काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामका लागि कुवेत लैजान अजरबैजानको श्रम स्वीकृति लिएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।
गिरोहले श्रम कार्यालय बुटवल सुर्खेतबाट श्रम स्वीकृति निकाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने गरेको सार्वजनिक भएपछि श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा विभागका निर्देशक गिरिराज ज्ञवाली र मन्त्रालयका उपसचिव शारदा भण्डारी रहेका छन् । १५ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गराएको छ ।
तस्करहरूले अजरबैजानको श्रम स्वीकृतिका लागि नक्कली कागजात तयार गरी अजरबैजानको भिसामा रोजगारदाताको नक्कली इमेल पठाएर, नक्कली स्वघोषणा फाराम पनि भरेर सेटिङमा पठाएको पाइएपछि छानबिन सुरुवात गरिएको बताइएको छ । तस्करहरूले एक जना नेपाली महिलालाई घरेलु कामका लागि पठाएबापत कुवेती रोजगारदाताबाट ३ लाख ५० हजारसम्म लिने गरेका छन् ।
संसद्मा भिजिट भिसा प्रकरण चर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै खाडी मुलुक जान समस्या भएपछि तस्कर गिरोहले अजरबैजानको भिसामा कुवेत पठाउने गरेको खुलासा भएको हो । हालसम्म कति नेपाली अजरबैजानको भिसामा कुवेत गए भन्ने एकिन नभएपछि प्रतिदिन करिब एक दर्जन उडेको हुन सक्ने आंकलन गरिएको छ ।