रुकुम पश्चिम : महिला हिसा विरुद्वको १६ दिने अभियान रुकुम पश्चिमका विभिन्न स्थानीय तहमा मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने मुूलनाराका साथ दिवस मनाइएको हो ।
दिवस मनाइरहँदा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ की ५५ वर्षीया पातली कामीको करिब तीन वर्षदेखि सडकमा बास छ । उनको लागि यो दिवस सार्थक बनेको छैन । मागेर र फोहोरमा फालिएको खानेकुराले उनकोे जीवन निर्वाह भइरहेको छ । बाफिकोट, छिनखेत, सेराखेत, लोछाबाङ, मग्मा र बाफिकोटमा उनी डुलिरहन्छिन् ।
न उनको आफन्त खोजी गर्छन् न घरपरिवारले । न उनलाई पुस माघमा जाडो हुन्छ न जेठ बैशाखमा गर्मी नै । उनको घर भनेको खुल्ला आकाश हो । उनको उद्दारको लागि वडा पालिका र गाउँपालिकाले चासो देखाएको छैन ।
कामीको उद्धारको विषयमा बाफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाठा भन्छन्, ‘आफन्त बिना हामीले उद्दार गर्दा हामीलाई मुद्दा लाग्छ ।’ स्थानीयका अनुसार उनी गर्भवती छिन् ।
उनकै वडाबाट दुई जना महेन्द्र केसी (पारसमणि) र तुलसा मल्ल प्रदेश सांसद पनि हुन् । तर उनीहरू पनि वडाकै महिलाको यस्तो हालतप्रति चासो देखाएका छैनन् ।