२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एनआरएनए पोर्चुगलमा दीपा काफ्लेको कार्यकाल सुरु

Nada
२०८१ मंसिर १८ गते २१:०१
Shares
एनआरएनए पोर्चुगलमा दीपा काफ्लेको कार्यकाल सुरु

पोर्चुगल : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा दीपा काफ्लेको कार्यकाल सुरु भएको ओैपचारिक रुपमा घोषणा गरिएको छ ।

ncell

आइतबार राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि संघको अध्यक्षमा काफ्लेको कार्यकाल शुरु भएको घोषणा गरिएको हो । संघका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले काफ्लेको कार्यकाल सुरु भएको घोषणा गर्दै नवौं राष्ट्रिय अधिवेशनमा भएको सहमतिको ओैपचारिक रुपमा कार्यान्वयन गरिएको बताए ।

निर्वाचन समितिले समेत अध्यक्षको प्रमाणपत्र प्रदान गरिसकेको उल्लेख गर्दै हमालले संघको वैधानिक र आधिकारिक अध्यक्ष काफ्ले नै भएको जिकिर गरे । सहमतिको पालना नगर्नु बेइमानी भएको बताउँदै हमालले संघ राजनीति गर्ने थलो नभएर सेवा गर्ने थलो भएको धारणा व्यक्त गरे ।

केन्द्रीय प्रतिनिधि एवं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह–कोषाध्यक्ष तिलक गैरेले गत जुलाई ३० मा सम्पन्न भएको संघको नवौं राष्ट्रिय अधिवेशनले एक–एक कार्यकाल अध्यक्ष हुने गरी लिखित सहमति भएको बताए । संघको नेतृत्वका लागि पहिलो एक वर्ष उमेश खड्का र दोस्रो एक वर्ष दीपा काफ्ले अध्यक्ष रहने गरी सहमति भएको जनाउँदै गैरले सोही अनुरुप दुबै जनालाई अध्यक्षको प्रमाणपत्र समेत प्रदान गरिएको बताए ।

पूर्वपर्यटनदूत एवं संघका पूर्वअध्यक्ष रमेशकुमार गुरुङले एक–एक कार्यकाल नेतृत्व गर्ने भनेर गरेको सहमतिको पालना नगर्नु दु:खद् भएको बताए । पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले संघका पूर्वअध्यक्षहरुको साथ र समर्थन रहेको व्यक्ति नै संघको आधिकारिक अध्यक्ष हुने स्पष्ट पार्दै काफ्ले नै संघको आधिकारिक अध्यक्ष भएको बताए ।

अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै काफ्लेले नवौं राष्ट्रिय अधिवेशनको म्याण्डेट अनुसार आफ्नो कार्यकाल सुरु भएको बताइन् । काफ्लेले पूर्व सहमति बमोजिम नै संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष र केन्द्रीय प्रतिनिधिको विशेष उपस्थितिमा औपचारिक रुपमा आफूले अध्यक्षको जिम्मेवारी ग्रहण गरेको बताइन् । अधिवेशनबाट निर्वाचित बहुमत सदस्य आफ्नो पक्षमा रहेको स्पष्ट पार्दै काफ्लेले आफू नेतृत्वको समिति नै वैधानिक र आधिकारिक भएको दाबीसमेत गरिन् । 

सो अवसरमा संस्थापक अध्यक्ष, केन्द्रीय प्रतिनिधि, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष र पूर्वआईसीसी सदस्यले काफ्लेलाई सामूहिक रूपमा अध्यक्षको प्रमाणपत्र प्रदान गरेका थिए ।

संघका उपाध्यक्ष सुजन लामाको स्वागत तथा कार्यवाहक महासचिव दिपेश विष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पूर्वआईसीसी सदस्य नरेन्द्र हमाल, संघका निवर्तमान अध्यक्ष रविन अधिकारी, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलका अध्यक्ष इमानसिङ तामाङ, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढाप्रिथी, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल लगायतले बोल्दै संघको नवौं राष्ट्रिय अधिवेशनमा भएको सहमतिको पालना हुनुपर्नेमा जोड दिए ।

गत ३० जुलाई २०२३ मा सम्पन्न भएको संघको नवौं राष्ट्रिय अधिवेशनमा खड्का र काफ्ले एक–एक कार्यकाल अध्यक्ष बन्ने सहमति भएको थियो । जसमा खड्काको कार्यकाल २०२४ जुलाई सम्म रहने र त्यसपछि १ अगष्ट २०२४ देखि काफ्लेको कार्यकाल लागु हुने घोषणा गरिएको थियो । सोही सहमति अनुसार नै निर्वाचन समितिले खड्का र काफ्ले दुबै जनालाई अध्यक्ष पदमा निर्वाचित भएको प्रमाणपत्र समेत दिएको  थियो । तर सहमति भए अनुसार पद हस्तान्तरण भने हुन सकेको थिएन ।

ताजा खबर

सम्बन्धित खबर