२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

क्रिकेटर साना प्रविण र एसईईमा पर्सा जिल्लामै सर्वाेत्कृष्ट रिया साह सम्मानित

ADV
महमद सदाब
२०८१ मंसिर ९ गते १९:१५
क्रिकेटर साना प्रविण र एसईईमा पर्सा जिल्लामै सर्वाेत्कृष्ट रिया साह सम्मानित

वीरगन्ज : नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा पुग्न योगदान पु¥याएकी वीरगन्जकी खेलाडी साना प्रविणलाई वीरगन्ज महानगरपालिकाले आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । महानगरपालिकाले प्रविणलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

प्रविणले भर्खरै सम्पन्न यु–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । उनले टोलीलाई विश्वकपमा छनोट गराउन महत्पूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रविण नेपालकी ओपनर ब्याटर हुन् ।

यस्तै महानगरपालिकाले यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई पनि सम्मान गरेको छ । साहलाई उनको उच्च शिक्षा अध्ययनमा थप हौसला प्रदान गर्न ल्यापटपसहित सम्मान गरिएको हो । २०८० सालको एसईईमा पर्सा जिल्लामै सर्वाेत्कृष्ट अंक ३.९७ जीपीए ल्याएर साह उत्तीर्ण भएकी थिइन् ।

दुबै जनालाई महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्तरुपमा नगद र ल्यापटप हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महानगर प्रमुख सिंहले क्रिकेटको माध्यममार्फत वीरगन्ज र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै प्रविण र परीक्षामा पर्सा जिल्लामै प्रथम भएर शिक्षामा छोरीहरु पनि अघि छन् भनेर अनुकरणीय उदाहरण बनेकी साहलाई बधाई दिए । उनले छोरीहरुको आत्मबल बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने भन्दै छोरीहरुले पनि केही गर्न सक्छन् भन्ने उदाहरणको पात्रको रुपमा दुबै जना बनेको बताए ।

यस्तै उपप्रमुख आलमले वीरगन्जलाई चिनाउन आफ्नो क्षेत्रबाट कम्मर कसेर लागेकाहरुको प्रोत्साहनमा महानगर सधैं प्रतिबद्ध रहेको धारण राखे । यसअघि पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले भव्य सम्मान गरेको स्मरण गर्दै उनले आउँदा दिनमा पनि वीरगन्ज र नेपाल चिनाउनेहरुलाई सम्मान गर्न महानगर पछि नपर्ने स्पष्ट पारे ।

वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सबैको सकारात्मक पहलबाटै समाज परिवर्तन हुने हुँदा छोरीहरुलाई पढ्न र खेल्न घरैबाट उत्साह दिनुपर्ने धारणा राखे । साना र रियाको अभिभावक त्यसको ज्वलन्त उदाहरण बनेको पनि उनले बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले क्रिकेटको विकासमा सहयोग गरिदिन सबैलाई आग्रह गरे । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise