
बारा : बाराको पथलैयास्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र सुरक्षा प्रमुखहरूको उपस्थितिमा जेनजीका तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ जनाको सहभागितामा वार्ता भएको हो ।
जेनजीहरूले घटनामा संलग्नहरूलाई निष्पक्ष छानबिन गरी कारबाही, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्ति, सुरक्षाको ग्यारेन्टी, लापरबाही गर्ने सुरक्षाकर्मीको कारबाही, अरविन्द साहको कल डिटेल सार्वजनिक गरी मुख्य दोषीको पहिचान र कारबाही लगायतका माग राखेका थिए ।
जेनजी अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादवले घटनालाई एमाले कार्यकर्ताहरूको योजनाबद्ध आक्रमण भएको बताएका छन् । प्रहरी उपरीक्षक सन्तोष तमाङले उजुरीका आधारमा अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गरिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रले मागहरू छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।