काठमाडौं : टोखा नगरपालिका वडा नम्बर ९ को नयाँ बसपार्कसँग जोडिएको विष्णुमती करिडोर क्षेत्रमा भएका टहरा हटाएर नगरपालिकाले सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । वर्षौदेखि व्यापारी र केही व्यक्तिले हडपेका खोला किनारका सार्वजनिक जग्गाको संरक्षण गर्न तत्काल पार्क निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
सो पार्कको नगरपालिकाले डिपिआर समेत तयार गरिसकेको छ । हरियाली पार्कभित्र सार्वजनिक शौचालय, बाल उद्यान, खुला व्यायामशाला र मन्दिर रहनेछन् । बसपार्क प्रवेशद्वारमा आगामी वर्ष नगरपालिकाले गेटसमेत निर्माण गर्ने लक्ष्य लिएको छ ।
विष्णुमती करिडोर क्षेत्रका जग्गाहरु खाली गराउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकालाई पटक–पटक पत्राचार समेत गरेको थियो ।
टोखा-९ को विष्णुमती खोला करिडोरका घर, टहराहरुलाई नगरपालिकाले खाली गराउन सुरु गरेपछि अहिले टोखावासी खुसी भएका छन् । अन्य ठाउँमा पनि व्यक्तिले हडपेका जग्गाहरु नगरपालिकाले संरक्षण गर्ने अभियान सुरु गरेको छ । मंगलबार बिहान टोखाका ४ वटा वडामा एकै पटक घर/टहरा हटाउने अभियान सुरु गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।
टोखा नगरपालिका वडा नम्बर ९ को विष्णुमती करिडोरको घर/टहरा हटाउन अन्तिम पटक सूचना जारी गरेको ७ दिन अगावै व्यापारीहरूले घर/टहरा धमाधम खाली गरिरहेका छन् । एक व्यापारीले मध्यान्हसँगको कुराकानीमा भने, “टोखा नगरपालिकाको सुन्दर नगर बनाउने अभियानमा हाम्रो साथ रहन्छ । जग्गा खाली भएर फोहोर फ्याँक्ने ठाउँ भएकाले सफा गरी पसल राखेका थियौं । अब नगरपालिकाको डोजर आएर भत्काउनु भन्दा अगावै हामीले खाली गरिदिएका छौं ।” दिपज्योती क्षेत्रमा भएका घरहरु पनि धमाधम भत्काउने कार्य भइरहेको छ ।
टोखा नगरपालिकामा दोस्रोपटक नगर प्रमुखमा निर्वाचित भएपछि प्रकाश अधिकारीले सार्वजनिक जग्गाहरु संरक्षणमा जोड दिएका छन् । गत वर्ष प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी आइसकेपछि सो कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ । टोखाले फुटपाथ सडक निर्माणमा पनि जोड दिएको छ । टोखाले सफा र सुन्दर नगर बनाउन प्रत्येक हप्ताको शनिबार खोला र सडक सफाइमा निरन्तरता दिँदै आएको छ ।