२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

श्रम स्वीकृति पाए पनि पाएनन् उड्न

shivam cement
२०८२ भदौ २८ गते ०६:२०
श्रम स्वीकृति पाए पनि पाएनन् उड्न

काठमाडौं : वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेपनि टिकट अभाव हुँदा कामदारहरू श्रम गन्तव्यमा उड्न पाएका छैनन् । जेनजी प्रदर्शनका क्रममा भएको आगलागीबाट विभागमा आंशिक क्षति भए पनि विभागका कर्मचारीले घरबाटै श्रम स्वीकृति प्रदान गरेका छन् ।

श्रम स्वीकृति पाएपनि टिकट नपाएका कारण कामदार उड्न समस्या देखिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले बताए । राजधानीमा सेनाले लगाएको निषेधाज्ञा र कफ्र्यूका कारण ट्राभल्स एजेन्सीका कार्यालय खुल्न सकेका छैनन् । एकाध रूपमा खुलेका ट्राभल्स एजेन्सीहरूमा पनि कर्मचारी आवागमनको समस्या रहेको छ ।

उता आन्दोलनकारीको निशानामा परेको वैदेशिक रोजगार विभागमा क्षतिको विवरण संकलन हुन सकिरहेको छैन । विभागका तीन वटा ब्लकमध्ये श्रम स्वीकृति प्रदान गर्ने माथिल्लो ब्लक  सुरक्षित रहेको भएपनि संस्था, राहत, उद्धार र महानिर्देशकको कार्यालय रहेको ठाउँ आगालागीबाट पूर्णरूपमा ध्वस्त भएको छ ।

महानिर्देशक कमलप्रसाद भट्टराईले क्षति पुगेको कार्यालय सफाइ गरेर आइतबारदेखि कर्मचारी उपस्थित भई काम गर्ने आंकलन गरिएको बताएका छन् । आन्दोलनकारीले विभागको भवन जलाउँदा अधिकांश म्यानपावर कम्पनीका फाइल जलेका छन् । त्यसले विभागलाई पूर्णरूपमा अनलाइनमा आधारित हुनुपर्ने बाध्यतामा पुर्‍याएको छ । 

विभागको सर्भर सुरक्षित रहेकाले श्रम स्वीकृतिको काममा भने समस्या नरहेको बताइएको छ । विभागमा आगजनी भएपछि व्यवसायीहरूमा पनि सुरक्षा चिन्ता बढेको छ । सुरक्षाको अवस्था कमजोर रहेको भन्दै एक व्यवसायीले कफ्र्यू हटेपनि कार्यालय सञ्चालनमा व्यवसायी सचेत र सतर्क अवस्थामा बस्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise