बारा : विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक बुधबार वरियारपुरस्थित गढीमाई मन्दीर पुगेका छन् । उनले सो क्रममा पूजा अर्चनाको साथै दर्शन समेत गरेका छन् ।
गृहमन्त्री लेखक बिहानै बाराको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुरमा रहेको शक्ति पिठको रुपमा स्थापित गढीमाई मन्दिर पुगेका थिए ।
गृहमन्त्री लेखकलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख एवं पञ्चवर्षीय मेला व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले स्वागत गरेका थिए ।
लाखौं श्रद्धालुभक्तजनहरुको भिडभाड भएको स्थानमा गृहमन्त्री उपस्थित भइ पुजा गर्नु र सुरक्षाको अवस्था बुझ्न आएकोमा मेला व्यवस्थापन समिति अध्यक्ष यादवसहित सम्पूर्ण समितिले गृहमन्त्रीप्रति कृत्तज्ञयता प्रकट गरेका थिए ।
मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए ।
गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाँकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँगको कुराकानीमा बताए ।
मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमि नहोस्, सुरक्षा निगरानी राख्न हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्न समेत सुरक्षा निकायलाई उनले निर्देशन दिए ।