२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम

Nada
२०८१ मंसिर २१ गते ११:४६
Shares
रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम

पाल्पा : यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् । 

ncell

रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कम भेटिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन सुझाव दिइएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा नगरका १० वटै वडाबाट नमूनाका रूपमा माटो परीक्षण भएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कम पाइएको छ ।

परीक्षणका लागि ल्याइएको ८२ स्थानका माटोका नमूनामध्ये शिविरमा ४० वटाको नमूना परीक्षण गरिएकामा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रविन बुढाले बताए । 

शिविरमार्फत आफ्नै गाउँठाउँमा माटो परीक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा किसान दिलबहादुर थापा बताउछन् । उनले बेलाबेलामा आयोजना हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताए ।

खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउछन् ।

“रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परीक्षण गर्न चासो कम देखाउने गरेका छन्, नगरपालिका कार्यालयले पूर्वसूचना जारी गरे पनि परीक्षणका लागि ल्याउने कम छन्, नियमित रूपमा खेतीयोग्य जमिनको माटो परीक्षण गराउने बानी किसानमा अझै बसेको छैन”, उनले भने । 

यसअघि नमूना सङ्कलन गरेर पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । जिल्लास्थित हाल कृषि ज्ञान केन्द्रमा माटो परीक्षण व्यवस्था भएको छ ।केन्द्रले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर बेलाबेलामा शिविरमार्फत माटो परीक्षण गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर