बझाङ : प्रगतिशील युवा समाज बझाङले जयपृथ्वी नगरपालिकामा नगरस्तरीय सिकाइ आदान–प्रदान कार्यक्रम जयपृथ्वी नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवा समाजद्वारा संचालित विद्यालयमा प्रविधिमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्तर्गत सिकाई आदान–प्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयमा सञ्चालन गरिएको टेलस परियोजना अन्तर्गत सूचना, सञ्चार तथा प्रविधि ल्याब (आइसिटी ल्याब) सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीहरुको सिकाइमा आएको परिवर्तन तथा आइसिटी ल्याबको व्यवस्थापनबारे छलफल भएको छ । कार्यक्रममा विद्यालयमा सञ्चालन गरिएको सूचना, सञ्चार तथा प्रविधि ल्याब (आइसिटी ल्याब) सञ्चालनको उद्देश्य, उपलब्धी र चुनौतीको बारेमा जानकारी दिइएको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालका टेलस परियोजना संयोजक जमुना श्रेष्ठले परियोजनाको समया अवधि कम भएपनि परियोजनाबाट लागुभएका कार्यक्रमहरु सफलतापूर्वक लागू भएको बताइन् । कार्यक्रममा संस्थाले विद्यालयमा आइसिटी ल्याब स्थापना गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै ल्याब सम्बन्धी ज्ञान भएका दक्ष शिक्षकको विद्यालयमा व्यवस्था गर्नुपर्ने पाण्डु माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खड्काले बताए ।
उनले भने,‘स्थानीय सरकारले आइसिटी ल्याबलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने, विषयगत शिक्षकलाई तालिमको व्यवस्था गर्न जरुरी छ । ल्याब स्थापना गरिएका विद्यालयहरुमा स्मार्ट बोर्ड र प्रोजेक्टरको पनि व्यवस्था स्थानीय सरकारले वा संस्थाले गरिदिए राम्रो हुन्छ ।’
कार्यक्रममा बोल्दै भवानी माध्यामिक विद्यालयका शिक्षक श्याम परियारले विद्यालयमा ल्याब स्थापना भएपछि विद्यार्थीको सिकाइमा रुची बढेको, विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको बताए । बझाङका लागि ल्याब स्थापना कार्य नयाँ र महत्वपूर्ण भएकाले ल्याबबाट शैक्षिक क्रियाकलाप प्रभावकारी भएको सुनिपिपलचौर माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले बताए ।
उनले विद्यालयलाई नविनतम प्रविधिसँग जोडेर सिकाइ आदान–प्रदान गर्ने अवसर दिएको भन्दै संस्थालाई धन्यवाद समेत दिए ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष जगदिश रोकायाले सिकाइलाई प्रविधिसँग जोड्ने कुरा महत्वपूर्ण भएकाले यसको दिगोपनामा ध्यान दिनुपर्ने बताए । विद्यालयमा स्थापना गरिएका कम्प्युटर ल्याबको संरक्षण र दिगोपनाका लागि नगरपालिकाले ध्यानदिनुपर्ने जिल्ला शिक्षा समन्वय इकाईका प्राविधिक सहायक बसन्तबहादुर सिंहले बताए ।
जयपृथ्वी नगरपालिका शिक्षा शाखा प्रमुख निरज प्रसाद रेग्मीले विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गराउने लक्ष्य सरकारले लिएकाले सोही अनुरुप स्थानिय सरकारको कामलाई पनि संस्थाले सहयोग पुगाएको बताए ।
कार्यक्रममा ल्याबको संरक्षण र दिगोपनाका लागि स्थानीय सरकारले पनि चिन्ता र चासो लिएको जयपृथ्वी नगरपालिका–८ का वडाध्यक्ष लोकेन्द्र बोहराले बताए । जयपृथ्वी नगरपालिका उप–प्रमुख रतनबहादुर सिंहले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताए । शिक्षामा नयाँ प्रविधिको विकास भएकाले सोही अनुरूप नगरपालिकाका ८ वटा विद्यालयमा कार्यक्रम सुरू गरेर संस्थाले प्रभावकारी काम गरेको बताए ।
पहिलेको भन्दा अहिलेको पाठ्यक्रम केही फरक भएकाले शिक्षकहरुले पनि यस्ता विषयमा अपडेट हुनुपर्ने प्रगतिशिले युवा समाजका अध्यक्ष रमेश केसीले बताए । साथै अध्यक्ष केसीले ल्याबको दिगोपनामा चिन्ता र चासो व्यक्त गर्न सरोकारवालाहरुलाई आग्रह गरे ।
कार्यक्रममा नारायण माध्यामिक विद्यालय, बालविकास माध्यामिक विद्यालय, पाण्डु माध्यामिक विद्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुनिपिपलचौर माध्यामिक विद्यालय, भवानी माध्यामिक विद्यालय, शिशु आधारभूत विद्यालय र सुर्मा आधारभूत विद्यालय गरी नगरपालिकाका ८ वटा विद्यालयका प्रधानाध्यापक, आइसिटी शिक्षक र पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रगतिशिल युवा समाजका टेलस परियोजना अधिकृत पाण्डव पुजाराले कम्प्युटर ल्यावको लागि स्थानीय सरकारबाट अपेक्षा गरेका सहयोग, सहकार्य, दिगोपना, चुनौतीलगायतका विषयमा जानकारी दिएका थिए । परियोजना लागुभएका आठ विद्यालयका ३ हजार ४ सय १७ जना विद्यार्थी लाभान्वित भएका छन् ।