
दोलखा : दोलखाको प्रसिद्ध धार्मिक गन्तव्य कालिञ्चोक भगवती मन्दिरमा पछिल्लो दुई महिनामा २२ लाख ६२ हजार ७ सय ६५ रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । असोज र कात्तिक महिनामा मन्दिर व्यवस्थापन समितिले तीर्थयात्रीहरूले चढाएको भेटी नियमित रूपमा संकलन गरेको छ ।
गुठी संस्थानले मन्दिर व्यवस्थापन समिति गठन गरेसँगै असोजदेखि दैनिक मुचुल्का तयार गरी भेटी सङ्कलन सुरु भएको थियो । समितिका अध्यक्ष चन्द्रकुमार लामाका अनुसार संकलित रकम नेपाल प्रहरीको रोहबरमा दोलखाको चरिकोटस्थित नबिल बैंकमा जम्मा हुँदै आएको छ । साथै, दैनिक हिसाब–किताब समितिको आधिकारिक फेसबुक पेजमार्फत पनि सार्वजनिक गरिँदै आएको छ ।
कालिञ्चोक भगवती मन्दिर ३,८४२ मिटर उचाइमा अवस्थित छ र विशेष गरी शुक्रबार र शनिबार भक्तजनको भीड लाग्ने गर्दछ । धार्मिक आस्थाका साथै यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक र श्रद्धालुहरूलाई आकर्षित गरेको छ । भक्तजनहरू विश्वास गर्छन् कि कालिञ्चोक भगवतीको दर्शनले मनोकामना पूरा हुने, स्वास्थ्य लाभ हुने, पारिवारिक सुख–समृद्धि बढ्ने र बाधा–विघ्न टर्ने विश्वास रहि आएको छ ।
मन्दिर काठमाडौंबाट १ सय ४४ किलोमिटर दूरीमा पर्ने मन्दिर चरिकोटबाट करिब १७ किलोमिटर टाढा अवस्थित छ ।