२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरिने

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते ०८:०५
‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरिने

काठमाडौं : वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा औंठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै गत १५ असोजदेखि उक्त प्रणाली लागू गर्ने बताएको थियोे । तर, नमुना परीक्षण गरिएको दिन नै प्रणालीले काम नगरेपछि दसैंपछि अर्थात् २९ असोजदेखि प्रणाली अनिवार्य रूपमा प्रयोगमा ल्याउने भन्दै सोहीअनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरूलाई आग्रह गरेकोे थियो ।

प्रणालीमा समस्या उत्पन्न भएपछि विभागले समय सार्दै आगामी ३ पुसदेखि उक्त प्रणाली लागू गर्ने बताएको छ ।  विभागले हाल बायोमेट्रिक फिंगर प्रिन्ट प्रणालीमा हुने अभिमुखीकरण हाजिरीलाई मान्यता दिएर श्रम स्वीकृति जारी गरिरहेको छ ।

विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर समस्याको समाधान गरिएको बताएका छन् ।

विभागले उक्त प्रणाली लागू गर्ने विषयमा समन्वय गर्न अभिमुखीकरण व्यवसायीलाई आग्रह गरेको छ ।

हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले व्यवसायीले झण्डै १३ करोड खर्च गरेर अन्य पूर्वाधारसहित सिस्टम जडान गरिसकेको बताएको छ । बिहीबारसम्म करिब सय संस्थाले प्रविधि जडान गरिसकेका बताएका छन् । 

वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य उपस्थित भई आवश्यक सूचना र पर्याप्त जानकारी प्रदान गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत २९ साउनमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ को दोस्रो संशोधन, २०८० लाई मन्त्रीस्तरीय निर्णय गरी आइरिस र देशगत समूहमा प्रशिक्षण गराउने विषय कार्यान्वयन गर्न विभागलाई आदेश गरेको हो ।

लामो समयदेखि लागू गर्ने भनिएको प्रणाली सर्वोच्च अदालतसमेत पुगेको थियो । अदालतले दिएको स्टे अर्डरअनुसार मन्त्रालयले नयाँ प्रणाली लागू गर्न लागेको हो । अदालतको आदेशअनुसार संशोधित कार्यविधिमा उल्लेख गरिएको परीक्षा प्रणालीबाहेक अन्य सबै व्यवस्था तत्कालै लागू गर्ने मन्त्रालयको तयारी देखिएको छ ।

कामदारलाई कुनै आर्थिक भार नपार्नेगरी विभाग र वैदेशिक रोजगार बोर्डले सिकाइ मूल्यांकन प्रणाली पनि लागू गराउने बताएका छन् । त्यसका लागि बोर्डले ३ दिने तालिम पाठ्यक्रम निर्माण गर्ने तयारीमा रहेकोे जनाएको छ ।

के हो आइरिस रिकोग्नेसन प्रणाली ?

वैदेशिक रोजगार विभागले रेटिना फेस रिडरका लागि आइरिस मेसिन कोरियन कम्पनीको सिमाटेक प्रयोग गरेको छ ।

सुरुआतमा विभिन्न विवाद भएपछि विभागले विभिन्न विशेषज्ञ टिम राखेर फरकफरक कम्पनीको मेसिन टेस्ट गरेको तर अरू मेसिन प्रयोग गर्दा बीचबीचमा समस्या आएकाले कोरियन कम्पनी छान्नुपरेको बताएको छ ।

राष्ट्रिय परिचयपत्र र वैदेशिक रोजगार विभागले उक्त कोरियन कम्पनीको आइरिस मेसिन प्रयोग गर्दै आएका छन् । विगत ८ वर्षदेखि उक्त मेसिनमा कुनै समस्या नआएको देखिएपछि उक्त कम्पनीको सफ्टवेयर मेसिन प्रयोग गरेकोे विभागको भनाइ छ ।  हाल प्रयोगमा रहेकोे  फेमिस सफ्टवेयरले सपोर्ट गर्ने अर्को मेसिन भए राख्न सक्ने बाटो खुला रहेकोे विभागको भनाइ  छ । 

विभागले विगतमा श्रम डेस्क, ९ वटा श्रम कार्यालय र फेमिसमा सोही सफ्टवेयर राखेको बताएको छ । वैदेशिक रोजगार विभागले बायोमेट्रिक फिंगर प्रिन्ट प्रणालीमा हुने अभिमुखीकरण हाजिरीलाई आधार मानेर श्रम स्वीकृति दिने गरेकोे छ । तर, कतिपयले अभिमुखीकरण तालिम कक्षमा उपस्थित नभएको समेत विवरण विभाग पठाएर श्रम स्वीकृति लिएपछि त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कार्यविधि नै संशोधन गगेर नयाँ प्रणाली ल्याएको हो । विभागले गत वर्ष २८ मंसिर पूर्वाधार थपेको सूचना जारी गरेपछि केही व्यवसायी आर्थिक मारमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । 

सर्वोच्च अदालतले तत्कालीन मन्त्री डी. पी. अर्यालले खारेज गरेको संशोधन कार्यविधि तत्कालका लागि यथावत् कायम राख्न आदेश दिएपछि मन्त्रालयले गत २९ साउनमा रेटिना फेस रिडर र मेसिनको प्रयोग गर्ने निर्णय गरेको थियोे । 

ADVenergy

सम्बन्धित खबर

Advertise