२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘काव्य कलश’ लोकार्पण

shivam cement
२०८२ असार २२ गते १७:२९
Shares
‘काव्य कलश’ लोकार्पण

काठमाडौं : कवि अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कवितासंग्रह ‘काव्य कलश’ लोकार्पण गरिएको छ । टुक्का साहित्य समाजको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभाहलमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीलगायत अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीले साहित्य जीवनसँग जोडिएको प्रयोग हो भन्दै परम्परागत शैलीमा मात्र सीमित रहँदा साहित्यको प्रभावक्षमता घट्ने बताए । उनले दुई हरफभित्र पूर्ण सन्देश दिन सक्ने लघुत्तम काव्यिक संरचना टुक्का कविता नेपाली साहित्यमा लोकप्रिय विधा बन्दै गएको धारणा राखे ।

कार्यक्रममा विशिष्ट अतिथि चेतनाथ धमलाले टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको बताउँदै यसको सैद्धान्तिक पक्ष बलियो बनाउँदै लैजानु आवश्यक रहेको बताए । अर्का विशिष्ट अतिथि महाकाव्यकार कलानिधि दाहालले टुक्कालाई छोटो समयमा सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम बताउँदै नियमित लेखनमार्फत यसको विकास आवश्यक रहेको धारणा राखे ।

साहित्यकार राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली साहित्यको उत्कृष्ट विधा भन्दै संस्थागत संरक्षण र प्रवर्द्धनको खाँचो औंल्याए ।

No description available.

काव्य कलशको समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गरेका थिए । मुक्तक अभियन्ता सुनिल अधिकारीले रामदामको लेखनकला र टुक्का विधाको विशिष्टतामाथि टिप्पणी गर्दै शुभकामना दिए ।

कार्यक्रममा कवि जनार्दन अधिकारी 'धड्कन', समीक्षक अरुणबहादुर खत्री 'नदी', ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, रचना मोक्तान ‘यात्री’ लगायतका सर्जकहरूले आफ्ना टुक्का कविता वाचन गरेका थिए ।

समारोहमा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेले राखे भने सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र समाजको गतिविधिबारे जानकारी दिए ।

समारोहमा टुक्का प्रवर्तक एवं टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले टुक्का कविताका सैद्धान्तिक पक्ष, संरचना र लेखनशैलीबारे धारणा राख्दै छोटो अवधिमै यसको लोकप्रियता सर्जकहरूको सामूहिक योगदानले सम्भव भएको बताए । कार्यक्रम सञ्चालन समाजका सदस्य रामप्रसाद पुरीले गरेका थिए ।

सम्बन्धित खबर