चितवन : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा केही प्रहरीसहित प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ ।
प्रहरीले लामिछानेसँग बयान लिइरहेका बेला रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले भरतपुर अस्पताल रोडमा विरोध प्रदर्शन गरेका थिए ।
लामिछानेको समर्थनमा भएको प्रदर्शनमा सहभागीले 'रवि दाइलाई रिहा गर' लगायतका नारा लगाएका छन् ।