काठमाडौं : नेपाली कामदारका लागी आकर्षक रोजगारको गन्तब्य मानिएको दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि त्यहाँ कार्यरत नेपाली कामदारहरु त्रासमा देखिएका छन् । चौथो वेभ फैलिएको भनिएको दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित फेला परेको बताइएको छ ।
कोरोना संक्रमण यही गतिमा फैलँदै गए रोजगारी गुम्ने चिन्ता नेपाली कामदारहरुको छ । संक्रमण बढ्दै गएपछि दक्षिण कोरियाली सरकारले स्वास्थ्य मापदण्डको नियम कडाइका साथ लागू गरेको छ । यही क्रम जारी रहे संक्रमण नियन्त्रणका लागि सबै प्रकारका व्यवसाय बन्द गर्ने स्थिति आउने आंकलन छ । सबै व्यवसाय बन्द भए ईपीएस प्रणलीमार्फत रोजगारीमा गएका नेपाली कामदारहरु रोजगारविहीन हुनेछन् ।
यसअघि गत वर्षको कोरोना संक्रमणका कारण पनि त्यहाँ कार्यरत कयौं नेपाली कामदार रोजगारविहीन भएका थिए भने कयौंले तलव समेत पाएका थिएनन् । नेपाली कामदारका साथै अन्य विदेशी कामदार पनि प्रभावित बनेका थिए ।
त्यसपश्चात कोरोना संक्रमणदर कम हुँदै गएपछि दक्षिण कोरियाको अर्थतन्त्रमा केही सुधार आएर स्थिति समान्य भएको थियो । तर पुनः कोरोना संक्रमणको चौथो वेभ फैलिएको बताइएपछि फेरि सोही समस्या आइपर्ने त्रासमा नेपाली कामदारहरु छन् ।
साथसाथै ईपीएस प्रणलीमार्फत रोजगारीमा जान चाहने अन्य नयाँ कामदारहरु पनि जान पाउने स्थिति न्यून हुँदै गएको छ । कोरोना महामारीकै कारण हाल दक्षिण कोरियामा नेपाली कामदार जान पाएका छैनन् ।
केही दिन अगाडि मात्र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत रोकिएका श्रमिक निश्चित मापदण्डभित्र रहेर आफ्नो देश आउन पाउने विषयमा सकारात्मक भएको थियो ।
एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने, श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने थियो । यसैगरी कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको थियो । तर सोही समय संक्रमण बढ्न थालेपछि कोरिया आफ्नो निर्णयबाट पछि हट्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ ।
यसैबीच कोरिया सरकारले त्यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाएको जनाएको छ । खोप अभियानलाई तीव्र गतिमा अघि बढाए संक्रमण घट्ने अनुमान गरिएको छ । संक्रमण कम हुँदै गए त्यहाँ कार्यरत नेपाली कामदारका साथै नयाँ कामदार पनि दक्षिण कोरिया रोजगारीमा जान पाउने बाटो खुल्ने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies