काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।
प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।
रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लीला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।
सहकारी सम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।