२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

मलेसियामा फेरि देखियो नेपाली सुरक्षागार्डको बहादुरीको सान

shivam cement
तिलोचन गौतम
२०८२ भदौ २२ गते ०६:१५
मलेसियामा फेरि देखियो नेपाली सुरक्षागार्डको बहादुरीको सान

क्वालालम्पुर, मलेसिया : मलेसियामा नेपाली सुरक्षागार्डले पुनः एक पटक आफ्नो साहस र बहादुरीको परिचय चम्किलो बनाएका छन् । मलेसियाको जोहरबारुस्थित एटी गाड्र्स सर्भिस एसडिएन बिएचडी कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले चोरीमा संलग्न स्थानीय स्तरमा खतरनाक मानिएको चोरलाई नियन्त्रणमा लिएर मलेसिया प्रहरीलाई बुझाएपछि नेपाली सुरक्षागार्डको बहादुरीको प्रशंसा भएको हो ।

लामो समयदेखि स्थानीय बासिन्दालाई आतंकित पार्दै आएको उक्त चोरलाई पक्राउ गर्न मलेसियन प्रहरीले सामूहिक पक्राउ अभियान सञ्चालन गरेको भएपनि सफल भएको थिएन । तर नेपाली सुरक्षागार्ड उक्त खतरनाक चोरलाई समात्न सफल भए । उक्त घटनाले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डहरूको बहादुरिता र निडरताको स्थानीय प्रहरीबाट सम्मान भएको छ ।

साहसिक कार्यप्रति कृतज्ञता व्यक्त गर्दै जोहरबारु प्रहरी प्रशासनले ती नेपाली सुरक्षाकर्मीहरूलाई प्रशंसा पत्र प्रदान गरेको छ । स्थानीय प्रहरी अधिकारीहरूले नेपाली सुरक्षागार्डहरूले देखाएको बहादुरी र जिम्मेवारी प्रशंसनीय रहेको र त्यसबाट स्थानीय समुदायले सुरक्षित महसुस गरेको बताएका छन् । नेपाली सुरक्षागार्डहरूले मलेसिया प्रहरीले भन्दा अगाडि चोरलाई नियन्त्रणमा लिएपछि स्थानीय मलेसियन समुदायले पनि नेपाली सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गरेका छन् ।

मलेसिया सरकारले सुरक्षागार्ड नेपालबाट मात्रै लैजान पाउने निर्णय गरेको छ । छिटफुट घटनाबाहेक मलेसियामा नेपाली सुरक्षागार्ड रोजगारदाताको विश्वास जित्न सफल देखिएका छन् । करिब एक वर्षअघि मलेसियाको दामानसारामा अवस्थित एक सपिङ मलमा कार्यरत नेपाली सुरक्षागार्ड दावा शेर्पाले कसैले भुलबस छोडेको ५ लाख मलेसियन रिंगेट करिब डेढ करोड नेपाली रुपैयाँ भएको झोला इमानदारीसाथ प्रहरी कार्यालयमा बुझाएका थिए ।

त्यतिबेला उनको इमानदारिताको उच्च कदर गर्दै रोजगारदाता कम्पनीले प्रशंसापत्र, उपहार र पुरस्कारसहित उनलाई सम्मान गरेको थियो । शेर्पाले देखाएको इमानदारिता मलेसियामा लामो समय चर्चामा रहेकोे थियो । सेक्युरिटी कम्पनीहरूले नेपालबाट जाने गार्डहरूलाई तालिम दिँदा शेर्पाको तस्बिर नै देखाएर उनको जस्तै इमानदारिताको अपेक्षा गरिएको बताउने गरेको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise