दोहा कतार : स्याङ्जा सहयोग समाज कतारले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रममा वासिङ मेसिनसहित भौतिक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित "रामनदीधाम वृद्धाश्रम सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रम २०२४" सम्पन्न भएसँगै उक्त सहयोग गरिएको समाजले जनाएको छ ।
यस कार्यमा उपस्थित भएर साथ सहयोग गर्ने र १९औं वार्षिकोत्सवमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति समाजका अध्यक्ष प्रकाश परियारले कृतज्ञता ज्ञापन गरे । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको समन्वय समितिका अध्यक्ष वीरेन्द्र जंग के.सी. प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच जिल्लाको स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ अवस्थित रामनदीमा शिव पार्वती वृद्धाश्रममा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
यता समाज कतारले आउँदो शुक्रबारको दिन सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा नवौं अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । समाजले कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकारलगायत कतारमा रहेका स्याङ्जाली तथा गैर स्याङ्जालीहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।