२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

shivam cement
२०८२ मंसिर ७ गते १३:०२
Shares
हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

सिमकोट : हुम्लाको सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् ।

आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।

घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्‍याइएको जनाउँदै प्रनाउ पोखरेलले अहिले घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार लक्ष्य र बाँचुको अवस्था गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ । 

स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएका छन् । सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो । घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जंगली जनावरको जोखिममा पर्ने गरेका छन् । 

भालुको गाउँमा प्रवेश गर्नेक्रम बढिरहेकाले स्थानीयलाई सतर्क भएर दैनिक कामकाज गर्न प्रहरी प्रमुख पोखरेलले आग्रह गरे । आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जंगली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उनले बताए ।

ADV

सम्बन्धित खबर