रुकुम पश्चिम : आन्तरिक राजश्व कार्यालय दाङको टोली अनुगमनका लागि रुकुम पश्चिम आइपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केही व्यापारीहरुले पसल बन्द गरेका छन् ।
बिहीबार मुसिकोट नगरपालिका-४ का सोलाबाङका केही व्यापारीहरुलाई जरिवाना र केही व्यापारीको कागजात नियन्त्रणमा लिएको टोली शुक्रबार आठबिसकोट पुगेको छ । कर कार्यालयको टोली आएपछि आज बिहानैबाट आठबिसकोट-९ को राडी बजारमा रहेका अधिकांश पसल बन्द भएको स्थानीयहरुले बताएका छन् । कर कार्यालयको टोली पुगेको खबरपछि प्राय: व्यापारीहरुले पसल बन्द गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले बताए ।
उनका अनुसार कारबाही तथा जरिवानामा परिने डरले कर कार्यालयको टोली आएको बेला केही व्यापारीहरुको भागाभाग हुने गरेको छ । अध्यक्ष खड्काले रितपूर्वक कारोबार नगरेका केही व्यवसायीहरुले डर मानेर व्यवसाय बन्द गर्नुभन्दा आवश्यक परामर्श लिने, कागजात राख्नेलगायतका प्रक्रिया सिक्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्दले करको टोली आएको खबरपछि व्यापारीहरुमा हाउगुजी हुने गरेकाले पसल बन्द गरेको बताए । सचेतना तथा नियमति अनुगमनमा आएको करको टोलीसँग व्यवसायीहरु डराउनु नपर्ने उनको भनाइ छ ।
कर कार्यालयको टोलीसँगको सल्लाहबमोजि आजै करसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको चन्दले बताए । बिहीबार मापदण्ड पूरा नगरेका केही व्यवसायीहरुलाई जरिवाना र कागजात जफत गरेको हल्ला सुनेपछि केही व्यापारीहरु डराएर पसल बन्द गरेको उनले जानकारी दिए ।
आन्तरिक राजश्व कार्यालय दाङका प्रमुख श्रीधर टण्डनले चार जना कर अधिकृतसहितको टोली रुकुम गएको बताए । उनले करसम्बन्धी सचेतना, अनुगमन तथा नियमनको क्रममा टोली फिल्डमा गएको जानकारी दिए ।
व्यापारीहरुले डराएर पसल बन्द गर्नुभन्दा पनि आवश्यक परामर्श लिने मौकाका रुपमा लिनुपर्ने उनको भनाइ छ । फिल्डबाट टोली फर्किएर प्रतिवेदन पेश गरेपछि मात्र कारबाही तथा जरिवानाको विवरण उपलब्ध गराउने उनले बताए ।