२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

एनपीएलले लिने उचाइ

ADV
२०८१ मंसिर ११ गते ०६:४०
एनपीएलले लिने उचाइ

दक्षिण एसियामा सर्वाधिक लोकप्रिय रहेको क्रिकेटको क्रेज नेपालमा पनि असाध्यै धेरै छ । बढ्दो प्रविधिको पहुँचले क्रिकेटको क्रेज कुन तहमा पुग्यो भन्ने सजिलै थाहा पाउन सकिन्छ । नेपाली क्रिकेट टिमले खेलेको हेर्न युट्युबलगायत सामाजिक संजालमा जति संख्यामा भिजिटर देखिन्छन्, संभवतः अरू विधामा त्यति पुग्न असंभवप्रायः छ । महिला फुटबल, महिला भलिबल जस्ता समूहगत केही खेलमा पनि उत्तिकै आकर्षण छ । तर, क्रिकेटको जस्तो आकर्षण अरू खेलमा कमै पाइन्छ । यो आकर्षणको जग भनेको नेपाली क्रिकेट टिमले हासिल गरेको सफलता नै हो । क्रिकेट खेल्न थालेको छोटै समयमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेल्यो । यसको ४ वर्षपछि एक दिवसीय क्रिकेटको मान्यता पायो । गत वर्ष फेरि एक दिवसीय एसिया कप र अमेरिका–वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकप खेल्यो । यी खेलहरूमा संसारका सर्वोत्कृष्ट क्रिकेटरहरूसँग आमने–सामने भए हाम्रा खेलाडी । 

नेपाली क्रिकेटरहरूलाई हामीले विश्वका महँगा टेलिभिजन च्यानलहरूबाट प्रत्यक्ष प्रसारणमा देख्यौं । केही क्रिकेटरले विश्वका महँगा लिगहरू खेले । ती लिगहरूमार्फत नेपालको परिचय संसारभर पुगेको हे¥यौं । त्यसैले क्रिकेटको नेपालमा क्रेज अरू कुनै पनि विधामा भन्दा धेरै छ । अझ प्रत्यक्ष प्रशासनमा जोडिने हिसाबले त संभवतः अरू कुनै विधाले क्रिकेटसँग स्पर्धा गर्नै सक्दैनन् । त्यसरी दर्शक पाइरहेको क्रिकेटलाई नेपाल क्रिकेट संघ (क्यान)ले ब्यावसायिक रूपमा अगाडि बढाउने निर्णय लिएको छ । विशेषगरी पूर्वकप्तान पारस खड्का क्यानको सचिव बनेसँगै क्रिकेटले ब्यावसायिक यात्रा समातेको बुझ्न गाह्रो पर्दैन । अन्तर्राष्ट्रिय खेल संख्यामा समेत देखिनेगरी प्रगति गरिरहेको क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)लाई नयाँ उचाइका साथ संचालन गर्ने तयारी गरेको छ । १५ मंसिरदेखि हुने एनपीएलको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् । त्यो ट्रफीसहितको तस्बिर प्रधानमन्त्रीले आफ्नो फेसबुक प्रोफाइलमा राखेका छन् । 

ट्रफी सार्वजनिक समारोहसमेत ठूलो चासो र महत्त्वको विषय बन्यो । त्यसै पनि एनपीएलका हरेक निर्णय अहिले ठूलो चासोमा परिरहेका छन् । नेपाली क्रिकेटरहरूको अक्सन र उनीहरूले पाउने मूल्यदेखि विदेशी क्रिकेटर अनुबन्धनसमेत अर्थपूर्ण बनिरहेको छ । यसअघि कहिल्यै नपाएको मूल्यमा नेपाली क्रिकेटरहरू एनपीएल खेल्दै छन् । क्रिकेटरहरूले मासिक तलबसमेत नियमित पाउन नसकेको पृष्ठभूमिमा एनपीएलको यो आरम्भ ठूलो परिवर्तन हो । तर, चिन्ता एनपीएललाई कसरी दिगो बनाउने भन्ने नै हो । यो लिग दिगो बन्दा प्राप्त हुने उपलब्धिको त लामै सूची बन्छ किनकि खेल देशको परिचय मात्र होइन, यसको सम्बन्ध मुलुकको अर्थतन्त्र, अनुशासन र नागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ । युवा पुस्ताको विदेश आकर्षण बढिरहँदा उनीहरूलाई स्वदेशमै अल्झाउने यो एउटा गतिलो विधासमेत हुने छ । त्यसैले एनपीएललाई दिगो बनाउनेबारे सरोकारवालाहरूले आवश्यक चासो लिन आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise