै भनेँ– “निदाउनु भयो ?” आवाज आएन । हात उचालेर कोट्याएको के थिएँ, मेरा हात समाएर सुम्सुमाउन थाले । आँखा, निधार, मुख, छाती सबै एक भए । सांसारिक सुख प्राप्त भएजस्तो र केही पीडा भए पनि पीडाभित्र माया थपियो । अस्ति नै घरमा आएको यो लुरे युवक आज एकाएक राम्रो लाग्न थाल्यो । उसैको छेउमा बसिरहुँ र उसैका कुरा सुनिरहुँ जस्तो लाग्नथाल्यो । हुन पनि मेरो लागि संसारमा सबैभन्दा नजिकको आफ्नो मान्छे नै उही थियो ।
– सीतादेवी छेत्री, मणिपुर, भारत
दिनभरि मेहनत गर्दा पनि नपुुगेपछि राति १०÷११ बजेसम्म धनबहादुर बजारमा रिक्सा ठेलिरहेका हुन्थे । पिण्डदान दिने छोरोको आशा राख्दाराख्दै उनका घरमा पाँच कन्या जन्म भइसकेको थियो । तथापी धनबहादुरलाई अझै छोराको आशा बाँकी नै थियो । धनबहादुरको दुःख देखेर आफन्तहरूले तीन छोरी पढाई लेखाई गरी दिन्छौँ भन्दै वाचा गरी लगिसकेका थिए । काइँली छोरीलाई मुँहबोली मामा–माइजुले लगे । ठूलो घरमा बुढाबुढीले छोरीको रूपमा आफ्नै छोरी जतिकै ममता दिएका थिए रोमालाई ।
मामाको घरमा आएको अलिक दिन त आमाकोमा जान्छु भन्दै जिद्दी गर्ने गर्थिन् । माइजु ताराले अनेक मीठा–मीठा ब्यंजन बनाएर खिलाए पनि जहिल्यै मीठो छैन भन्थिन् रोमाले । कहिलेकाहीँ आमा–बाब भेट्न गए आउनै नमान्ने । एक प्रकारको मनमा दुःख लाग्ने र मनभित्र ईष्र्या गर्दै सोच्ने गर्थिन्, “किन हामीलाई आमा–बाबा नसम्झिएको ?” तर उनीहरूको प्रश्नको कुनै जवाब हुँदैन थियो ।
बीरू र ताराले घरसल्लाह गरी राम्रो प्राइबेट स्कूल छानेर रोमालाई दाखिला गराए, पाँच कक्षामा । दुवैलाई त्यो एक्लोपनमा रुपाको आगमले निक्कै रमाइलो पारेको थियो । रोमालाई स्कूल पुर्याउनु र ल्याउने, नाश्ता, खाना, बिहान–बेलुका पढाउने, टिउसन ल्याउने लाने गर्दा दुवै आँफैमा व्यस्त रहन थाले । आफ्नो बुढेसकाल बिर्सिएर नयाँ सिर्जनामा तत्पर भई रहन्थे । बुढेसकालको साहाराको एउटै लौरो सम्झी ।
पछि मोटरको बन्दबस्त भएपछि रोमा स्कूल मोटरमा जान थालिन् । रूपालाई घर ल्याएपछि बीरू र तारा बोटले पाउला फेरेको जस्तै नयाँ जोश र जाँगर बढेर स्फुर्ति अनुभव गरेका थिए । बिहान बेलुकी कामको रूटिङमा प्राथमिकता दिने । समयमा खाने, सुत्ने, उठ्ने नियम चालु गरेका थिए । इष्टमित्रसित भेट भए रोमाकै प्रशंसा गरेर कति नै न थाक्ने । महिना, साल गर्दै रोमा ठूली हुँदै थिइन् । अब पहिलाको जस्तै छुट्टी हुने बित्तिकै घर जाने जिद छोड्दै गइन् ।
बिहान बेलुकी टिउसन पढेकी रोमाले एस.एल.सी. पनि राम्रो नम्बर लिएर पास भइन । कति खुशी भएका थिए दुवै रुपा उत्तीर्ण भएको खबरले । रुपाले अगाडिको पढाई बैंगलोरमा पढ्ने इच्छा राखिन् मामामाइजुसित । दुवै दुविधामा परे के गर्नु ? एकातिर रोमाको जिन्दगी, अर्कातिर कहाली लाग्ने घरमा एकान्तबासले ।
घरमा दुवैको सल्लाह पछि मन मारेर भए पनि नानीकै भविष्य हेरि मामा बीरूले बैंगलोर साथमा लगेर एउटा सेन्ट्रल क्याम्पसमा दाखिला गराए । बस्ने घर बन्दबस्त गराई हातमा दुई÷तीन महिना पुग्ने खर्च दिनुभयो । फिर्ता हुनेदिन रोमालाई सम्झाउँदै भन्नुभयो, “हेर नानी यत्रो टाढा तिमीलाई एक्लै छोडेर तिमीमाथि विश्वास र भरोसा गरी म जाँदैछु । मलाई विश्वास छ, तिमीले कहिल्यै हाम्रो मानमर्यादामा दाग लगाई सिर झुकाउने काम गर्दैनौँ । छोरीको इज्जत कसरी सम्भाली राख्नुपर्छ, र छोरीको इज्जत सियोको टुप्पो जस्तो हुन्छ, त्यो भाँचियो भने परिवारकै ढाड भाँचिएको बराबर हुन्छ ।” आदि–आदि विस्तारमा सम्झाएर भारी मन गर्दै घर फिर्ता भए बीरू ।
दुवैलाई कहिलेकाँही सुनसान घरले अत्याउने गथ्र्यो । रोमाको गर्मीको छुट्टीका दिन गन्दै आउने दिन सम्झना गर्दै खुशी हुने शिवाय अरू केही उपाय थिएन पनि । मणिपुरबाट धेरै छात्र भएकाले रोमा छुट्टीमा साथीहरूसित आउने जाने गर्ने गर्थिन् ।
टी.डी.सी.को दोस्रो सेमिस्टरको जाँच सिद्धिएर रोमा पनि कांग्लातोङबी घर आइन् । बीरू र तारा घर आएकोले औधी नै खुशी थिए । तर पहिला आउँदाको जस्तो खुशी नदेखेर बीरूले सोधे, “छोरी ! किन तिमीलाई सञ्चो छैन कि ? या वहाँ क्याम्पसमा कसैसित झगडा भयो कि ? तिम्रो अनुहार अलिक अँध्यारो देख्छु नी ?”
“त्यस्तो केही भएको छैन मामा । वहाँ धेरै भिडभाडमा बसेकाले यहाँ अलिक सुनसान मात्र लागेको छ । सबै ठीकै छ मामा केही चिन्ता नगर्नुहोस् ।”
“मलाई तिमीलाई देख्दा खुशी नभएको जस्तो लागेर सोधेको नानी ।”
त्यसपछि रोमा केही बोलिनन् । कसरी पनि भन्नु मन त कसैलाई वहाँ राखेर शरीर मात्र बोकेर आएको छु भनी ।
यसपल्ट बीस÷बाइस दिन पछि मात्र आमा–बाबा भेट्न गइन । दुई दिन बसेर घर फर्की आइन । मामा माइजु छक्क पर्दै सोचे “अब त रोमालाई यहीँ आफ्नो घर लाग्न थालेको छ ।”
आमा–बाबाकोमा एउटै कोठा भएकोले विकाससित मोबाइलमा बात मार्न असुविधा परेको कसैले बुझेनन् । क्याम्पसमा परीक्षाफल घोषित भएको खबर आएपछि तेस्रो सेमिस्टरका लागि सबै साथीसँगै जाने टिकट मिलाए । रोमा, विकाससित भेट हुने सम्झेर धेरै खुशी थिइन । यसपल्ट पनि जानु अगाडि रुपालाई राम्रो सम्झाएर बिदा गरे ।
रोमालाई बाटैभरि कहिले विकासलाई गएर भेट्नु भई रहेको थियो । तीनदिन अगाडिबाट विकासको फोन बन्द भएकोले रुपाको मनमा धेरै सोचमा पारेको थियो । घरबाट फिर्ता भएको छैनन् होला कि ? कि मोबाइल हराउनु पनि सक्छ ! आदि–आदि सोच्दै बैंगलोर पुगिन् । त्यहाँपनि भेट्नु आएनन् विकास ।
भोलिपल्ट क्याम्पसमा भेट हुने कल्पना गर्दै कतिबेला आँखा लाग्यो पत्तै भएन ।
बिहानैबाट श्रृंगार–पट्टार गरेर क्याम्पसमा पुगेर आँखाले चारैतिर विकासलाई मात्र खोजी रहेको थियो । निकैबेरपछि विकासलाई एउटी केटीसित आएको देखेर खुशीसित हाय गर्दै हात हल्लाइन् । तर विकासले देखेर पनि नदेखेको जस्तो व्यवहार गर्दै हाय गर्दै केटीको हात समातेर भित्र लाग्यो । रुपा छाँगोबाट खसेको जस्तो भइन र चुपचाप क्लासतिर गइन् । त्यही केटीसित एउटै बेन्चमा बसेको देखेर आँफू पछाडिको बेन्चमा गएर बसिन् । दिनभरि नै एकान्तमा बात गर्ने मौका हेरि बसिन् । तर, दुवै साथमा भएकोले असफल रहिन् ।
क्लासको अन्तिम पिरेडमा जानेको जस्तो गरी एउटा सानो कागजमा “मलाई आइन्दा भेट्नु अथवा बात गर्न जरूरी छैन । मैले तिमीलाई भूलि सकेँ । तिमीपनि एउटा सपना सम्झी भुल । यही तिम्रो लागि राम्रो हुन्छ ।”
उक्त कागज पढेर रोमाको दुवै आँखाबाट मान्छे नै नदेखि अविरल आँसुका धारा बगे । कोठामा पुगेर एउटा सानो नानी जस्तै गरी मनखोलेर रोइन् । कोठामा बस्ने साथीले सम्झाउँदै भने, “तिमी यसरी रोएर केही फाइदा छैन । यो त राम्रो भयो । तिमीलाई धेरै माया देखाएर फसाएको भए के हुन्थ्यो सोच त ? उसले आफ्नो असली औकात देखायो । त्यो त तिउन चखुवा रहेछ । केटी पनि लुगा फेरेको जस्तै फेर्दो रैछ । आँफै पर सर्यो राम्रो भयो । अब तिमी पनि भूल त्यसलाई ।”
“कसरी भुल्नु मिनु पहिलो प्यार गरेकी थिए ।”
“त्यसले यत्रो भूले भनेर लेखेर दिसक्यो । के तिमी पहिलो प्यार भन्दै झुन्डी राख्छौ त ? जे भयो राम्रैको लागि भयो जस्तो लाग्छ मलाई त । पछि बदनाम हुनुभन्दा त भगवानले पहिलै तिमीलाई बचाए । अब बुझ्ने कोशिश गर ।”
“तिमीले भनेका कुरा ठीकै त छ ।”
“ठीकै त छ होइन । एक्दमै ठीक छ । हामीलाई आमा–बाबाले यत्रो टाढा हाम्रो विश्वास गरी, यत्रो खर्च गरेर पढ्न पठाउनु भएको छ । हामीले मन लगाएर पढ्नु पर्छ । आफ्नो राम्रो भविष्य बनाउने बेलामा प्यार–स्यार भूल्नुपर्छ ।”
“हो मिनु तिमीले भनेको कुरा एकदम सही हो । मैले पो कसरी भूलेकी होली । आउदै पछि मामामाइजुले कति अर्तीबुद्धि दिएर पठाउनु हुन्छ । म नै मति हराएर यसो गर्दैछु ।”
रुपाले बल्ल बीरू र ताराले गरेको माया र हेरचाहको महत्व बुझिन । “म कस्तो थिए, आज यति पर मलाई माया गरि, आमाबाले गर्ने जिम्मेवारी लिएर अनेक खर्च गरेर मेरो भविष्य हेरि पढ्न पठाउनु भएको छ, मेरो भरोसा गरी । यो मैले कहिल्यै भूल्नु हुँदैन । मेलै उनीहरूले गरेको भरोसा र मायालाई कायम राख्नुपर्छ । आजबाट म मामामाइजुको छोरा, छोरीको दायित्व लिन्छु ।” भन्दै मनभित्र निर्णय गरिन् ।
– विशाल नाल्बो, दार्जलिङ्ग
हावामा आफ्नै गति पछ्याएर
उडी रहेको सिमलको भूँवा
त्यसैलाई निसानी बनाएर दगुरेँको
सिवीको लहरा जस्तो बाटो
अम्लिसोको सिट्टाले घोचेको पाइताला
थकान लाग्दा बिसाउने तकसङ उकालोको खामहिम ।
सप्पै सप्पै सप्पै याद भए
अथवा भए अतीत ।
यति धेरै किन आउँछ
बिर्सि जानेहरुको सम्झना ?
केही त मसँग संग्रहित छन् ।
जस्तो तिमीले
जतनसित गासिदिएको गिठ्ठाको लहराले
मेरो चुँडिएको फित्तावला चप्पल
खेतको आली ताच्दा लगाउने पञ्जा/गम्बुट
रुपसाइडमा मैले बोकी हिन्ने क्याटिस्/मटेङ्ग्रा ।
केही त मसँग सुरक्षित छन्
जो जो तिमीसित सम्बन्धित छ ।
जब देख्छु झर्ला जसरी
हावामा हल्लिरहेको फूल
अथवा देख्छु निष्पट्ट अन्ध्यारोले
निल्न आटेको आधा जून ।
त्यति बेला तिम्रो ।
सुर्ता यस्तरी बड्छ
कि मानेको पात माथि असिना झरे जस्तो बन्छ मुटु ।
ककफाइटमा जितेर
तिमीलाई उपहार दिएँको डिपगोली
साटोमा तिमीले बनाएर दिएको
पहेँलो रिवनको गुलाबी फूल
बाटोको ढुङ्गाभरी डल्सिङ ढुङ्गैले लेख्दै हिँडेको
तिम्रो नाउँ सँग जोडेर मेरो नाउँको पहिलो अक्षर
भेट् हुँदा खपी नसक्नुको लाज ।
सप्पै सप्पै सप्पै संकलित छन्
यादहरुको संग्रहमा ।
घरको चेप चेप डुलेर
कोही बेला असुब खबर भुनभुनै बस्छ मौरी
खिड्कीको पल्लाबाट छिरेर जून
खोतली बस्छ तिम्रो तस्विर/चिट्ठी
मन गाइ बस्छ बेचैनी समेटेर उराठ लाग्दो पकन्दी ।
यो सुर्ता यति घाती छ कि
जो मलाई सन्चोसित बाँच्नु दिदैँन ।
– उत्तम विचार, काठमाडौं
१
गुमनाम हुनेको पनि एकदिन ठुलै नाम आउन सक्छ ।
जसरी बर्षौं पिछडिएको बस्तीमा घाम आउन सक्छ ।
महाशय सबैलाई यौटै तराजुमा जोख्ने भुल नगर्नु होला,
तपाईंले फ्याँकेको वस्तु अरूलाई काम आउन सक्छ ।।
२.
अंकगणीत बिग्रीयो भने सोह्र दुने आठ हुन सक्छ ।
केमिस्ट्री मिल्दा गाली पनि गतिलो पाठ हुन सक्छ ।
हिजो सहरको नजर बिल्कुल फरक थियो र अहिले,
सोच्दैछ ऊ विकासको अर्को नाम काँठ हुन सक्छ ।।
३.
ढुङ्गामा इश्वर देख्नेका नजरमा फूल हुनुपर्छ
आफैँलाई श्रेष्ठ नठानोस् मान्छेमा भुल हुनुपर्छ ।
आफ्नो अनुहार हेर्नुपर्छ अरू नराम्रो भन्दैगर्दा
खराब आनीबानी आफैलाई कबुल हुनुपर्छ ।।
४
देशलाई चिनाउने अर्को नाम माटो हुनुपर्छ ।
चन्द्रमाको सुन्दरतामा लुकेको टाटो हुनुपर्छ ।
सबका नजरमा छाएकै हुन्छ उज्यालोपनमा,
कालो रात जिन्दगीको अर्को पाटो हुनुपर्छ ।।
५.
उत्तीर्ण हुन नसक्नुको सिधा अर्थ फेल हुनुपर्छ ।
हारजित छुट्टिनु अधि सौहार्दपूर्ण खेल हुनुपर्छ ।
यस्तो लाग्छ तटस्थ बस्नेहरूको जिन्दगी देख्दा,
हर्ष न विस्मात कागलाई पाकेको बेल हुनुपर्छ ।।
-लक्ष्मण पोखरेल
कसरी उसले रात बितायो
दिनहरु बितायो
कालो मडारिएको आकाशलाई छानो बनाउदै
आकाश मुन्तिर
चौपाय र फिरन्ते चरा जस्तै
कहिले यता
कहिले उता
साना ठूला आवाजहरुसँगै
ठोक्किदै दौडिएको धेरै भयो
लामो समय भयो
कहिले निलो आकाशलाई
कहिले कालो आकाशलाई छानो बनाएको
आकाशलाई हेरेर दिन र रातहरु बिताएको
उसलाई पत्तो भएन
कति जन्मिए
कतिले प्राण त्यागे
कतिले आङ्खना आमा बाउ
हजुरबाउ हजुर आमा गुमाए
छोरा छोरी जन्माए
केहि पत्तो भएन
आङ्खनी आमालाई सम्झियो बाउलाई सम्झियो
बाल्यकालमा टोलाएर हेरेको
आकाशको स्वीग्घ प्रकाशलाई
जुनताराको रातलाई सम्झियो
युद्ध र योद्धाहरुको घाउ रगत
बम र राईफलका आवाजहरु पनि
उसले सम्झियो
जवानी मै कुप्रिएर मरेकी आङ्खनी आमा र
अरु आमाहरुलाई पनि उसले सम्झियो
चुरोटको लामो धुँवा ङ्खयाक्दै
देशलाई सम्झियो
खोला नाला डाँडाकाँडा
खेतवारी सिमा साधहरु
साधमा मरेका वीर विरङगनाहरु
नालापानी कालापानी
सुस्ता टनकपुरहरु
सबैसबै सम्झियो
अग्ला डाँडामा टल्किएका
सेता हिमालका थु्रपाहरु
फुस्छ फुस्छ लडिरहेको सम्झियो
सेतो कपाल र दारी फुलेको माग्दै गरेको
जोगीलाई पनि उसले सम्झियो
खिस्छ हाँस्दै गिर्जाघर तिर लम्कियो
मस्जित मन्दिर तिर लम्कियो
पहेँला सेता वस्त्रहरुमा सजिएका नरनारीलाई देख्यो
ढुङगामा कुदिँएका चित्रहरु ढोग्यो
फुलका गुच्छाहरु टिप्यो
मरेका आङ्खना बाउ आमा सम्झियो
श्रीमती छोरा छोरी सबैसबैलाई सम्झियो
देशलाई सम्झियो
देशको सीमा र साधलाई सम्झियो
साधमा मरेकाहरुलाई सम्झियो
मन्दिरका घन्टी बज्न थाले
ऊ झस्याङ झस्कियो
दायाँबायाँ फर्किएर हेर्यो
ढुङगा र माटोका पर्खालहरु
ठिङग उभ्भिएका थिए
अनेक हाउ भाउमा कुदिएका चित्रहरु
अनौठो आकारमा उसलाई हेरिरहेका थिए
ऊ डरायो
बेस्सरी डरायो
बेतोडले चिच्चायो
ऊ र ऊ भित्रका सबै डर र
परधिनतामा बाँचेका
कायर र कायरताका भावहरु
आत्मसर्मपणको निरलज्जा रेखाहरु
फेरी सलबलाउन थाले
ऊ झन डरायो
बेतोडले दौडियो
ऊ उसका शरीर र शरीरका अंगहरु
उसको काबुमा थिएनन्
ऊ सुर गुमाएको डगिस् र
अल्कोहलिस्ट जस्तै बेसुरा थियो
बेसुरा मै दौडिरहेको थियो
अजिंगारले पनि छोडेको सिनो
बगरको बीचमा बर्षौदेखी बेबारीसे देखिन्थो
बगरको तातो हावामा रोईरहेको सिनो
दुरन्धित भएर फैलिरहेको थियो
बर्षौदेखि दुर्गन्धित भएर गनाईरहेको सिनो
उसलाई देखेर हाँस्दै थियो
ऊ सिनो माथी बजारिन पुग्यो
उसका हात र औलाहरु
सिनोमा लत्पतिन पुगे
ऊ झन डरायो
उसका पाईलाहरु लरबराउन थाले
सिनो दुर्गन्धित भएर फैलिरहेको थियो
सिनोमा लत्पत्तिएको हातहरु औंलाहरु
उसले पानीमा चोबलो
हात खुटटा मुख सबै सबै पखालो
सेतो पानीलाई ऐना बनायो
स्वाभिमान हराएको
उसको अनुहार पानीमा टल्किरहेको थियो
धेरैपछि उसले आफुलाई नियाल्यो
निकै बेर घोत्लिएर नियाल्यो
त्यहाँ स्वाभिमानको चित्र थिएन
बलिदानले भिजेको माटो र
स्वाभिमानको सुगन्ध थिएन
ऊ फेरी एक पटक झस्कियो
आङ्खनो अस्तित्व खोज्यो
स्वाभिमान खोज्यो
बलिदानले लत्पत्तिएको माटोलाई सम्झियो
अपमानित परधिनताले बाँचेका
निर्दोष अनुहारहरु सम्झियो
कयौ शताब्दीदेखी
यसरी नै मरेका पुर्खा र नवयौवनहरुलाई सम्झियो
कारगील काबुलहरु सम्झियो
फोक्ल्यान्डका टापुहरु सम्झियो र
अमर सिंह बलभद्र र भक्ति थापाहरुलाई सम्झियो
मान्छेहरुको लामो भिडले
सडक पुरै छोपिएको थियो
तँछाड मछाडमा भिड
एता उता लत्पत्तिएको देखिन्थो
थिएटरमा नाटक हेर्नेहरुको
जमात झै भिडलाई हेरेर
रमाउनेहरुको कमि थिएन त्यहाँ
सिनेमाका स्टार सुपरस्टार झै
घेरिएका थिए उनीहरु
मोबाई र क्यामाराका खिचिक खिचिक आवाजले
भीडलाई रङिगन बनाएको थियो
भीडलाई आफुसँगै टासेर फोटो र
सेल्फी खिच्नेहरुको लर्को लागेको थियो
भीडमा लत्पत्तिएका मान्छेहरुसँग
मजा लुट्नेको कमि थिएन त्यहाँ
हेलिकप्टरबाट छिनछिनमा बर्सिने
बिस्कुट र पानीको पोकाहरुले
आतिस बाजी गरे झै
रमितेहरुलाई रमिता थपिदिएको थियो
भीडबाट निस्किएका आवाजहरुले
उसलाई पछयाईरहेको थिए
ऊ आङ्खनै चित्रदेखि डरायो
पानीमा टल्किरहेको उसको चित्रले
उसलाई नियाली रहेको थियो
ऊ एकपटक फेरी झस्कियो
आत्मस्वाभिमान र स्वअस्तित्व गुमाएको
आङ्खनो अनुहार सेतो पानीबाट निकाल्यो
तिनै आवाजहरुलाई पछ्याउदै
लामो हुलमा मिस्सिने प्रण गरयो
फेरी एकपटक
उसले आङ्खनो स्वाभिमान लिलाम गर्यो र
आफुलाई तीनै आत्मस्वाभिमान
गुमाएका हुलमा आत्मसमर्पण गर्यो
(लक्ष्मण पोखरेलको प्रकाशोन्मुख कविता संग्रहबाट)
– गोविन्दबहादुर कुँवर
म हाम्रा बा आमाका पाँच सन्तान मध्ये म दोस्री हुँ । मेरा एक दाइ, दुई बहिनी र एक भाइ छन् । उनीहरुको सुख दुःखको आ–आफ्नै रमाइलो संसार छ । मेरो पनि आफ्नै संसार छ, तर मेरो संसार अरुको जस्तो रंगीन छैन । अझ मेरो संंसारमा त सेतो र कालो बाहेक अरु रंग नै छैन । सेतो भन्दा नि कालो रंग बढ्ता छ भन्दा पनि हुन्छ ।
हजुर आमाहरुको पालामा ८/१० वर्षमै बिहे हुन्थ्यो रे । आमाहरुका पालामा १२/१५ हुन्थ्यो रे । छोरी पर नसर्दै कन्यादान गरेमा धेरै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास थियो रे । बाल विवाहमा लगाइएको प्रतिबन्ध र शैक्षिक चेतनाको फलस्वरुप आज भोलि बिहेबारी बीस वर्ष पारी भन्छन् । मेरो विवाह पनि बीस वर्षको उमेरमा भयो । मेरो मागी विवाह हो । मलाई मेरै फुपु दिदीले माग्नु भएको हो । मेरो फुपु र केटाको मामाघर एकै ठाउँमा रहेछ । आफ्नै दिदी माग्न आएपछि बाले सजिलै मलाई दिनु भएको थियो ।
दिदीले गरेको कुरामा बालाई विश्वास नहुने कुरा भएन । विवाह अघि हामीले एक अर्कालाई देख्न पाएनौ । हाम्रा अविभाकहरुले त्यो आवश्यक ठान्नु भएन । म बाआमाको आँगनबाट अन्मिएर एक दिन पराइको घर गएँ ।
उमेरले पखेटा लगाउँदै गए पछि मेरो मनमा घर संसारका अनेकन रंगीन सपनाहरु थिए । सानो चिटिक्क परेको घर थियो । कमलको फूलजस्ता नानी र बाबु थिए । शितल छहारीजस्ता सासु आमा र ससुरा बा थिए । पैसाको कमी भए पनि मनको धनी मायालु जीवन साथी थिए । पराइ घरमा मेरा दिनहरु बित्न थाले । सुरु सुरुमा अग्घोर अतेर लागे पनि पछि पछि बानी पर्दै गयो ।
हामी छोरी मान्छेलाई सानैदेखि, “एक दिन तैँले यो घर छोडेर जानुपर्छ”, भनेर सम्झाइएको हुन्छ । मानसिक तयारी गराइएको हुन्छ । त्यसलाई वाध्यताको रुपमा स्वीकार्नु बाहेक अरु विकल्प सामान्यता हुँदैन ।
घर सजिलै थियो । छरछिमेकमा पनि मजस्तै मेरै उमेरका छोरी बुहारीहरु थिए । उनीहरुसँग मेलापात, घाँस दाउरा गर्दा रमाइलो हुन्थ्यो । हाँस खेल गरिन्थ्यो । वनपात जाँदा साथीहरु मिलेर सुख दुःखका, माया प्रीतिका गीत गाउँथ्यौँ । हामी बुहारीहरु त माइतीलाई सम्झेर पनि गीत गाउँथ्यौँ । सबैको भावना उस्तै हुन्थ्यो ।
उनको सानैदेखि रक्सी खाने बानी रहेछ । मैले कति सम्झाए र छुटाउने प्रयास गरेँ । म कति रुन्थेँ, रिसाउँथे, कहिले भोकै पनि सुत्थेँ उनको मन पग्लन्छ कि भनेर । तर, म सफल हुन सकिनँ । नानीदेखि लागेको बानी एक/दुई दिन छोडे पनि फेरि खाइहाल्थे । मेरो केही लागेन । मैले हार खाएँ र जेसुकै होस् भनेर कराउन छोडेँ । तैपनि जिन्दगी ठिकठिकै चलिरहेको थियो । मैले जिन्दगीसित सम्झौता गरेकी थिएँ । आफूले आफैँलाई चित्त बुझाएकी थिएँ ।
बिहे गरेको पाँच वर्षपछि हाम्री छोरी जन्मिन् । म आमा बनें । यतिन्जेल सन्तान नहुँदा कता–कता मलाई सियोले चस्स–चस्स घोचेजस्तो पनि हुन्थ्यो कहिलेकाँही । कतै सन्तान नहुने त हैनन् भनेर पीरजस्तो पनि लाग्थ्यो कहिले त । पतिका कारण सन्तान नभए पनि पत्नीलाई नै दोषी ठहर्याउँछ, हाम्रो समाज । मसँगै बिहे भएर आएका धेरैजसो दिदी बहिनी आमा बनिसकेका थिए ।
आमा हुनको खुसी र गौरव बोधले जस्तै प्रसव वेदना पनि सहन गर्ने शक्ति प्राप्त हुँदो रहेछ । यो मैले आफैँले अनुभव गरेँ । मैले प्राकृतिक रुपले नै छोरीलाई जन्म दिएँ । म सुत्केरी भएको केही दिन पछि, उनी बिरामी भए । उपचार गरे पछि केही ठीक हुन्थ्यो, फेरि उस्तै हुन्थ्यो । यो क्रम चली रह्यो ।
पछि स्थानीय अस्पतालकोे सिफारिसमा उनलाई काठमाडौंको शिक्षण अस्पतालमा लगियो । ससुराबाले लिएर जानुभयो । शिक्षण र टेकु अस्पतालमा गरी दुई महिना उनलाई अस्पतालमा भर्ना गरेर राखियो ।
निको भएर घर आएको केही समय पछि उनले भने, ‘मेरो कारणले घरमा ऋण लाग्यो । म अब पैसा कमाउन जान्छु । छोरीको पनि भविष्य हेर्न पर्यो ।’
मैले, नजानूस् यहीँ दुख गरेर बाख्रा पाठा पालेर, खेतीपाती गरेर भए पनि कमाउँला भनेँ । बुबा आमा पनि बृद्ध हुनहुन्छ । बालखा छोरी लिएर म कसरी बस्न सक्छु र ? भनेर धेरै सम्झाएँ । तर, उनले मेरा कुरा सुनेनन् । सासू ससूराले उनलाई टीका लगाएर छिटै आएस् भनेर आशिष दिँदै विदा दिनुभयो ।
उनी गएको केही हप्तापछि मलाई ससुराबाले भन्नु भयो, “बुहारी तिमी पनि एकफेर शिक्षण अस्पताल जाऊ । आफ्नो र नातिनीको स्वास्थ्य परीक्षण गरेर आऊ ।”
हामी भालिपल्टै साइत गरेर गयौँ । शिक्षण अस्पताल गएर स्वास्थ्य परीक्षण गरायौँ । दूर्भाग्य ! हामी आमा छोरी दुबैमा नै एचआइभी पोजिटिभ देखियो ।
मैले कथम् आफूलाई एचआइभी पोजिटिभ भएपनि छोरीलाई नहोस् भनेर कति पुकारेँ भगवानलाई ! तर, छोरीलाई पनि एचआइभी पोजिटिभ भएको सुने पछि मैले मानसिक सन्तुलन नै गुमाउन पुगेको थिएँ । मलाई मैले टेकेको जमिन नै भासिएको आभाष भएको थियो । मलाई आफ्नो भन्दा पनि छोरीको पीरले सतायो ।
मेरा सबै सपनाहरु काँचको सिसाजस्तै चकनाचुर भए । तर, छोरीका लागि भए पनि म बाँच्नु थियो । त्यो दिन सम्झँदा आज पनि मेरो मुटु भक्कानिएर आउँछ । उनी कमाउन भनेर हिँडेको पनि एक दशक बढी भैसकेको छ । यो अवधिमा न उनी आए, न उनको केही पत्तो खबर आयो । अब त उनी फर्केर आउलान् भन्ने आशा पनि लाग्न छोडिसकेको छ तर, आँखा साँझ परे पछि एक पटक तगेरा तिर नहेरी घरभित्र पस्न मान्दैनन् ।
उनी बिहे नहुँदै संक्रमित रहेछन् र सायद आफ्नो पोल खुल्ने डरले घरबाट भागेका रहेछन् । उनलाई मेरो र समाजको अगाडि मुख देखाउन पनि लाज लाग्यो होला । उनी सायद पश्चातापले पिल्सिएका थिए की !
एकातिर उनकै कारण एचआइभी संक्रमित जीवन बाँच्नुपरेको छ भने अर्काेतिर सँगै बाँच्ने सँगै मर्ने बाचा तोडेर, मलाई एक्लै छोडेर हिँडिदिँदा मेरो जिन्दगी झनै दुरुह र कष्टकर भएको छ । दोहोरो धोका खानेमा परेकी छु म । एकल, त्यसमाथि एचआइभी संक्रमित महिलालाई समाजले कसरी हेरेको छ र कुन स्थानमा मलाई राखेको होला तपाईँहरु आफैँ सोच्न र अनुमान गर्न सक्नुहुन्छ । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । पहिलो जुनीमा मैले पाप गरेको भएर त्यो पापको सँजाय आज आएर भोग्दैछु । यस्तो पनि लाग्यो कति दिनसम्म त मलाई ।
मेरा छिमेकी र साथीसंगी आफन्तले एचआइभी पोजिटिभ हो भन्ने थाहा पाए पछि म र मेरी नानुलाई कति लाञ्छना लगाए र भेदभाव गरे । त्यो पीडाबाट आजसम्म पनि मुक्ति पाउन सकिएको छैन ।
अब त बानी पनि परिसक्यो । बिस्तारै समाजमा पनि परिवर्तन आएको छ । सचेतना बढेको छ, पहिलेको तुलनामा केही सहजता पनि महसुस भएको छ ।
मलाई अनन्तः दुख छ, तर कुनै अपराधबोध भने छैन । मेरा कारणले म संक्रमित भएको हैन । मैले छोरीलाई संक्रमित बनाएको पनि हैन । मलाई यत्ति थाहा छ, म छोरीका लागि पनि बाँच्नु पर्छ । छोरीका लागि मैले संसारका सबै खाले चुनौतीहरुको सामना गर्नुपर्छ । म त्यसका लागि सधैँ तयार रहनेछु । म बा, आमा, फुपु, सासु, ससुरा कसैलाई पनि दोष दिन चाहन्न । उहाँहरु सबैले मेरा भलो नै चाहेको हो ।
मेरी फूपू दिदी मलाई, “त्यो घरमा नबस । मेरो घरमा आऊ म तिमीलाई पाल्छु” ,भन्नुहुन्छ । उहाँलाई हुनसम्म पछुतो भएको छ । तर, जेजस्तो भए पनि म कर्म घर छोडेर कहाँ जान सक्छु र ? फेरि म एकलै पनि छैन । आमा बुआको लागि म गर्हुङ्गो बोझ भएकी छु । मैले कुनै दिन उहाँहरुलाई खुसी दिन सकिन ।
मैले एक दिन फोनमा कुरा गरिन भने आमा रुनुहुन्छ । म आमाको कोखीको स्थायी घाउ बनेकी छु । सायद विधताले नै मेरो भाग्यमा यस्तै लेखेको होला भनेर चित्त बुझाउँछु । अरु उपाय पनि के नै छ र ?
बरु मलाईजस्तो अरु कसैलाई नपरोस् भनेर एच आइ भीको सचेतना अभियानमा लाग्ने गरेकी छु । अझै पनि कुनै दिन उनी फर्केर टुप्लक्क घर आउँछन् कि जस्तो लाग्छ । जतिसुकै बैगुन भए पनि, माया त लाग्छ नि । तर, लागेर के गर्नु ?
–नन्दलाल आचार्य
नगर वरपरका गाउँका चुमन, फेकन र किसुन मुसहर निकै प्रख्यात थिए । विशेष गरी चुमन माटो काट्थ्यो । फेकन काठका टुन ट्रकमा लाद्थ्यो । किसुन लकडी चिर्न सिपालु थियो । उनीहरूका श्रीमतीहरू बिल्टी, बौरिया र जिरिया घरकै सुसेधन्दा गरेर बस्थे । एक्लैदोक्लै कतै पनि काम गर्न जाँदैनथे । धान रोप्ने बेलामा, गोड्ने बेलामा र काट्ने बेलामा भने टाढा–टाढाबाट महाजनहरू खेताला खोज्दै उनीहरूकहाँ आउँथे । त्यस बेलामा भने उनीहरू समूहमा काम गर्न टाढा–टाढासम्म पनि पुग्थे ।
चुमन, फेकन र किसुनहरूको साँझको नित्यकर्म बेग्लै हुन्थ्यो । दिनभरि कमाएर ल्याएको केही पैसा साँझ र बिहान गरी दुई छाककोे भात–तरकारीको जोहो गर्न श्रीमतीलाई दिन्थे । अरू पैसा लिएर भट्टीमा छिर्थे । पिउँदा पिउँदै कहिल्यै बाटामै रात गुजार्थे । कहिले भने घर पुगेर श्रीमतीसँग नचाहिँदो गनगन गर्थे । कहिलेकाहीँ चाहिँ जोईपोइ कुस्ती लड्थे । दुनियाँलाई सित्तैमा मनोरञ्जन दिन्थे ।
एक पटक मातेर जथाभावी बक्तै हिँडेको अवस्थामा डियुटीका प्रहरीसँग जम्काभेट भयो । उनीहरू उल्टै प्रहरीलाई जिस्काउन थाले । प्रहरी कमाण्डर नयाँ थियो, युवा थियो, अलिक झ्वाकी थियो । उसले तुरुन्तै आदेश दियो, ‘केटा हो, यी धतुरे मोराहरूलाई भ्यानमा कोच । हिराशतमा रातभर माघे ठण्डीको स्वाद चाखून् ।’
‘हैन, हैन सर ! यी यहीँका बासिन्दा हुन् । दिनभर ज्याला मजदुरी गर्छन् । पसिनाको कमाइ रक्सीमा बगाउँछन् ।’ पुरानो प्रहरीले भन्यो, ‘यिनिहरूलाई थुनेर केही फाइदा छैन । श्रीमतीहरू खाना पकाएर यिनको बाटो हेरिराख्या होलान् ।’
‘कसैको अर्ती–उपदेश सुन्ने बानी छैन मेरो’, कमाण्डर कड्कियो, ‘आदेशको पालना भयो भएन, हुन्छ, हुँदैन ? म त्यत्ति मात्रै जान्दछु यत्तिबेला ।’
फलतः तीनै जना कोचिए प्रहरी भ्यानमा ।
रातभर गाईघाट नगर प्रहरी हिराशतमा चुमन, फेकन र किसुन थुप्रिए । उज्यालो भएपछि प्रहरी कमाण्डरले भन्यो, ‘क्षमायाचना गर्दै यस्तो गलत कदम कहिल्यै नदोहोर्याउने विश्वास दिलाओ, घर जान पाउँछौ ।’
‘सरकार, हामी कमाउन जान्दछु, जोगाउन जान्दैनौं’, चुमनले हात जोड्दै भन्यो, ‘बचपनदेखि लागेको आदत छोड्छु भन्दा पनि छुड्दैन । के गरौं, सरकार !’
‘अरे सर, हाम्रो बाबुबराजेले कमायो, खायो, दुनियालाई खिलायो र विन्दास पाराले जियो । मर्यो त विन्दास पाराले नै मर्यो ।’ फेकनले अघि सर्दै भन्यो, ‘उदेर्कै सन्तान हामी लागेको आदत झट्टै छाड्न कहाँ सक्छु र !’
प्रहरी कमाण्डर किसुनतिर फर्कियो ।
‘कुरा के भने नि पुलिस सर, हामीहरू पढे लेखेको छैन । काम गरे माम खान पाउँछौं ।’ किसुन फलाक्तै गयो, ‘यहाँ पहाडिया भाइबहिनीको संगतमा लागेर हामीहरूले सत्य बोल्न सिखेको छु । एक्कै पल्ट दारूपानी छाड्न सक्दिन । मनमा डर मानेर रहन्छु त जथाभावी गर्दिनँ । यत्ति विश्वास सरलाई दिलाउन सक्छु । हामी गरिप मान्छेलाई दया गरेर एकचोटी छाडिदिनुस् । काममा जान बेर भइसक्यो । साहूले गाली गर्छ ।’
‘उसो भए ठीकै छ । तिमीहरूलाई यहाँ राख्दा हामीलाई नै बोझ थपिन्छ । उता तिमरूका छोराछोरी भोकै हुन्छन् । यस केसलाई अघि बढाउँदा तिमरूका परिवारलाई ठूलो चोट लाग्ने रहेछ ।’ कमाण्डर थप्दै गयो, ‘तिमरू एउटा काम चाहिँ गर न त ! हामी सन्तुष्ट हुन्छौँ ।’
तीनै जनाले कमान्डरको मुहारतिर आँखा दौडाए ।
‘आजैबाट कबुल गर ! दिनभरि कमाओ । कमाइको आधा रकम भविष्यका लागि बचत गर । आधा भने परिवारको खर्चका लागि छुट्याओ । बेलुका पिउन मन भए श्रीमतीलाई ल्याउन लगाओ । बेलुका खाना खाएपछि सुत्ने बेलामा सुटुक्क सीमित पिओ, खाओ । र, चुपचाप सुत ।’ चेतावनी दिँदै कमाण्डरले थप्यो, ‘याद राख ! तिमेरूले पिएको श्रीमतीबाहेक छिमेकीले त के आफ्नै छोराछोरीले पनि थाहा पाउनुहुन्न, नि !’
तीन जना वाल्ल परेर सुनेको सुन्यै भए ।
‘नियम पालना गर्ने भए, आ–आफ्नो कामधाममा जाओ । नत्रभने केस अघि बढ्छ । सार्वजनिक मुद्दा लाग्छ ।’ कमाण्डर भन्दै गयो, ‘अब जेलमा सडिन्छौ कि, बानी परिवर्तन गर्छौ । भकुण्डो तिमरूकै कोर्टमा छ । के गर्नु, ‘भीरबाट खस्ने गोरुलाई राम, राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न’ क्यारे !’ अन्ततोगत्वा सर्त स्वीकारेर नयाँ जोस र सोचका ६ वटा पाइलाहरू अघि बढे ।
–अच्युतमान सिंह प्रधान ‘उत्सुक’, काठमाडौं
मर्नुपर्छ सबैले, जन्मे पछि एक दिन
छोड्नुपर्छ सबैले, यस घर्तीलाई अवश्य एक दिन
खाली हात आएर, खाली हात नै जानु पर्छ एक दिन
तर, पनि गर्छन् किन, मानिस लोभ लालच ?
किन बिर्सन्छन्, मानिस मानवतालाई
किन कमाउँछन् यति धैरै ?
आखिर खाने हो पेट भरि नै हो
अनि किन थुर्पाछन् यति धैरै धनसम्पत्ति, सात पुस्तेलाई पुग्ने गरि ?
यति धैरै सम्पत्ति आर्जन गरे पनि, किन सुत्न सक्दैनन् मस्तसँग ?
न छ हुन्छ मन मा शान्ति, न त हुन्छ तनमा सुख
छ त केवल, शरिरमा रोगको खानी
बुझेका छन् सबैले, गर्नु हुँदैन अधर्म भनेर
तर, पनि गर्छन् किन, बुझ पचाएर यि सबै कुरा ।।
गर्नुपर्छ त्यो काम, जुन गर भन्छ अन्तरआत्माले
गर्नु हुँदैन कहिले त्यो काम्, जुन दुत्र्काछन् अन्तर आत्माले सधैं
अनि पो बन्छ मानिस, खुशी र सुखी सधैँ
अनि पो हुन्छ, मनमा शान्ति र तनमा सुख सधैँ ।।
– प्रदिप ज्ञवाली, सैनामैना, रुपन्देही
आशा गर्छौ आउला भनी सुन्दर एक बिहान
त्यही बिहानको प्रतिक्षामा पुग्छौं हामी चिहान
जीवनभर मेरो भन्दै सम्पत्ती जोड्न खोज्छौ
जानेबेला खल्ती बिनाको सेतो कात्रो रोज्छौ ।।
बाँचुन्जेल तेरो मेरो गर्छौ झगडाको बीउ
आखिरीमा आफन्तले पोलिदिन्छन् जीउ
एक रुपैयाँको घडेरीमा पाँच तलाको चिता
पञ्चतत्व खरानी बनाई बगाउ पानी सित ।।
तैपनि सदैव यहाँ किन तेरो मेरो चल्छ
हाम्रो मनको लालच साथी कहिले हट्छ
खान लाउन दान गर्न पुगोस् अरु किन खोज्ने
मर्दा दिन मलामिहोस् त्यहि हो अब सबैले रोज्नुपर्ने ।।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies